के नेपालमा विदेशी सेना आउँदै थिए ?
आफ्नो अक्षमता ढाकछोप गर्न विदेशी शक्ति केन्द्रलाई अगाडि सार्ने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन । इखालु स्वभावका ओली यो मामिलामा झन कठोर देखिए । मध्यराती प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका सुरक्षा निकायका प्रमुखहरूले राजीनामा दिएर परिस्थितिलाई सहज बनाउन सुझाव दिँदा उत्तेजित हुँदै भने, ‘मलाई हटाएर विदेशी सेना ल्याउने चलखेल छ, राजीनामा दिन्न ।’ तर, के ओलीले दावी गरेझैँ विदेशी सेना आउँदै थिए ? राजीनामापछि झन किन दन्कियो आगो ? यो प्रश्नको जवाफ क्रमशः बाहिर आउने नै छ ।
सरकार र सत्तासीन दलका नेताप्रति चर्कंदो युवा आक्रोशले बंगलादेशमा जस्तै विद्रोहको रूप लिनसक्ने अनुमान अकल्पनीय लाग्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको साँचो शेरबहादुर देउवाबाहेक अरू कसैको हातमा देख्नु पत्यारिलो कुरा थिएन । तर, गत भदौ २२ गते सम्पन्न विधान महाधिवेशनबाट पार्टी सत्तामा आफ्नो निरन्तरता सुनिश्चित गराएर थप शक्तिशाली भई बालुवाटार फर्किएका ओलीले पर्सिपल्टै सत्ताच्यूत हुनुपर्यो ।
भदौ २३ को जेनजी आन्दोलन र २४ गते देशभर फैलिएको विध्वंश राज्यको नियन्त्रणभन्दा बाहिर पुगेपछि उनी पद छोड्नमात्र बाध्य भएनन्, ज्यान जोगाउन बालुवाटारबाटै सैनिक हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आयो । संख्याको बलमा शक्तिशाली ठानिएका शासकहरू जनउत्तरदायी नहुँदा उनीहरूको सत्ता तासको घरझैँ कसरी गल्र्यामगुर्लुम ढल्दो रहेछ भन्ने नजिरका रूपमा यो घटना पुस्तौँसम्म चर्चामा रहने छ । तर, नेपाली राजनीतिमा एमाले अध्यक्ष ओली यस्तो जब्बर पात्र देखिए कि उनमा अझै आत्मबोधको भाव देखिएको छैन । सैनिक संरक्षणबाट फर्किएर नियमित राजनीतिमा सक्रिय रहेका उनले आफ्नो सत्ता जोगाउन बालुवाटारमा बसेर केसम्म गरेका रहेछन् भन्ने कुराको विस्तृत विवरण सार्वजनिक भै नै सकेको छ ।
२३ भदौमा बानेश्वरमा गोली चल्दा एक १९ वर्षे किशोरसहित २२ जनाको ज्यान गयो । स्कूले ड्रेसमा रहेका विद्यार्थीको टाउको र छातीमा ताकेर गोली हानेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिंदै थियो । तर, ओली भने साँझ सरकारी निवासमा एकपछि अर्को बैठक राखेर उल्टै सत्ता लम्ब्याउने उपायको खोजीमा लागे । साँझ ६ बजे क्याबिनेट बैठक र राति सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका उनले कमजोरी महसुस गर्नुको साटो अन्तर्राष्ट्रिय शक्ति केन्द्रले आफूलाई सत्ताबाट हटाउन खोजेको भन्दै पद नछोड्ने अडान लिएका थिए ।
स्रोतका अनुसार २४ गते बिहान पनि चारवटै सुरक्षा निकायका प्रमुखले राजीनामा दिंदा राम्रो हुन्छ भनेका थिए । तर, आफूले छोडेपछि अर्को देशको सेना आउँछन् भन्ने तर्कका आधारमा छोड्न तयार भएनन् । ‘स्थिति आउट अफ कन्ट्रोल छ, स्टेप डाउन गर्नुबाहेक अर्को उपाय छैन भनेको हो’, सुरक्षा स्रोत खुलाउँछ, ‘तर शुरुमा उहाँ तयार हुनुभएन । पछि राजीनामा आउँदा पनि थामिएन । ओली भागेको निकै बेरपछि सिंहदरबार, सर्वोच्च अदालत जलाइएको हो ।’
यसबारे अनुसन्धान गरिरहेको सुरक्षा स्रोतको दावीलाई मान्ने हो भने भदौ २३ को प्रदर्शन र २४ को विध्वंशमा विभिन्न घटकका माओवादी कार्यकर्ता, चैत १५ गते तीनकुनेमा वितण्डा मच्चाएका दुर्गा प्रसाईंंं र रवि लामिछानेका मान्छे परिचालित थिए । दुर्गाले त पारिबाट सयौँंको संख्यामा भाडाका मान्छे ल्याएको दावी सुरक्षा स्रोतको छ । ‘नेपालीहरूले यो वितण्डा मच्चाएको होइन, सिंहदरबारमा आगो लगाउन भाडाका मान्छे ल्याइएको अनुमान छ’, प्रारम्भिक अनुसन्धानको निचोड स्रोतले खुलायो, ‘जिल्ला, उच्च र सर्वोच्च अदालत जलाउनेहरूचाहिँ अधिकांश रवि लामिछानेका कार्यकर्ता हुन्।’
जेनजी आन्दोलनका नाममा भएको राज्यको दमन र विध्वंशात्मक घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । तीन महिनाको कार्यादेश पाएको आयोगले काम थाल्नुअगावै प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान अघि बढाइसकेको छ । घटनामा प्रत्यक्ष संलग्नहरूलाई समातेर छानबिन गरिरहेको प्रहरीले दोस्रो चरणमा आगजनी र तोडफोड गर्न उक्साउनेहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउने योजना बनाएको छ । ‘जेलमा रहेका रविलाई छुटाउन गएकाहरू पनि छानबिनमा तानिन्छन्’, उदाहरण दिँदै सुरक्षा स्रोतले भन्यो, ‘अहिले प्रमाण जुटाउने काम भैरहेको छ ।’
आफूलाई पत्रकार दाबी गर्ने राजीव खत्री र युट्युबर भाग्य न्यौपानेले ‘रवि दाइ’ लाई बाहिर निकाल्न फेसबुकबाट सार्वजनिक आह्वान गरेपछि त्यसदिन उच्छृं्रखल भीड नख्खु कारागार पुगेको थियो । रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, केन्द्रीय सदस्य हरि ढकाल, ज्वाला संग्रौलालगायतले यसको नेतृत्व गरेका थिए । अदालतको आदेशका खिलाफमा गृह सचिवको हवला दिँदै किर्ते पत्र बनाएर जबर्जस्ती निकालिएको तथ्य खुलिसकेको छ । सर्वोच्च अदालतको मुद्दा शाखाका तत्कालीन अधिकृत महिमानसिंह विष्टले आफैँ नक्कली पत्र बनाएर रेशम चौधरीलाई जेल पु¥याएको जस्तै यो प्रकरण पनि राज्य संयन्त्रमाथिको ठाडो चुनौती हो । चार दिन घर बसेर रवि जेल फर्किसकेका छन् तर उनलाई पछ्याउँदै देशभरका कारागारबाट भागेका हजारौँ कैदीबन्दी अझै फरार छन् । नक्खुबाटै निक्लिएका एक कैदीले घर पुगेर श्रीमतीको हत्या गरी जेल फर्किसके ।
