कलिलो रगत किन खोज्छ हरेक आन्दोलन ?
बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र नेपालको कानुनले राजनीतिक आन्दोलनमा बालबालिका प्रयोगलाई पूर्णतः वर्जित गरेको छ । युद्ध, आन्दोलन वा कुनै पनि राजनीतिक गतिविधिमा उमेर नपुगेका बालबालिकालाई सहभागी गराउनु दण्डनीय मानिन्छ । तर, नेपालमा भने स्थापित विश्वव्यापी मान्यता उल्लंघन हुँदै आएको छ । हरेक राजनीतिक परिवर्तनमा बालबालिकाले बलिबेदीमा समेत चढ्नुपरेको इतिहास छ ।
राणाकालदेखि पछिल्लो जेन–जी विप्लवसम्म आइपुग्दाका हरेक पाइलामा बालबालिका र युवाहरूको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ । जहानियाँ राणाशासनविरुद्ध आवाज उठाएबापत वि.सं. १९९७ मा गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई काठमाडौंमा झुण्ड्याएर र छातीमा गोली ठोकेर मारिएको थियो । स्वतन्त्रताको माग गरेकै कारण शोभाभगवतीमा गोली दागिएका गंगालाल त्यतिबेला जम्मा २२ वर्षका युवा थिए ।
यिनै चार शहीदको बलिदानले २००७ सालमा प्रजातन्त्रको उदय भयो । २००८ सालमा पहिलो नागरिक प्रधानमन्त्री बने मात्रिकाप्रसाद कोइराला । प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा उनी त्यतिबेला ४० वर्षका थिए । उक्त सरकारका गृहमन्त्री बिपी कोइरालाको उमेर ३७ वर्ष मात्र थियो । त्यसबेला न्युरोडमा मारिने चिनियाँकाजी पनि १६ वर्षका युवा नै थिए ।
राजनीतिक आन्दोलनमा बालबालिकाको प्रयोग र युवा बलिदानको श्रृंखला ३० वर्ष लामो पञ्चायती व्यवस्थामा पनि निरन्तर रह्यो । बहुदलीय प्रजातन्त्रको पक्षमा आवाज उठाउने थुप्रै युवालाई पञ्चायती शासकले निर्ममतापूर्वक हत्या गरेका थिए । स्मरणीय छ, कांग्रेस र कम्युनिष्टका अधिकांश शीर्ष नेताले युवा अवस्थामै एकतन्त्रीय पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत संघर्ष गरेका हुन् ।
त्यसको निश्कर्षका रूपमा बहुदलीय व्यवस्था पुनस्र्थापनाका लागि भएको २०४६ सालको प्रथम जनान्दोलनमा पनि किशोर–किशोरी र युवाहरूको महत्वपूर्ण भूमिका रह्यो । राजनीतिमा उमेर नपुगेका बालबालिकाको प्रयोग तत्कालीन माओवादी जनयुद्धमा झन् व्यापक भयो ।
१० वर्षसम्म चलेको भीषण युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट हजारौँ बालबालिका प्रत्यक्ष प्रभावित भए । २०५२ साल फागुन १४ गते गोरखाको पुन्द्रुङस्थित एक विद्यालयको कक्षा चारमा अध्ययनरत दिलबहादुर रम्तेल प्रहरीले चलाएको गोली लागेर मारिए । एघार वर्षको उमेरमा ज्यान गुमाएका रम्तेललाई माओवादीले जनयुद्धका प्रथम शहीद मान्दै आएको छ ।
२०६२–६३ को दोस्रो जनान्दोलनमा पनि बालबालिकाको प्रयोग रोकिएन । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध स्कूल ड्रेसमै बालबालिका सडकमा आएका थिए । अहिलेको परिवर्तनको जग यही आन्दोलन हो । तर, शान्ति स्थापना भएको झण्डै दुई दशक पुग्न लाग्दा पनि अवस्था जस्ताको तस्तै छ ।
पछिल्लो पटक जेन–जी आन्दोलनका नाममा दर्जनौँ निहत्था नौजवानले ज्यान गुमाउनुपरेको छ । भदौ २३ गते युवाहरूको भ्रष्टाचारविरोधी प्रदर्शन दबाउन राज्य बर्बर दमनमा उत्रँदा १९ वर्षे किशोरसहित १९ जनाले ज्यान गुमाए । मृतक अधिकांशलाई टाउको र छातीमा ताकेर गोली हानिएको तथ्य खुलिसकेको छ ।
त्यसविरुद्ध भोलिपल्ट चर्किएको विध्वंशले अकल्पनीय धनजनमा क्षतिमात्र पुगेन देशको राजनीतिक कोर्स नै बदलियो । त्यसयताको घटनाक्रम सबैका सामु छर्लंगै छ ।
भीडको मनोविज्ञानलाई भड्काएर निहित राजनीतिक स्वार्थ सिद्ध गर्न जेन–जी आन्दोलनमा विभिन्न स्वार्थ समूहको घुसपैठ भएको अनुमान गरिएको छ । स्कूल ड्रेसमा रहेका बालकलाई टाउकोमा ताकेर कसले र किन गोली ठोक्यो ? यसको जवाफ इतिहासले पक्कै खोज्ने छ ।
राजनीतिक आन्दोलनका क्रममा मात्र होइन, अन्य विरोध प्रदर्शनका घटनामा पनि बालबालिकाले ज्यान गुमाउनुपरेको उदाहरण छ । २०५७ सालमा बलिउड अभिनेता ऋतिक रोशनले आफूलाई सबैभन्दा मन नपर्ने देश नेपाल भनेको भन्दै काठमाडाँैँ उपत्यकासहित देशभर हिंसात्मक प्रदर्शन हुँदा कक्षा ३ मा पढ्ने स्कूले बालिका वर्षा कोइरालासहित ६ जना मारिए ।
एकाएक झुटो खबर फैलिएर देशव्यापी दंगा मच्चिएको २५ वर्ष पुरानो यो घटना सम्झिँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ । अहिले जेन–जीको नाममा विध्वंशकारीले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवनसहित सयौं सरकारी कार्यालय, व्यक्तिका निजी घर र व्यावसायिक भवनमा आगो झोसेकै शैलीमा त्यतिबेला घटना घटाइएको थियो । भारतीयको विरोधमा सडकमा वितण्डा मच्चाउँदै हिँडेको भीडले कालो छाला भएका मान्छे जोसुकैलाई अन्धाधुन्द आक्रमण गरेको थियो ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला न्युरोडमा एक बालकले अनाहकमा ज्यान गुमाउनुपरेको अर्को दुखद घटना पनि जोडिएर आउँछ । कर्मचारी आन्दोलन चर्किरहेका बेला घरको झ्यालबाट बाहिरको दृश्य हेर्दै गरेका अनिश शाक्य नामक ती ७ वर्षीय बालकलाई प्रहरीले हानेको गोली लागेको थियो ।
गिरिजाप्रसाद कोइरालाका पालामा चलेको कर्मचारी आन्दोलनमा पनि सिन्धुलीकी सम्झना दाहालको ज्यान गयो । स्कूले बालिका उनको मृत्यु भएपछि आन्दोलन थप चर्कियो । यहाँ उल्लिखित सन्दर्भ प्रतिनिधि घटनामात्र हुन्, विभिन्न नाममा चलाइने यस्ता आन्दोलनमा बालबालिकाको खुलेआम प्रयोग र उनीहरूमाथि गरिने दमन र हत्याका श्रृंखला धेरै लामो छ ।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू