सुशीलाका नाममा हस्ताक्षर नगरेको ओलीको स्पष्टिकरण
'असहज परिस्थितिमा संविधानभित्रैबाट निकास निकाल्नुपर्छ भनेर राष्ट्रपतिलाई आग्रहमात्र गरेको थिएँ । पत्रमा कसैको नाम लेखिएको थिएन । उनीहरुले आफ्नै हिसाबले सुशीलालाई प्रधानमन्त्री बनाएका हुन्', आफ्नै सहमति र सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको भन्नेबारे प्रश्न उठेपछि सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको यस्तो जवाफ आयो ।
जेन-जी विध्वसंपछि पद त्यागेर बालुवाटारबाटै सैनिक हेलिकोप्टरमा भागेका उनले यो परिस्थिति आउनुको कारण र भित्रि चलखेलबारे बैठकमा लामो ब्रिफिङ गरेका थिए । त्यसक्रममा कार्कीलाई असंवैधानिक ढंगले प्रधानमन्त्री नियुक्त गरिएको तर्क गर्दै उनको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन आन्दोलनको बलमा पुनर्स्थापित गर्नुपर्नेमा जोडमात्र दिएनन्, प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकामाथि घुमाउरो प्रश्नसमेत उठाए ।
'राष्ट्रपति र सेनापति आउँदा मैले संसद विघटन गर्न हुँदैन संवैधानिक बाटोबाटै निकाश खोज्नुपर्छ भनेको थिएँ, पछि संसद विघटन गर्न लागेको भन्ने थाहा पाएपछि फोन गरेँ तर उठाएनन्', ओलीको भनाइ उदृत गर्दै बैठक स्रोतले भन्यो, 'मैले कसैलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको पनि हैन, संसद विघटनप्रति पनि सहमत थिइन्, छैन ।'
बैठकमा ओलीले बालुवाटारबाट आफूलाई सेनाको हेलिकोप्टरमा राखेर मकवानपुरको सुपारीटार ब्यारेकमा पुर्याइएको र नयाँ प्रधानमन्त्रीका लागि सिफारिस लिन राष्ट्रपति पौडेल र सेनापति सिग्देल त्यहिँ आएको खुलासा पनि गरे । प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन राष्ट्रपति र सेनापति हेलिकोप्टरमा आफू भएकै ठाउँमा आएको र तीनजनाबीच लामो छलफलपछि प्रतिनिधिसभा विघटन नगर्ने शर्तमा पत्र लेखेर दिएको उनको भनाइ थियो ।
सैनिक ब्यारेकबाट फर्किएपछि ओली महेश बस्नेतले व्यवस्थापन गरेको भक्तपुरको गुण्डुस्थित एमाले नेताको घरमा बस्दै आएका छन् । सुरक्षाका कारण अहिलेसम्म बाहिर निस्कन नसकेका उनले आफ्ना अति विश्वासपात्रलाई बाहेक सेनाले कुन ब्यारेकमा राखेको थियो भन्ने संकेतसम्म दिएका थिएनन् । लामो समय यो कुरा गोप्य राख्दै आएका उनले सचिवालय बैठकमा कुरा फुत्काएको स्रोत बताउँछ ।
देउवाको प्रसंसा, प्रचण्डको निन्दा
अप्ठेरोमा परेपछि देशी-विदेशी षड्यन्त्रको अमूर्त शब्दजाल ओछ्याएर आफ्नो पक्षमा निर्णय गराउन खप्पिस ओलीले यसपटक पनि पद छोड्न बढेको दबाब पन्छाएउन त्यस्तै रणनीति अपनाएका छन् । बहुमत सचिवालय सदस्य विपक्षमा हुँदाहुँदै आफू अनुकूल निर्णय गराउन सफल भएका उनले आन्तरिक तथा बाह्य शक्ति केन्द्रहरूले आफूलाई षड्यन्त्रपूर्वक हटाएको दाबी गरेका थिए ।
सचिवालयका अधिकांश नेताले पछिल्लो परिस्थितिको नैतिक जिम्मेवारी लिँदै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले लिखित रूपमै र बाँकी १५ मा चार जनाबाहेक सबै नेतृत्व पुनर्गठनको पक्षमा उभिएका थिए । तर, कुनै हालतमा पद नछोड्ने अडान लिएका ओलीको सचिव योगेश भट्टराईसँग त चर्काचर्की नै पर्यो ।
जेन-जी आन्दोलनपछि परिस्थिति जटिल बनेको भन्दै योगेशले ठाउँ खाली गर्न सुझाव दिँदा 'किन बाहिर बोल्दै हिँडेको ? भनियो । जवाफमा उनले 'देश नै यस्तो हालतमा पुगेको छ, सभ्य भाषामा पार्टी पुनर्गठन गर्नुपर्छ भन्दा केको बाहिर न भित्र ?' भन्दै प्रतिवाद गरेका थिए ।
त्यसपछि आफ्नो बचाऊ गर्दै ओलीले देशी-विदेशी प्रतिक्रियावादीको प्रसंग निकालेको बैठक स्रोतले बतायो । सत्ता साझेदार दलभित्रैबाटसमेत आफूलाई अप्ठेरोमा पारिएको गुनासो गरेका उनले निवासमै कुटिएका कांग्रेस सभापति शेरबहादुर देउवाको भने प्रशंसा गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डमाथि आफू प्रधानमन्त्री हुन जेन-जीलाई उकासेको आरोप लगाइयो ।
'कांग्रेसमा पनि शेरबहादुर देउवाबाहेक अरुले सहयोग गरेनन् । सबैले किचलो मात्र गरे । शेरबहादुर देउवा चैं इमान्दार रहेछन्', उनको भनाइ स्रोतले सुनायो, 'प्रचण्डको विश्वास छैन, २४ गते प्रधानमन्त्री हुन कस्सिएका थिए । जब आफ्नै घरमा तोडफोड भयो त्यसपछि बल्ल झस्किएका हुन् ।'
भदौ २३ गते १९ जनाको ज्यान गएपछि पार्टी कार्यक्रमका लागि गोरखा पुगेका प्रचण्ड राती नै काठमाडौँ फर्किएर भोलिपल्ट विहान सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए । यसलाई प्रतिक्रियावादी षड्यन्त्रको संज्ञा दिएका ओलीले भने, 'प्रधानमन्त्री हुन भनेर सिंहदरबारमा बैठक गरिरहेका थिए । आफैँ भागेर आर्मीको ब्यारेकमा जानुपर्यो । तिनी अवसरवादी हुन्, जे पनि गर्छन् ।'
त्यसो त, एमालेका एकथरी नेताले प्रतिनिधिसभा विघटन गराउन प्रचण्डले नै भूमिका खेलेको दाबीसमेत गरेका छन् । गोप्य सूचनाको हवाला दिँदै एक नेताले भने, 'सुशीला कार्कीले संसद विघटनको शर्त छोडिसकेकी थिइन् । तर, संसद रहिरह्यो भने एक महिनाभित्र विश्वासको मत लिनुपर्छ, तपाईंलाई कांग्रेस-एमालेले विश्वासको मत दिन्छन् त ? भनेर प्रचण्डले भड्काउने काम गरे ।'
ती नेताको दाबी अनुसार 'बाह्य शक्ति' ले बालेन साह, रवि लामिछाने, प्रचण्ड, विप्लव, सुशीला कार्की, सन्दुक रोइत र कल्याण श्रेष्ठलाई क्रमश: प्रधानमन्त्रीको सम्भावित सूचीभित्र राखेको थियो । सेनापतिले दुर्गा प्रसाई र रवि लामिछाने पनि जबर्जस्ती आन्दोलनको स्टेक होल्डर बनाउन खोज्दा जेन-जीले अस्विकार गरेको र गैरराजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्त राखेपछि मात्रै पाँचौँ नम्बरकी सुशीलालाई अघि सारिएको हो ।
टोल-टोलमा सुरक्षा दस्ता तयार पार्ने
झन्डै एक महिनादेखि गुण्डुमा सीमित रहेका ओलीले आत्मरक्षाका लागि टोल-टोलमा सुरक्षा दस्ता बनाउने प्रस्ताव गरेका छन् । एकताका वाईसिएलको जगजगी रहेका बेला महेश बस्नेतको अगुवाइमा देशभर 'प्रतिकार समिति' बनाएजस्तै पार्टीले सुरक्षा दस्ता बनाउपर्ने प्रस्ताव बैठकमा आएको एक नेताले बताए ।
'आफूमाथि कारवाही नहोस् भनेर देशलाई भिडन्तमा लाँदै छन्', ति नेता भन्छन्, 'पद छोड्ने बितिक्कै कमजोर बनाएर न्याक्छन्, महरालाई जस्तो निरिह बनाउँछन् भनेर होला एकदम डराएका छन् ।'
२३ गतेको प्रदर्शनमा १९ जना स्कुले विद्यार्थी मारिएका थिए । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा प्रहरीले गोली चलाएको भन्दै उनीहरुलाई कारवाही हुनुपर्ने आवाज उठिरहेको छ । ओलीलाई मानवताविरोधी अपराधको कसूरमा तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित सुधन गुरुङहरूले प्रहरीमा दिएको जाहेरी कुनैपनि बेला दर्ता हुने सम्भावना छ ।
सरकारले समात्ने तयारी गरे पनि एउटा दलको प्रमुखलाई पक्राउ गर्दा परिस्थिति थप जटिल हुनसक्ने भन्दै प्रहरीले जाहेरी लिन आनाकानी गरेका कारण आफू जोगिएको ओलीलाई थाहा छ । त्यहि भएर आफ्नो शक्ति देखाउन सुरक्षा दस्ता बनाउने प्रस्ताव ल्याएको बुझिन्छ । तर, यसले मुलुकलाई अर्को मुठभेटतर्फ लैजानसक्ने चिन्ता एमाले नेताले गरेका छन् ।
टिप्पणीहरू