गम्भीर सुरक्षा कमजोरीले निम्त्याएको विध्वंश
चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंंको समूहले गरेको प्रदर्शन हिंसात्मक हुँदा गृह प्रशासन र सुरक्षा निकायहरूको कमजोरी सतहमा आएको थियो । सम्भावित परिस्थितिको पूर्वानुमान गरी सुरक्षा रणनीति बनाउन चुकेकै कारण त्यतिबेला ठूलो धनजनको क्षति भएको तथ्य स्पष्टै छ । यसबाट पाठ सिकेर सूचना संकलनदेखि घुसपैठ नियन्त्रणमा सुरक्षा निकायले रणनीतिक तयारी गर्नुपर्ने हो । तर, भदौ २३ को जेनजी प्रदर्शन र भोलिपल्टको विध्वंशकारी प्रदर्शनका क्रममा पनि त्यही कमजोरी देखियो ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धपछि आमरूपमा बढिरहेको युवा आक्रोशले निम्त्याउन सक्ने क्षतिको पूर्वआकलन गर्न नसक्नु सरकारको कमजोरी रहेजस्तै सुरक्षा निकायले पनि सुरक्षा विश्लेषण गर्न सकेको देखिएन । एक त माइतीघर क्षेत्रमा प्रदर्शनको अनुमति दिनु नै हुँदैनथ्यो । अर्कोतिर माइतीघरबाट निस्किएको जुलुसलाई बानेश्वरको एभरेष्ट होटल अगाडि रोक्न खोजेको प्रहरीले यसपटक आवश्यक मात्रामा पनि बल प्रयोग गरेन । सडकमा मान्छे रोक्न एउटा मात्र ब्यारिकेड राखिएको थियो तर दायाँबायाँबाट बाइक र गाडीलाई गुड्न छुट थियो । जसका कारण प्रदर्शनकारीहरू सजिलै सुरक्षा घेरा तोड्दै संसद भवनतर्फको निषेधित क्षेत्रतर्फ प्रवेश गरे ।
युवा–विद्यार्थीको आन्दोलनलाई कम आँक्नु र इन्टेलिजेन्सले सही सूचना लिन नसक्नु नै मुख्य कमजोरी हो भन्न सकिन्छ । ‘एकातिरबाट एक हजार जना जति आन्दोलनकारी मोटर साइकल चढेर छिरिसकेका थिए’, घटनाको अनुसन्धानमा संलग्न स्रोत खुलाउँछ, ‘बाटो हिँड्नेलाई ब्यारिकेड मोटरसाइकल र गाडीलाई खुला जस्तो भयो । यहाँनेर कमजोरी भएकै हो ।’
चैत १५ मा प्रदर्शनकारी भेला नहुँदै अश्रुग्यास र पानीको फोहोरा हानेर आन्दोलन दबाउने रणनीति प्रत्युत्पादक भएको थियो । शुरुमै दमनको नीति लिँदा उत्तेजित भीड तोडफोड र आगजनीमा उत्रियो । दुर्गा प्रसाईंंका मान्छेले आगो लगाउँदा रहेछन् भन्ने त यो घटनाबाटै थाहा भएको हो । ‘तोडफोड गर्ने, व्यक्तिको घरमा आगो लगाउने कुराको अभ्यास त चैत १५ मै भएको हो’, सुरक्षा कमजोरी स्वीकार्दै स्रोत भन्छ, ‘प्रहरीको रिग्रेसिभ कुरा पनि त्यतिबेलै भएको छ । चैत १५ मा रिहर्सल भयो, त्यसको बृहत रूप हो भदौ २३ र २४ को घटना ।’
तर, प्रदर्शनकारी संसद भवनमा प्रवेश गरिसकेपछि भने गोली चलाउनु स्वभाविक हो भन्ने प्रहरीको भनाइ छ । अत्यावश्यक वस्तु संरक्षण ऐन र स्थानीय प्रशासन ऐनले नै ‘भाइटल इन्स्टलेसन’ तोडफोड र आगजनी भएपछि प्रहरीलाई बल प्रयोग गर्न दिएको छ ।
देश डुब्ने नै प्रष्ट लक्षण देखियो
विदेशी शक्तिको षड्यन्त्रका नाममा भावनात्मक कुरा गरेर प्रधानमन्त्रीको कुर्सी नछोड्न अन्तिमसम्म अड्डी कसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उठेको नेतृत्व परिवर्तनको बहसलाई पनि त्यसैगरी पन्छाउने रणनीति बनाएका छन् । जेनजी उपद्रव थेग्न नसकेपछि पद छोडेर भागेका र १० दिन सैनिक ब्यारेकमा बसेर सार्वजनिक भएका ओली अहिले राजनीतिक गतिविधिमा सक्रिय भैसकेका छन् । नेताहरूसँग भेटघाट बाक्लो बनाएका उनले आफूलाई षड्यन्त्रपूर्वक अपदस्थ गरिएको भन्दै सहानुभूति लिएर नेतृत्वमा रहिरहने रणनीति अपनाएका हुन् ।
यौटै कम्पाउण्डमा रहेको बालकोटको दुई वटा घर विध्वंसकारीले आगो लगाएर ध्वस्त पारेपछि ओली अहिले महेश बस्नेतले व्यवस्थापन गरिदिएको गुण्डूस्थित भाडाको घरमा सरेका छन् । यो घर एमाले नेता तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको हो । स्रोतका अनुसार केही दिनयता लगातार नेताहरूलाई बोलाएर नाडी छाम्ने काम भैरहेको छ । यस्ता भेटमा देशी–विदेशी शक्तिहरूले षड्यन्त्र गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको जिकिर ओलीको रहने गरेको छ ।
‘विदेशीको षड्यन्त्र थियो होला । तर, पार्टीको मात्र होइन देशकै जिम्मा लिएर बसेको मान्छेले ममाथि षड्यन्त्र भयो भनेर उम्कन मिल्छ र !’, एमालेका एक पदाधिकारी भन्छन्, ‘राजनीतिमा षड्यन्त्र त जहिले पनि भैरहन्छ । त्यसलाई चिरेर अघि बढ्न सक्नु पो नेतृत्वको खुबी हो ! नत्र अरू नेता र मुख्य नेतृत्वमा के फरक भयो ?’
बिडम्बना कस्तो रह्यो भने देश, जनता, पार्टी र कार्यकर्ताको रक्षा गर्नुपर्ने दुई तिहाईका शक्तिशाली प्रधानमन्त्रीले सेना प्रमुखको हातमा राजीनामा पत्र थमाएर हेलिकोप्टर चढी ज्यान जोगाउनुपर्यो । प्रधानमन्त्रीले पद छोडेर सरकारी निवासबाटै भागेको सम्भवतः नेपाली राजनीतिमा यो नै पहिलो घटना हो । तर, अध्यक्ष ओलीमा यो सबै परिस्थितिप्रति अलिकति पनि आत्मालोचनाको भाव नदेखिएको नेताहरू बताउँछन् ।
