महिला स्वास्थ्यमा उल्लेखनीय प्रगति, मातृ तथा शिशु स्वास्थ्य सूचकांकमा चीन उत्कृष्ट

चीनले महिला स्वास्थ्यमा उल्लेखनीय प्रगति गरेको छ। चीनको मातृ तथा शिशु स्वास्थ्य सूचकांकहरू हाल विश्वका उच्च–मध्यम आय भएका मुलुकहरूमध्ये अग्रस्थानमा पुगेको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनले संयुक्त राष्ट्रसंघको २०३० को दिगो विकास एजेन्डाका सम्बन्धित लक्ष्यहरू निर्धारित समयभन्दा अघि नै पूरा गरिसकेको छ ।

चीनमा मातृ तथा शिशु स्वास्थ्य सेवा सञ्जाललाई अहिले राष्ट्रिय स्वास्थ्य प्रणालीसँग पूर्ण रूपमा एकीकृत गरिएको छ। यो सञ्जालले एक अर्ब ४० करोडभन्दा बढी जनसंख्यालाई सेवा पुर्याएको छ । जसको आधार विशेष मातृ तथा शिशु स्वास्थ्य संस्थाहरू हुन् । तिनीहरूलाई स्थानीय स्वास्थ्य केन्द्र, ठूला अस्पताल र अनुसन्धान संस्थानहरूले सहयोग पुर्याएका छन् ।

हाल चीनमा तीन हजार ८१ मातृ तथा शिशु स्वास्थ्य संस्था सञ्चालनमा छन् । तीनमा छ लाख ४५ हजारभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । दुई लाख ९८ हजार शैय्या उपलब्ध छन्। यो मातृ तथा शिशु स्वास्थ्य सेवाको समान पहुँच र गुणस्तरमा भएको महत्वपूर्ण सुधारको संकेत हो ।

उक्त प्रतिवेदन हिजोदेखि बेइजिङमा भइरहेको ‘महिला ग्लोबल लिडर्स मिटिङ’ को सन्दर्भमा सार्वजनिक गरिएको छ । सम्मेलनमा विभिन्न मुलुकका राष्ट्रप्रमुख, संसदका शीर्ष नेताहरू र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरू सहभागी छन्।

सन् १९९५ मा बेइजिङमा आयोजित चौथो ‘विश्व महिला सम्मेलन’ को ऐतिहासिक भावना र उद्देश्य प्राप्तीको लक्ष्यलाई निरन्तरता दिइरहेको बताइएको छ।

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू