२ करोड ओसारेको हल्ला चलाइएपछि पुलिसविरुद्ध पुलिसमा उजुरी
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले उजुरी दर्ता गराएको हो ।
रोल्पा घर भएका एआइजी सुवेदीले केही दिनअघि एक अन्तर्वार्तामा माओवादी संयोजक प्रचण्डले जेनजी प्रदर्शनको क्रममा घर जल्नुभन्दा दुई दिनअघि नै ‘दुई करोड दुई ट्रक पैसा निकालेको’ आरोप लगाएका थिए । यद्यपि, उनले दुई करोड भनेका हुन् कि दुई ट्रक भनेका हुन् भन्ने स्पष्ट नहुँदा उक्त आरोपमा त्यति दम नदेखिएको माओवादी नेताहरुको भनाई छ ।
हिजो एआइजी सुवेदीलाई प्रमाण पेश गर्न चुनौती दिएको प्रचण्ड सचिवालयले भोटाहिटी पुगेर उजुरी दिएकाे हो । माओवादी नेता राजन दाहालका अनुसार ब्युरोले उजुरी दर्ता समेत गरिसकेको छ । उजुरीमा डिजिटल माध्यममार्फत गरिएका गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे सुवेदीमा आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
टिप्पणीहरू