खासमा जेन–जी आन्दोलनका नाममा भएको यो विध्वंशको मुख्य कारक सरकार र राजनीतिक दलहरू नै हुन् । देशको प्रधानमन्त्री र सत्ताधारी पार्टीको अध्यक्षसमेत रहेकाले अन्य नेताभन्दा ओली यसप्रति बढी जिम्मेवार हुनैपर्छ । ‘एकजना ओलीको हठले गर्दा देश, जनता, पार्टी, कार्यकर्ता र जनप्रतिनिधिले दुःख पाए । एमाले भएवापत दर्जनौँ नेता–कार्यकर्ताको घर जलाइयो । कयौं जनप्रतिनिधिले भागेर ज्यान जोगाएका छन् । तर, यो सबैप्रति नैतिक जिम्मेवारीको भाव उहाँमा देखिएको छैन’, उनै नेताको भनाइ छ, ‘अमूर्त शब्दजाल ओछ्याएर पानीमाथिको ओभानो बन्दै नेतृत्व नछोड्ने तयारी पो देखिँदैछ ।’
यो घटनामा राज्यको सुरक्षा रणनीति फेल हुनुमा पनि ओलीको कार्यशैली नै जिम्मेवार देखिन्छ । आफूलाई सर्वज्ञाता ठान्ने र सबैलाई हप्कीदप्की गर्ने उनको स्वभावका कारण सुरक्षा निकायले सही सूचना नदिएको र अन्तिममा त सेना प्रमुखले राजीनामा नै मागेको तथ्य बाहिर आइ नै सकेको छ । देशको कार्यकारी प्रमुखले भोलिपल्ट बिहान आफ्नो सरकार ढल्दैछ भन्ने कुराको सामान्य सुइँको समेत नपाउनुले प्रधानमन्त्री र राज्यका निकायहरूबीचको सम्बन्ध र समन्वय कति दयनीय रहेछ भन्ने प्रष्ट हुन्छ ।
‘सरकार जाँदैछ भन्ने कुरा अघिल्लो दिनसम्म प्रधानमन्त्रीलाई थाहै नहुने यस्तो किसिमको सूचना संयन्त्र र नालायकीको पराकाष्ठा हो यो’, एमाले स्रोत खुलाउँछ, ‘षड्यन्त्र हो भने त्यसको गन्धसमेत थाहा नपाउने पनि हुन्छ ? २२ गते गोदावरीमा धम्कीपूर्ण भाषा बोल्ने । सबै मेरो नियन्त्रणमा छ भन्ने । तर एक दिन पछाडि के हुँदैछ भन्ने पनि थाहा नहुने ।’
विश्वभर बेलायतको एकछत्र चलिरहेका बेला जंगबहादुरले समेत भूराजनीतिक सन्तुलन मिलाएर जोगाएको देश हो यो । पृथ्वीनारायण शाहले त्यसै २ ढुंगाको तरुल भनेका थिएनन् । जंगबहादुर र पृथ्वीनारायणसँग न औपचारिक पढाई थियो, न कूटनीतिको सैद्धान्तिक ज्ञान नै ! अहिलेजस्तो सूचना, प्रविधिको विकास त्यतिबेला थिएन । केवल राजकाजको अनुभवबाट प्राप्त ज्ञान प्रयोग गरेर उनीहरूले देशलाई विदेशी हस्तक्षेपबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर, आफूलाई हरेक विषयको जानकार ठान्ने, महाभारतदेखि गरुड पुराणसम्मका कुरा निकालेर घण्टौं प्रवचन दिनसक्ने, कार्यकर्ता र कर्मचारीलाई हप्काउने ओली यति निरिह देखिए कि भूराजनीतिक परिस्थितिको पूर्वानुमान गर्नै सकेनन् ।
यो सबै घटनाक्रमको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टी पुनर्गठन गरेर जानुपर्ने माग अहिले एमालेमा उठिरहेको छ । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई भेटेर ‘पार्टी र तपाईंका बारेमा बाहिर राम्रो धारणा छैन, यसको कारण खोज्नुपर्छ’ भन्दै नेतृत्व छोड्न आग्रह गरिसकेका छन् । तर, रिसाउँदै ओलीले उल्टो प्रतिप्रश्न गरे, ‘मलाई सिध्याउन खोजेका बेला हटाउन खोज्ने ?’
