मन्त्रीको कार्यकक्ष र शयनकक्ष एउटै तलामा

मन्त्रीको कार्यकक्ष र शयनकक्ष एउटै तलामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका लागि मन्त्रालयमै सुत्ने कोठाको व्यवस्था गरिएको छ। मन्त्रीको कार्यकक्ष नजिकै खाना पकाउने र सुत्ने एउटा कोठा तयार पारिएको छ ।

मन्त्री पुनले पदभार ग्रहण गरेपछि आफू जहाँ काम गर्ने, त्यहीँ बस्ने इच्छा व्यक्त गर्दै मन्त्रालयमै खाने–सुत्ने कोठा बनाउन कर्मचारीलाई हिजो निर्देशन दिएका थिए। सोही अनुसार उनको कार्यकक्ष नजिकै छुट्टै कोठा तयार पारिएको हो ।

जेन जी ध्वंसको क्रममा सिंहदरबारस्थित मन्त्रालय जलेपछि अहिले सबै कामकाज केशर पुस्तकालयको भवनबाट भइरहेको छ । त्यहाँ मन्त्रालयका लागि १३ वटा कोठा प्रयोगमा ल्याइएको उपसचिव मधुप्रसाद घिमिरेले जनआस्थालाई जानकारी दिए । उनका अनुसार मन्त्री पुनको कार्यकक्ष र सुत्ने कोठा एउटै तलामा राखिएको हो ।

‘मन्त्रीज्यूले यतै सुत्ने भनेपछि आज कोठा बनाइदिएका छौँ। एउटा बेड, भाँडाकुँडा, ग्यास र सिलिन्डर व्यवस्था गरिएका छ । ओढ्ने–ओछ्याउने कपडा आउँदै छ,’ उनले भने।

मन्त्री पुनले खाना समेत आफैं पकाउने बताउँदै सहयोगीलाई फिर्ता पठाएका छन्। घिमिरेले थपे, ‘एक जना खाना पकाइदिने सहयोगी राख्न खोजेका थियौँ, उहाँले मान्नुभएन। आफैं पकाउँछु, कोही पर्दैन भनेर फर्काउनुभयो।’

मन्त्री पुनले सुरक्षागार्डलाई समेत आफूलाई व्यक्तिगत सुरक्षा आवश्यक नभएको भन्दै अन्यत्र खटिन निर्देशन दिएका छन्। पुनको भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘मन्त्रालयको सुरक्षा गर्ने हो भने तल गेटमा खटिनुस्। यहाँ (दोस्रो तला)मा पर्दैन। नत्र अरू ठाउँमा गएर सुरक्षा दिनुहोस्।’
 

टिप्पणीहरू