फूलपातीसँग जोडिएको काठमाडौं र गोरखा, मनकामनासँग बुङमती
विजया दशमीको नवमीदेखि एकादशीसम्म गोरखास्थित मनकामना मन्दिर परम्पराअनुसार बन्द गरिएपछि तीन दिनका लागि देवी मनकामना ललितपुरको प्राचीन बस्ती बुङ्मतीमा प्रतिष्ठा गरिने परम्परा छ। यस अवधिमा बुङ्मतीमा विशेष धार्मिक अनुष्ठान, पूजाआजा, यात्रा र सांस्कृतिक उत्सव मनाइन्छ ।
बुङ्मतीस्थित मनकामना मन्दिरमा तान्त्रिक विधिपूर्वक पूजा सम्पन्न भएपछि देवीलाई रातो मच्छिन्द्रनाथको तीन पटक परिक्रमा गराइन्छ । उपत्यकाका संरक्षक देवता र देवीबीचको सम्बन्ध प्रकट भएको मान्यतापछि देवीलाई भैरव मन्दिरमा प्रतिष्ठा गरिन्छ । दिनभर पूजाआजा र दर्शन गरेपछि रातभर गाउँभरि उल्लासपूर्ण यात्रा निकालिन्छ ।
तेस्रो दिनमा मात्र देवीलाई पुनः आफ्नै मन्दिरमा भित्र्याइन्छ । किंवदन्तीअनुसार, माता मनकामना आफ्ना पति राजा राम शाहसँग मच्छिन्द्रनाथको जात्रा हेर्न बुङ्मती आएकी थिइन् । साधारण ज्यापु–ज्यापुनीको भेषमा आएकी मातालाई तान्त्रिक साधकहरूले चिनेपछि यहीँ बस्न आग्रह गरेका हुन् ।
त्यसपछि माताले वर्षको तीन दिन बुङ्मतीमा बस्ने वाचा गरेको जनविश्वास छ । धार्मिक अनुष्ठानसँगै यो पर्वलाई गोरखा र बुङ्मतीबीचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक सहजीवनको प्रतीकका रूपमा लिइन्छ ।
दशैंको फूलपातीका दिन गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकामा भित्र्याउने चलन छ । यसले दुई राजधानीबीच कायम रहेको शताब्दीऔंदेखिको सांस्कृतिक सम्बन्धलाई जीवन्त बनाएको छ ।
टिप्पणीहरू