पेचिलो बन्दै मन्त्री नियुक्ति : कोही तिकडम लगाउँदै, राम्रा भनाउँदा हात उठाउँदै
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको एक साता बितेको छ । तर उहाँले मन्त्रिमण्डललाई अझै पूर्णता दिन सक्नुभएको छैन । ११ सदस्यीय मन्त्रीमण्डल बनाउने भनिए पनि अहिलेसम्म तीन मन्त्रीमात्र नियुक्त भएका छन्, बाँकीको टुंगो लागेको छैन ।
यसैबीच मन्त्री बन्ने आंकाक्षासहित केहीले अनेक फण्डा र प्रचारबाजी गरेको देखिन्छ । विभिन्न पेशा व्यवसायमा रहेकाले गरेको दौडधुप र प्रचारबाजीले जेन जी पुस्ताको भनाई र चाहना नै अलपत्र पर्ने अवस्थामा पुगेको छ । अघिल्लो साता प्रधानमन्त्री छान्ने भन्दै जेन जी समूहले सामाजिक सञ्जालमा भोटिङ गरेको थियो ।
यता होटल व्यवसायी संघ (हान)का अध्यक्ष विनायक शाहले आफूलाई पर्यटनमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् । जेन जी ध्वंसपछि होटल व्यवसाय, पर्यटन क्षेत्रमा पुगेको क्षतिलाई सम्बोधन गर्दै व्यवसायको निरन्तरतामा लाग्नुपर्ने व्यक्ति मन्त्री बन्ने दौडधुपमा छन् । आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि उपयुक्त पात्र भएको दावी गर्दै सोही अनुसार प्रचार गरिदिन विभिन्न सञ्चारमाध्यमलाई इमेलमा फोटो र विवरण नै पठाएका छन् ।
हानको नाममा लेखिएको पत्रमा भनिएको छ, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तै अनुभवी र जनमुखी नेतृत्व चाहिएको छ, शाहसँग यस क्षेत्रको गहिरो ज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र सुधारको स्पष्ट दृष्टिकोण भएकाले उनको नाम अगाडि छ ।’ इमेलमा दाबी गरिएजस्तो शाहको नाम मन्त्रीको लागि कसले नाम अगाडि सार्यो, त्यसको अत्तोपत्तो छैन । तर उनले आफू नै मन्त्रीको लागि उपयुक्त पात्र भएको दाबीसँगै प्रचार भने गरेका छन् ।
उता पाइलट विजय लामालाई पनि आगामी पर्यटन मन्त्री भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको छ । लामा स्वयम्ले आफूलाई मन्त्री बन्नको लागि अफर आएको दाबी गरेका छन् । तर उनलाई कसले अफर गर्यो, त्यो भने खुलेको छैन ।
गायक राजेश पायल राईले पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै आफूलाई सामाजिक सञ्जालमार्फत् सञ्चार वा पर्यटन मन्त्रालय मागेका थिए । ‘जेनजी भाइबहिनीहरु, मलाई सञ्चार र पर्यटन मन्त्रालय सम्हाल्न दिनुस्’, उनले भनेका थिए, ‘म भन्दा धेरै विदेश कोही पुगेको छैन, यो मेरो दावा हो, मलाई थाहा छ पर्यटन र संगीतको विकास ।’
त्यस्तै, सञ्चार उद्यमी जनकराज पन्तले सञ्चारमन्त्री बन्न प्रचारबाजी गरेका छन् । टिभी टुडेको अध्यक्ष समेत रहेका उनले सञ्चारमन्त्री बन्न आफूभन्दा अरु कोही पात्र उपयुक्त नरहेको दाबी गर्दै आएका छन् ।
जेन जीहरुको ध्वंसरुपी आन्दोलनलाई फ्रि टिबेट मुभमेन्ट, निर्वासित तिब्बती धार्मिक नेता दलाइ लामा, पश्चिमा शक्ति राष्ट्र र विभिन्न आइएनजीओको सहयोग रहेको तथ्यहरु बाहिरिएको छ । सोही कारण पनि कतिपयले मन्त्री बन्न गरिएको प्रस्तावलाई ठाडै अस्वीकार गरेको अवस्था अर्कोतिर छ ।
टिप्पणीहरू