श्रृंखलाको घर डढाउनेसँग यी दुई सुन्दरी

श्रृंखलाको घर डढाउनेसँग यी दुई सुन्दरी

कलाकारलाई समाजको ऐना मानिन्छ । उनीहरूको स–साना गतिविधिले नागरिक (दर्शक) लाई ठूलो प्रभाव पारेको हुन्छ तर केही ‘सेलिब्रिटी’ले जेनजी आन्दोलनका नाममा कतिसम्म निकृष्ट र अपराधयुक्त हर्कत देखाएका छन्, त्यो भनिसाध्य छैन । सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न सक्रिय देखिएका तिनीहरूलाई ‘कलाकार’ मान्दै आएकोमा यतिबेला दर्शकहरूले पछुतो मानिरहेको अवस्था छ । अराजक युवाहरूलाई संयमतापूर्वक मार्गनिर्देश गर्नुपर्नेमा उल्टै भीड उक्साएर विध्वंश मच्चाउने कार्यमा संलग्न कथित सेलिब्रिटीहरू को–को होलान् ? आम दर्शक र स्रोताले राम्ररी चिन्नैपर्ने भएको छ । 

भदौ २४ गते भक्तपुरदेखि काठमाडौँसम्म विभिन्न नेताको घरमा आगो लगाउँदै हिँड्ने कार्यमा सक्रिय देखिएका कलाकार हुन्– कमेडियन अपूर्व क्षितिज सिंह । युवापुस्तामाझ निकै लोकप्रिय उनी स्ट्याण्डअप कमेडी गर्छन् । चार्टर्ड अकाउन्टेन्ट (सिए) पढेका हुन् तर उनको सोच र मानसिकता अपराधपूर्ण रहेको भदौ २४ गतेको घटनाबाट पुष्टि भएको छ । 

पूर्वसञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाको जडीबुटीस्थित घरमा सबैभन्दा पहिला आगो झोस्ने योजना उनै क्षितिजले बनाएका हुन् । गत मंगलबार बिहान साढे नौ बजेतिर अराजक युवाहरूको समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोड र आगजनी गरेको विषय सार्वजनिक भएलगत्तै उनले पनि आफ्नो फेसबुक पेजमार्फत् एउटा भिडियो सन्देश जारी गर्दै बाँस्कोटाको घर जलाउन आह्वान गरेका थिए । भनेका थिए, ‘केटा हो, कोही छ भने छिटो लोकन्थली आऊँ, यो गोकुल बाँस्कोटाको घर हो (देखाउँदै) । म आइपुगिसकेको छु, यसलाई पनि बाँकी राख्नुहुन्न ।’ त्यसको करिब एक घण्टापछि अन्ततः बाँस्कोटाको घरमा आगो दनदनी बल्यो र क्षणभरमै खरानी भयो । 

यसरी सिंहले बाँस्कोटाको घरलाई टार्गेट गरेर आगो लगाउन किन भीड जम्मा गरे होलान् ? कारण थाहा पाउन ०७५ सालको एउटा घटना बुझ्नुपर्ने हुन्छ । त्यतिबेला बाँस्कोटा सञ्चारमन्त्री थिए । बाँस्कोटाकै निर्देशनमा नेपालमा यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिबन्ध लाग्यो तर उक्त विषयलाई क्षितिजले कमेडीको कन्टेन्ट बनाएर उडाए । पोर्न साइट बन्द गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध क्षितिजले मजाक गरेपछि बाँस्कोटालाई पनि चित्त बुझेन । र, संयन्त्रमार्फत् स्पष्टीकरण सोधिएको बताइन्छ । त्यसयता सिंहले बाँस्कोटामाथि झन् विभिन्न प्ल्याटफर्ममार्फत आक्रोश पोख्दै आए । ०७९ मा नेवाः समुदायलाई चोट पु¥याउनेगरी भद्दा कमेडी कन्टेन्ट बनाउँदा पनि विवादमा तानिए । प्रहरी हिरासत हुँदै उनलाई अदालतसम्म पु¥याइयो । दोषी ठहर भएपछि १० हजार जरिवाना तिरेर रिहा भएका हुन् । त्योबेला बाँस्कोटाले नेवाः समुदायप्रति ऐक्यबद्धता जनाएका थिए । अर्थात, बाँस्कोटा आफूविरुद्ध उभिएको सिंहको ठहर थियो । यसरी बाँस्कोटामाथि आक्रोश संगाल्दै जाँदा सिंह कतिसम्मको अपराधी र हिंस्रक बने, घर जलाउन गरेको पछिल्लो आह्वानबाट पुष्टि हुन्छ । यद्यपि, अहिले उनले आफ्नो फेसबुक अकाउन्ट नै डिएक्टिभेट गरेको देखिन्छ । 

