अख्तियारमा आफ्ना मान्छे नियुक्तिको तानाबाना

अख्तियारमा आफ्ना मान्छे नियुक्तिको तानाबाना

१२ वटा जेन–जी समूह मिलेर बनेको ‘जेन जी मुभमेन्ट अलायन्स’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई पद छाड्न दबाब दिएको छ । अलायन्सले आज इमेलमार्फत् पत्र पठाउँदै तत्काल राजीनामा दिन लिखित आग्रह गरेको छ । 

अख्तियारको गरिमा र विश्वास कायम राख्न राईको राजीनामा अनिवार्य रहेको पत्रमा उल्लेख छ । जेन जीको माग पूरा गर्न अख्तियारमा निष्पक्ष, सक्षम र स्वतन्त्र पदाधिकारी नियुक्त गर्न आवश्यक बताउँदै भनिएको छ, ‘तपाईंलगायत अरु सम्पूर्ण आयुक्तको नियुक्ति संसदीय सुनुवाईबिना नै पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेशमार्फत् निरकुंश ढंगले भएको छ, यसले तपाईको निष्पक्षतामा ठूलो प्रश्न उठाउँछ ।’ 

अख्तियार प्रमुख राईका कामकारवाही राजनीतिक रुपमा पक्षपातपूर्ण रहेको दाबी गर्दै पत्रमा थप लेखिएको छ, ‘तपाईं आफैंको नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरुमा पनि मुछिएको छ, ...तपाईंको नेतृत्वमा कार्यहरु निष्पक्ष रुपले होला भन्नेमा कुनै विश्वसनीय आधार छैन ।’

आज डिजिटल रुपमा पठाइएको पत्र भोलि कार्यालयमै पुगेर बुझाउने जेन जीहरूको तयारी छ । अलायन्सका एक अगुवाका अनुसार भोलि बिहान ११ बजे एउटा समूह पत्र लिएर टंगालस्थित अख्तियारको कार्यालय जानेछ । ‘आज दिउँसो इमेल गरेका छौँ, भोलि टंगाल पुगेर पेपरमै बुझाउँदैछौँ’, ती अगुवाले जनआस्थासँग भनिन् । 

भ्रष्टाचार नियन्त्रणको लागि सबैभन्दा पहिले अख्तियारको नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष सुनाउँदै उनले थपिन्, ‘भ्रष्टाचारको छानबिन गर्नुपर्ने निकायको नेतृत्व नै भ्रष्टाचारको आरोपी भएपछि अख्तियारको काम निष्पक्ष हुन्छ भनेर कसरी विश्वास गर्ने ? कम्तिमा उहाँ (राईं)ले राजीनामा दिनुभयो भने त्यस्तै तरिकाबाट नियुक्त भएका अन्य पदाधिकारीहरुलाई पनि रानीनामा दिन नैतिक बाध्य पार्ने हाम्रो प्रयास हो ।’

राईले राजीनामा दिन अटेरी गरेमा अख्तियार घेराउ गर्ने पनि चेतावनी अलायन्सले दिएको छ । ‘घेराउको रुपरेखा तयार त भइसकेको छैन, तर उहाँले राजीनामा दिनुभएन भने हामी चुप बस्दैनौँ’, अगुवाले सुनाइन् । 

अलायन्समा हालसम्म ३९ जिल्लाका जेनजी समूहहरु जोडिएको बताइएको छ ।

टिप्पणीहरू