प्रसाईंको खुलमखुला दाबी : संसद र सिंहदरबारमा आगो लगाउने चाहना पूरा भयो

प्रसाईंको खुलमखुला दाबी : संसद र सिंहदरबारमा आगो लगाउने चाहना पूरा भयो

राजसंस्था पुनस्र्थापनाको अभियानमा लागेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले अर्को आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले भक्तपुरको मध्यपुरथिमीस्थित निजी निवासमा पत्रकार सम्मेलन गरेर नेताहरुको घरमा आगजनी हुने पहिलेको आफ्नो अनुमान पूरा भएको बताएका हुन् । 

भदौ २४ गतेको विध्वंशकारी जेन जी प्रदर्शनको क्रममा अराजक युवाहरुले संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित विभिन्न सरकारी भौतिक संरचनामा आगो लगाएका थिए । सोही क्रममा देशभर डेढ सय नेताको घर आगो लगाएर ध्वस्त पारिएको छ । उक्त पुष्ठभूमिमा प्रसाईंले आफूले चिताएको पूरा भएको बताएका हुन् । उनले भने, ‘देख्नुभयो नि हैन, मैले जे जे भनेको थिएँ, सबै पूरा भयो ।’

लामो समयदेखि युटुबमार्फत संसद भवन र सिंहदरबारमा आगो लगाउने अभिव्यक्ति दिँदै आएका प्रसाईंले एउटा अनुमान भने पूरा नभएको बताए । ‘आरजू राणा सभापति हुन्छिन् भनेको, त्योभन्दा अगाडि नै लखेटिहाले’, उनले थपे ।

प्रसाईंले तिहारपछि हिन्दु अधिराज्यको मागसहित ठूलो आन्दोलन गर्ने पनि बताए । ‘हेर्दै जानुस् हाम्रो आन्दोलन अब रोकिनेवाला छैन, कुनै पनि हालतमा रोकिँदैन’, उनले सुनाए ।

टिप्पणीहरू