चीनमा आज शहीद दिवस, भोलि राष्ट्रिय दिवस
स्राेत : सिसिटिभी प्लस ।
चीनमा आज शहीद दिवस मनाइएको छ । राष्ट्रपति सी चिनफिङलगायत चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का शीर्ष नेताहरूले आज बिहान बेइजिङको थिआनमन स्क्वायरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय वीरहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
राष्ट्रिय दिवसको अघिल्लो दिन मनाइने ‘शहीद दिवस’का अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति सीसँगै पार्टी नेताहरु ली जियाङ, चाओ लेची, वाङ हुङिङ, चाइ ची, डिङ स्युएक्सियाङ, ली सी र हान चेंग उपस्थित रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
बिहान ठीक १० बजे उपस्थित सबैले राष्ट्रिय गान गाएपछि शहीदहरूको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो। त्यसपछि जनताको मुक्ति र जनवादी गणतन्त्र चीनको विकासका लागि प्राण आहुति दिएका वीरहरूको सम्झनामा नौवटा ठूला फूलका माला ‘जनताको वीरहरूको स्मारक’ अगाडि अर्पण गरिएको थियो ।
राष्ट्रपति सीले फूलमालामा रहेको रिबन सोझौ बनाएर विशेष श्रद्धा अर्पण गर्नुभएको थियो । ‘जनताका वीरहरू अमर रहुन्’ लेखिएको रिबनसहित पार्टी, सरकार, संसद, सैन्य आयोग, गैर–कम्युनिस्ट दल, उद्योग वाणिज्य महासंघ, देशभक्त, जनसंगठन, सर्वसाधारण, पूर्वसैनिक, निवृत्त अधिकारी, शहीदका परिवार तथा ‘चाइनिज यंग पायोनियर्स’का तर्फबाट अर्पण गरिएको थियो।
भोलि जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव मनाईँदै छ । सन् १९४९ अक्टोबर १ का दिन नयाँ चीन स्थापना भएको हो । यो अवसरलाई एक सातासम्म चिनियाँहरुले धुमधामसँग मनाउने गर्छन् ।
https://youtu.be/J1mXJ1Mr_9I?si=7biLK6SSUNpyGK_5
टिप्पणीहरू