क्याबिनेट बैठकअघि प्रधानमन्त्री र घाइते जेन जीबीच छलफल

क्याबिनेट बैठकअघि प्रधानमन्त्री र घाइते जेन जीबीच छलफल

प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते जेन–जी युवाहरुको एउटा समूहले भेट गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजेदेखि झण्डै डेढ घण्टा भएको छलफलमा घाइतेहरु सुशीला गौतम, रुबिना खड्का, आदित्य रावल, सुरेश एडी, गोकर्ण विष्ट, प्रकाश दाहाल, लोकेन्द्र खड्का, चम्पा लामा, भुवन दाहाल, अनिल दास, बादल राई, रुपिन खड्का र आदित्य रावललगायत एक दर्जनबढी सहभागी भएको बताइन्छ । 

त्यसअघि उनीहरुले गृह मन्त्रालय पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र बुझाएका थिए । त्यहिँबाट प्रहरीको गाडीमा राखेर प्रधानमन्त्री कार्यालय पुर्याइएको हो । उनीहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका सिडिओ छवि रिजाललाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसाको स्रोत खोजबिन हुनुपर्ने, सबै घाइतेको निःशुल्क उपचार तथा क्षतिपूर्ति पाउनुपर्ने र नेपालको संविधान २०७२ खारेज गर्नुपर्ने उनीहरुको थप माग छ ।

गृहमन्त्रीबाट ठोस जवाफ नआएपछि उनीहरुले प्रधानमन्त्री भेट्न पाउनुपर्ने माग राखेका थिए । 

घाइतेहरुसँगको भेटघाटपछि साढे ४ बजेपछि प्रधानमन्त्री कार्यालयमा क्याबिनेट बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकमा तीन जना मन्त्री र मुख्य सचिव उपस्थित भएका हुन् ।

टिप्पणीहरू