मोडल तथा मिस नेपाल २०२५ की निर्णायक प्रिया सिग्देलमाथि पनि इगो साँध्न पूर्व मीस नेपाल श्रृंखला खतिवडाको माइती (हेटौंडा) र घर (काठमाडौं) जलाएको गम्भीर आरोप लागेको छ । घटनाक्रम र केही तथ्यले समेत उक्त आरोपलाई बल पुर्‍याएको हो । प्रिया जेनजी आन्दोलनको प्रमुख स्टेक होल्डर दाबी गर्ने ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थासँग निकट मानिन्छिन् । प्राप्त तस्बिरमा समेत उक्त गैरसरकारी संस्थाको कोर टिमको बैठकमा उनको सहभागिता रहेको देखिन्छ ।

यहाँ बुझ्नुपर्ने के छ भने श्रृंखलाले सन् २०१८ मा मीस नेपालको ताज पहिरिँदै गर्दा प्रिया पहिलो रनरअप थिइन् । आफूले पाउनुपर्ने ताज श्रृंखलाले खोसेको बुझाइसहित कतै प्रियाले इगो साँध्नका लागि घर जलाउन युवाहरूलाई उक्साएकी त होइनन् ? आशंका पैदा भएको छ । गत सोमबार र मंगलबार राजधानीमा आन्दोलन चर्किनुअघि उनले युवाहरूलाई प्रदर्शनमा उत्रिन आह्वान गर्दै थुप्रै भिडियो फेसबुकमा राखेकी छन् । श्रृंखलाको घर जलाउनेहरू को को हुन्, त्यो विस्तारै छानविन र अनुसन्धानबाट खुल्ने नै छ । तर प्रियाको भूमिका पनि शंकास्पद रहेको चर्चा मनोरञ्जनवृत्तमा व्यापक सुनिन थालेको छ । 

श्रृंखलाको घर जलाउनमा मीस नेपाल २०१८ कै अर्की प्रतिस्पर्धी मनिता देवकोटाको भूमिका पनि शंकास्पद देखिएको छ । उनी हामी नेपालको कोर टिमकी सदस्य हुन् । प्रियाले मीस नेपाल अर्थको उपाधी पाउँदा मनिता मीस युनिभर्स बनेकी थिइन् । एउटै संस्करणको प्रतिस्पर्धी हुनु, मीस नेपालको उपाधी जितेकी श्रृखंलाको घर जल्नु तथा क्रमशः पहिलो रनरअप र दोस्रो रनर अप भएका प्रिया र मनिता कोर टिमको सदस्य हुनुले घटनालाई थप रहस्यमय बनाएको छ ।
भदौ २४ गतेकै दिन संसद भवन जलाउन युवाहरूलाई उक्साउने अर्की कलाकार हुन्, मोडल तथा अभिनेत्री सञ्चिता शाही ।

दर्जनौं म्युजिक भिडियो र टेलिसिरियलमा अभिनय गर्दै आएकी उनी युवापुस्तामाझ लोकप्रिय छिन् तर त्यही लोकप्रियताको लोभमा कतिसम्म गैरजिम्मेवार र अपराधपूर्ण हर्कत देखाएकी छन् भन्ने सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियोले पुष्टि गरिसकेको छ । यदि, उनी जिम्मेवार कलाकार हुन्थिन् भने संसद भवनमा युवाहरूले आगो झोसिरहँदा रोक्न प्रयास गर्थिन् तर उनले आगो झोसिरहँदा टिकटक बनाउन व्यस्त भइन् । युवाहरूले संसद भवनबाट ऐतिहासिक मूर्ति चोर्दै गर्दा त्यसको मतियार बनिन् । ताली बजाएर ‘सही हो’ भनिन् । उनलाई आदर्श मान्ने त्यहाँ थुप्रै युवा देखिन्छन् तर सञ्चिताले मुलुकको सम्पत्ति आगोले खरानी हुँदा हाँसेर देखाएको हर्कत माफीलायक देखिँदैन । 

यीबाहेक आफूलाई ‘सेलिब्रेटी’ ठान्ने केही टिकटकरको समेत तोडफोड र आगजनीमा शंकास्पद भूमिका देखिएको छ । छानविन र अनुसन्धानको क्रममा आफ्नै मुलुक खरानी पार्न खोज्ने तिनीहरूको पहिचान हुने नै छ । तर सामाजिक सञ्जालबाट सेलिब्रेटी बनेका केही कलाकारको असली पहिचान यतिबेला सामाजिक सञ्जालबाटै खुल्न थालेको छ ।

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू