उच्च प्रविधिमा चीनको अर्को छलाङ

चीनको आन्हुई प्रान्तको राजधानी हेफेईमा आयोजित सूचना प्रविधिका पछिल्ला आविश्कारसम्बन्धी सम्मेलनले चर्चा पाएको छ । ‘इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ फर अ बेटर फ्युचर’ सम्मेलनमा चीनले बुद्धिमान (इन्टेलिजेन्ट) उत्पादन, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, अन्तरिक्ष निर्माण प्रविधिलगायतका क्षेत्रमा प्राप्त नयाँ–नयाँ उपलब्धिहरु प्रस्तुत गरेको छ।

सम्मेलनमा सबैभन्दा बढी ध्यान रोबोट ब्यान्डले खिचेको थियो । जसले संगीत वादन, प्रविधि र कलात्मक लयलाई एकैसाथ जोडेको देखिन्थ्यो । त्यस्तै, मानवरूपी रोबोटहरूको प्रदर्शन, सेवा दिने रोबोट, स्वचालित प्रणाली र शहरी जीवनलाई सहज बनाउने प्रविधिहरू दर्शकका लागि विशेष आकर्षण बनेका थिए ।

हवाई यातायातमा प्रयोग हुने उडान यन्त्रदेखि वातावरणमैत्री उत्पादन प्रविधिसम्म सम्मेलनमा देखाइएको थियो । चीनले निर्माण क्षेत्रलाई चौथो औद्योगिक क्रान्तिको मेरुदण्डका रूपमा अगाडि बढाउने रणनीति बनाएको छ । बुद्धिमत्तायुक्त उत्पादन, कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिमा निरन्तर लगानी बढाउँदै आएको चीनका लागि हेफेई सम्मेलन आफ्ना उपलब्धि प्रदर्शन गर्ने मात्र नभएर विश्वव्यापी प्रविधि साझेदारी र आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर पनि बनेको छ।

यस्ता प्रविधिको विकास र कार्यान्वयनमा हुने उच्च लागत, श्रम बजारमा देखिने चुनौती र साना–मध्यम उद्योगसम्म विस्तार गर्ने जटिलता भने कायम देखिन्छ । यसले योग्य जनशक्ति र अद्यावधिक शिक्षा–प्रशिक्षणको आवश्यकता अझ बढाउने निश्चित छ ।

हेफेई सम्मेलनले प्रविधिको दिगो दृष्टिमा नवप्रवर्तन र बुद्धिमत्तामार्फत भविष्य निर्माण गर्नुपर्ने सन्देश दिएको छ । रोबोटद्वारा संगीत वादनदेखि अन्तरिक्ष निर्माणसम्मको यात्रा चीनको निर्माण क्षमताको उचाइ मात्र होइन, विश्वव्यापी औद्योगिक प्रतिस्पर्धामा नयाँ सम्भावना खोल्ने संकेत बनेको छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू