खिचडी पकाइयो, राहत शून्य

खिचडी पकाइयो, राहत शून्य

असोज १८ गतेको अविरल वर्षाले इलामलाई लामो समयसम्म नबिर्सिने घाउ लगाएको छ । बाढी र पहिरोमा ४० जनाको ज्यान गएको छ भने २६ भन्दाबढी घाइते भए । तीन सय घरपरिवार घरबारविहीन बनेका छन् भने करिब एक हजार परिवार विस्थापित भएको अवस्था छ ।

तर, ११ दिन बित्दासमेत इलाम अझै सडक सञ्जालसँग जोडिन सकेको छैन। मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध छ र वैकल्पिक मार्ग खोल्ने कार्यमा समेत सरकारी निकायको ढिलासुस्ती देखिएको छ।

राजदुवालीमा सबै शक्ति

सडक डिभिजन कार्यालयले नौ दिनसम्म सारा शक्ति राजदुवाली राजमार्गमा मात्रै केन्द्रित गरेको छ । अन्य वैकल्पिक मार्ग खोल्ने प्रयास नगर्दा अहिले इलाम यातायात सञ्जालबाट विच्छेद भएको छ ।

दशैंमा घर फर्किएका इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले ठूलो सास्ती खेपेका छन् । बिरामीहरूलाई अस्पताल पुर्याउन गाह्रो, पेट्रोलियम पदार्थ र ग्यासक आपूर्ति अवरुद्ध भएको छ ।

स्थानीयहरू भन्छन्, ‘राजदुवाली खण्ड त बीरबलको खिचडी भयो। काम त देखिन्छ, तर परिणाम छैन।’

संकटग्रस्त क्षेत्र घोषणा, राहत होइन औपचारिकता

सरकारले असोज २३ गते इलामलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर त्यसपछि स्रोत, साधन र समन्वय अभावका कारण पुनस्थापना र पुनर्निर्माणमा खासै गति देखिँदैन ।

मेची राजमार्ग जस्तो तीन जिल्लाको ‘लाइफलाइन सडक’ अझै अवरुद्ध छ। जोगमाई खोलामा वैकल्पिक डाइभर्सन बनाउन सुरु गरिएको छ तर ह्युमपाइप अभावका कारण दुई दिनसम्म निर्माण थालिएको छैन ।

स्थानीयहरूका अनुसार, ‘काम भइरहेको देखिए पनि त्यो संकटको समयको जस्तो तदारुकता होइन, सामान्य शैलीको काम मात्रै हो।’

मन्त्री आए, सडक हेरेर फर्किए

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आठौं दिनमा इलाम पुगेर क्षतिग्रस्त इलाकाको अवलोकन गरे। दैनिक चार घण्टा सडक सञ्चालन गर्न निर्देशन दिएर उनी फर्किए, तर सडकको दुरावस्था उस्तै छ ।

स्थानीयहरूको गुनासो छ, ‘मन्त्रीले विस्थापित परिवारलाई भेटे तर मृतकका आफन्तसँग भेटेनन्। इलाम नगरपालिका–६ मा एकै परिवारका पाँचजनाको मृत्यु भएको थियो, तर मन्त्रीले समय अभाव न्दै भेट नगरेका हुन्।

अव्यवस्था र उदासिनता

इलामका वासिन्दाले अब प्रश्न उठाउन थालेका छन्, ‘सरकारले संकट घोषणा त गर्यो, तर व्यवहारमा संकट व्यवस्थापन हो कि खिचडी पकाउने नाटक?’ स्थानीयहरूको भनाइमा, सहकार्य, साधन र निर्णय क्षमताको अभावले इलाम अहिले पनि एक्लै आफ्नो घाउ सुमसुमाएर बस्न बाध्य छ ।
 

टिप्पणीहरू