आफ्नै नेताको घरसमेत डढाए ती युवाले
जेन-जी आन्दोलनका नाममा भदौ २४ गते मच्चाइएको विध्वंसले अनाहक केही नेताको घरबारमा नराम्रो क्षति पुगेको छ । नेपाली कांग्रेस,एमाले र माओवादी केन्द्रका नेता जति सबै खराब हुन् भन्ने दुषित मनोविज्ञानले जथाभावी आक्रमण गर्दा इमान्दार नेता 'साँढेको जुधाई,बाच्छाको मिचाई' मा परेका हुन् । तिनीहरु अहिले घरबारविहीन भएका छन् ।
सत्तासीन नेपाली कांग्रेस र नेकपा एमालेसहित माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टी कार्यालय र नेताहरूका घरमा लुटपाट, तोडफोड र आगजनी भएको थियो । सरकारमा गएर बिटुलिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पञ्चायतकालदेखि नै सत्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी कार्यालय र नेताहरूको घरबाहेक विध्वंसकारीले अरुको खोजीखोजी ध्वस्त पारेका थिए ।
भदौ २३ गते १९ जना होनहार युवाको ज्यान जानेगरी आन्दोलन हुँदा सरकारको उच्च जिम्मेवारीमा केपी शर्मा ओली थिए । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको साथ र सहयोग थियो ।
उच्छृङ्खल भीडले शुरुमा छेउको अर्को घरलाई पाण्डेको घर ठानेर आक्रमण गर्न थालेको थियो । त्यसपछि 'आइ लभ यु केपी बा' को नारा लगाउने त्यो केटोले 'यो हैन त्यो' भन्दै पाण्डेको घर देखाएको थियो ।
यसवीच यस्ता केही नेताको समेत घर जलाइयो,जो सत्तारुढ पार्टीमा भए पनि सरकारको खरो आलोचक थिए । त्यसमध्येका हुन्,एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे । पार्टीभित्र केपी ओलीको विकल्प खोज्नुपर्ने भन्दै भित्र र बाहिर बहस चलाइरहेका नेता हुन् उनी । ओलीलाई तेहेर्याएर अध्यक्ष बनाउनेगरी पार्टी विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था खारेज गर्ने केन्द्रीय समितिको निर्णयमा पाण्डेले नोट अफ डिसेन्ट समेत लेखेका थिए । तत्कालीन सरकारको काम र प्रधानमन्त्रीको कार्यशैलीप्रति उनले सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका थिए ।
तर,भदौ २४ गते आगो झोस्दै हिँडेको अराजक समूहले पाण्डेको स्वयम्भूस्थित घर खरानी बनाइदियो । अझ डरलाग्दो कुरा के भने त्यहाँ आगो झोस्ने व्यक्ति नै एमाले कार्यकर्ता थिए । केपी ओलीलाई 'बा' भन्ने एक युवाको अगुवाइमा आएको भीडले घर ध्वस्त पारेको स्वयम्भू प्रहरी बृत्तले पत्ता लगाएको छ ।
बुझिएअनुसार लाठी,भाला, ढुंगासहित घरेलु हतियार बोकेर आएको उच्छृङ्खल भीडले शुरुमा छेउको अर्को घरलाई पाण्डेको घर ठानेर आक्रमण गर्न थालेको थियो । त्यसपछि 'आइ लभ यु केपी बा' को नारा लगाउने त्यो केटोले 'यो हैन त्यो' भन्दै पाण्डेको घर देखायो र भीड सोहोरिएर त्यतातिर लाग्यो ।
घरमा आगो लगाउनुअघि लुटपाट मच्चिएको थियो । नेपाल प्रहरीका एकजना बहालवाला डिएसपी र नेपाली सेनाका मान्छेसमेत लुटपाटमा संलग्न रहेको भिडियो फुटेजमा देखिएको छ । उनीहरुले औषधिसमेत बाँकी नराखी सबै सामान लुटेर लगेका थिए ।
'लुटिएका केही सामान अहिले छिमेकीको घरमा छ । तर,लिन जान सकेका छैनन्', स्रोतले दुखेसो सुनायो । शरीरमा लगाएको एक जोर कपडामा उम्केर ज्यान जोगाएको पाण्डे परिवार साँच्चैको 'सर्वहारा' भएको छ । उनीहरु अहिले साथीभाइ र इष्टमित्रको सहारामा ठाउँ सरीसरी बस्न बाध्य छन् ।
टिप्पणीहरू