उद्घाटनमा ‘बाँदर नाच’, सांस्कृतिक कार्यक्रममा ‘बाँदर राजा प्रतियोगिता’

उद्घाटनमा ‘बाँदर नाच’, सांस्कृतिक कार्यक्रममा ‘बाँदर राजा प्रतियोगिता’

चीनको चियुवान शहरमा आयोजना गरिएको पहिलो ‘राष्ट्रिय महान् संस्कृति तथा कला सप्ताह’ र ‘बाँदर राजा प्रतियोगिता’ को भव्य उद्घाटन भएको छ । ‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ नारासहित ‘लियु स्याओलिङथोङ कार्यशाला’ र ‘चियुवान सांस्कृतिक पर्यटन लगानी समूह’ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको उद्घाटन समारोहमा बाँदर नाच, युद्धकला, नृत्यलगायतका मनमोहक प्रस्तुति देखाइएको थियो । 

त्यसैगरी, चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच विशेष भिडियो सार्वजनिक पनि गरिएको हो । यी दुईस्थल भौगोलिक रुपमा हजारौं माइल टाढा भएतापनि ‘वानर’ को आध्यात्मिक प्रतिकले दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्धको प्रतिनिधित्व गरेको छ । प्रतियोगितामा सहभागिता जनाउन मुलुकभरबाट ल्याइएको करिब तीन सय बाँदर प्रतिस्पर्धी दर्शकको लागि मुख्य आकर्षण बन्यो । 

समारोहमा चीन–नेपाल सांस्कृतिक दूत लियु स्याओलिङथोङसहित प्रसिद्ध चिनियाँ कलाकारहरुको उपस्थिति थियो । यता, अन्तर्राष्ट्रिय क्षेत्रबाट भिडियोमार्फत कार्यक्रमको सफलताको शुभकामना दिइएको छ । चीनका लागि पूर्वनेपाली राजदूत लिलामणि पौडेलले नेपाल र चीनबीच सभ्यताको आरम्भदेखि नै गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताएका छन् । 

भिडियोमार्फत समारोह सन्देश दिएका उनले कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिए । त्यस्तै, अर्का पूर्वराजदूत टंक कार्कीले मञ्जुश्री बोधिसत्वको बुटाइ पर्वतबाट नेपाल भ्रमण गर्ने किंवदन्ती र फासियान तथा ह्वेनसाङका ऐतिहासिक भ्रमणहरुले चीन–नेपालको सम्बन्धको गहिराई दर्शाएको जनाए । 

नले भने,‘मञ्जुश्री बोधिसत्वको वुटाइ पर्वतबाट नेपाल भ्रमण गर्ने किंवदन्ती र फासियान तथा ह्वेनसाङका ऐतिहासिक भ्रमणहरूले चीन–नेपाल सम्बन्धको गहिराई देखाउँछन् । लियु स्याओलिङथोङको अभिनयले सुन वुकोंगलाई जीवन्त बनाएको छ र जनस्तरमै मित्रतालाई मजबुत पारेको छ ।’

धुलिखेल नगरपालिकाका प्रथम उपमेयर तथा कार्यक्रमका समन्वयकर्ता सुवासकाजी श्रेष्ठले बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्तुलनलाई जनाउने प्रतिक्रिया दिएका छन् । उनका अनुसार लियु स्याओलिङथोङले आफ्नो कलात्मक शक्तिबाट दुई देशका जनताको हृदय नजिक ल्याउने काम गरेका छन् । 

कार्यक्रममा ‘पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र’ को उद्घाटन गरिएको थियो । त्यसपछि लियु स्याओलिङथोङले सुन वुकोंगको पोशाकमा करिव तीन सय जना ‘बाँदर राजाहरु’ सँगै थाउटु पहाडमा विश्व कीर्तिमान कायम गरे । सेप्टेम्बर २७ सम्म चल्ने कार्यक्रममा लोककथा प्रदर्शन, अन्तर्राष्ट्रिय संवाद, सांस्कृतिक–पर्यटन प्रवद्र्धन र विद्यालयस्तरका कार्यक्रमहरु हुनेछन् ।

 

टिप्पणीहरू