चार दिनमा फिल्मको आम्दानी १५ करोड ५० लाख डलर
चीनमा पछिल्लो चार दिनमा फिल्म प्रदर्शनबाट १५ करोड ५० लाख अमेरिकी डलर आम्दानी भएको छ । शनिबार साँझसम्म बक्स अफिस आम्दानी करिब १५ करोड ५० लाख अमेरिकी डलर पुगेको अनलाइन प्लेटफर्मले जनाएको छ ।
गत बुधबारदेखि चीनको राष्ट्रिय दिवसको उपलक्ष्यमा आठ दिने बिदा मनाइएको छ । विशेषगरी यो बिदाको समयलाई चीनमा परम्परागत रूपमा चलचित्र हेर्ने व्यस्त सिजन मानिन्छ । जसमा उपभोक्ताहरूको भीड मात्र होइन, हल व्यवसायीबीच पनि तीव्र प्रतिस्पर्धा हुने गर्छ ।
यस वर्षको राष्ट्रिय दिवस बक्स अफिसमा घरेलु युद्ध–महाकाव्य ‘द भोलन्टियर्सः पिस एट लास्ट’ अगाडि रहेको छ । निर्देशक चेन कैगेको ‘द भोलन्टियर्स’ त्रयीको अन्तिम भाग रहेको यस फिल्मले ‘कोरियाली युद्ध’ (१९५०–१९५३) का समयमा भएको युद्धभूमि र तनावपूर्ण कूटनीतिक वार्तालाई पुनःजीवित पारेको छ ।
दोस्रो स्थानमा घरेलु चलचित्र ‘इभिल अनबाउन्ड’ छ, जसले दोस्रो विश्वयुद्धका बेला जापानी सेनाको जीवाणु–युद्ध इकाई युनिट ७३१ ले चीनमा गरेका अत्याचारलाई देखाउँछ । यस फिल्मले निर्दोष कैदीहरूको पीडालाई चित्रण गरेको छ जसलाई हिउँजस्तो चिसो यातना, विषादी परीक्षण र जीवित मानिसमाथि शल्यक्रिया जस्ता अमानवीय दृश्य देखाइएको छ ।
तेस्रो स्थानमा भने ‘अ राइटर्स ओडिसी दोस्रो’ रहेको छ, जुन २०२१ मा रिलिज भएको फ्यान्टासी–एक्सन हिट चलचित्रको सिक्वेल हो । यसमा एक लेखकको वास्तविक जीवन र उनको सिर्जनात्मक आभासी दुनियाँमा एकसाथ देखा परेका संकटसँगको संघर्षलाई कथावस्तु बनाइएको छ ।
स्रोत : सिन्ह्वा ।
टिप्पणीहरू