‘राज्य र पार्टीको नेतृत्व गर्ने तर घटनाक्रम यसरी विकास भएको रहेछ भन्ने कुरामा बेखबर देखिनुभयो, तपाईं जानकार भएको भए हामीले थाहा पाउनुपर्ने होइन ?’, वरिष्ठ उपाध्यक्षको प्रश्नमा ओलीको जवाफ रह्यो, ‘मलाई अलिअलि थाहा थियो ।’
त्यसपछि पार्टीलाई सिष्टममा नचलाएकै कारण कार्यकर्तापंक्तिमा निराशा छाएको कुरा उठ्यो । पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रूपमा ओलीको भूमिका ब्यासासनमा बसेर पुराण भन्ने पण्डितको जस्तो मात्रै देखियो भन्ने गुनासो एमालेमा पहिलेदेखि नै उठ्दै आएको हो । पुराण सुन्न बसेका भक्तजनले बीच–बीचमा ‘प्रभुकी जय हो’ भनेजसरी अब पार्टी चल्दैन भन्नेमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमालबाहेक सचिवालयका सबै एकमत छन् ।
भदौ २४ गते बिहान बालुवाटार पुगेका विष्णु पौडेल, शंकर र प्रदीपको बेहाल भयो । आन्दोलन चर्किंदै जाँदा प्रधानमन्त्री निवास पनि विध्वंशकारीको निशानामा पर्दै थियो । तर, उनीहरूलाई त्यहीँ छोडेर ओली पत्नी राधिका शाक्य, पिए राजेश बज्राचार्य र सल्लाहकार विष्णु रिमाललाई लिई सैनिक हेलिकोप्टरमा उडे । त्यसपछि अलपत्र परेका तीनभाइले ज्यान जोगाउन निकै कष्ट व्यहोर्नुपर्यो । शुरुमा कांग्रेसी नेता राजेन्द्र बजगाईंको वर्णबास होटलमा गएका उनीहरू त्यहाँ आगो लागिरहेको देखेपछि प्रहरी हेडक्वार्टर छिरेर बचेका हुन् । तर, त्यहाँ पनि हान्न थालेपछि राती ११ बजे सेनाले उनीहरूलाई अर्को ठाउँमा सारेको थियो । ‘त्यसदिन यी तीन जनालाई मारिएको भए के हुन्थ्यो ?’ भन्ने कोणबाट पनि एमालेमा प्रश्न उठाउन थालिएको छ ।
‘यो सबै कुराको रियलाइजेसन छैन । बैठक राखौँ भन्दा दशैं पछि भन्छन्’, सचिवालयका नेता भन्छन्, ‘व्यक्ति–व्यक्तिलाई बोलाएर खुसुखुसु कुरा गर्नसक्ने तर बैठक बोलाउन आनाकानी गर्नुले यिनी अझै पनि सुध्रिने छाँट देखिएन ।’ अध्यक्ष नछोड्ने प्रष्ट सन्देश दिइसकेका ओली सचिवालयमा पकड कायमै राख्न भित्रभित्र सक्रिय हुनुले ११ औँ महाधिवेशनमा पनि उम्मेदवार बन्ने तयारीमा रहेको अनुमान गर्न सकिन्छ । त्यसका लागि पार्टीका तर्फबाट निवर्तमान मन्त्रीहरूलाई फकाउने रणनीतिमा रहेको बताइन्छ । एमाले सचिवालयबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पिएस गुरुङ मन्त्री थिए ।
देश, जनता, पार्टी र कार्यकर्ता कसैलाई जोगाउन नसकेका ओलीले मन्त्रीहरूलाई बोलाएर ‘सरकारले हामीलाई जेल हाल्न आयोग बनाउँदैछ, एकतावद्ध भएनौँ भने एक–एक छानेर कारवाही गर्छ । त्यसैले मिलेर प्रतिवाद गर्नुपर्छ’ भन्ने गरेका छन् । सचिवालयमा बहुमत पुर्याउन निवर्तमान मन्त्रीहरूलाई फकाइरहेका उनी पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति भने अझै पनि सकारात्मक नरहेको बताइन्छ । भेट्न गएकाहरूले परिस्थिति बदलिएकाले अब नयाँ ढंगले जानुपर्छ भन्दा ‘यिनीहरूसँग कसरी मिलेर जान सकिन्छ !’ भन्दै आक्रोश पोख्ने गरेको नेताहरू बताउँछन् ।
विश्वासको संकट कतिसम्म भने सेनाले कुन ब्यारेकमा राखेको थियो भन्ने कुरा वरिष्ठ उपाध्यक्षलाई समेत भनिएको छैन । अपमानको प्याला पिएर भए पनि यस्तो बेला जोरीपारी हँसाउन हुँदैन भन्ने पवित्र भावनालाई अध्यक्षले दुरूपयोग गरेको ठान्नेहरू एमालेमा धेरै छन् ।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू