बालेनविरुद्ध खनिएका भुसालको छुट्टै भेला, रविलाई भेट्दै

बालेनविरुद्ध खनिएका भुसालको छुट्टै भेला, रविलाई भेट्दै

आफूलाई समाजिक अभियन्ता दावी गर्ने डा. निकोलस भुसालले संविधान खारेजीको माग गर्दै युवा भेला गर्न लागेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो देशवासीको नाममा सम्बोधन गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएपछि भुसाल समूह असन्तुष्ट हुँदै अर्को तयारीमा जुटेको हो । जेन-जी प्रदर्शनमा समेत देखिएका भुसाल विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा थिए । 

उनले आफ्ना समर्थकहरूलाई आज दिउँसो ३ बजे बत्तिसपुतलीस्थित होटल तपसमा उपस्थित हुन आह्वान गरेका छन् । जेन-जीका हत्यारालाई यथाशीघ्र पक्राउ, आन्दोलनले उठाएको माग पूरा गर्न र अन्तरिम संविधान जारी गर्ने वातावरण बनाउन कार्की नेतृत्वको अन्तरिम सरकारलाई कात्तिक १४ गतेसम्मको अल्टिमेटम दिने भुसाल समूहको निर्णय छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न भोली नख्खु कारागार जान लागेको पनि उनले जानकारी दिएका छन् । 

पछिल्ल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको चर्को आलोचना गर्दै आएका भुसाल अन्तरिम सरकारमा आफू वा आफू निकटका कुनै व्यक्तिलाई मन्त्री बनाउन चाहन्थे । तर, प्रधानमन्त्री कार्की र बालेनले वास्ता नगरेपछि तिल्मिलाएका यिनी सरकार नै विदेशीले बनाइदिएको भन्दै हिँडेका छन् । 

‘मलाई अमेरिकन एम्बेसी र इन्डियन एम्बेसीमा गएर भेट भनियो, म किन जाने !’, हालै एक पोडकास्टमा भनेका छन्, ‘बालेनप्रति मेरो अब कुनै विश्वास छैन, उनीभन्दा म अब्बल छु, चाहिएको बेला नआउने ! अब म नै पहिलो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्ने हो ।’

उक्त पोडकास्टमा भुसालले बालेन बाह्य शक्तिबाट बढी प्रभावित भएको र जेन-जी प्रदर्शनको मुनाफा लिन खोजेको आरोपसमेत लगाएका छन् ।
 

टिप्पणीहरू