पार्टीमा क्रमभंग गर्न प्रचण्ड तयार

पार्टीमा क्रमभंग गर्न प्रचण्ड तयार

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी फरक धातुले बनेका मान्छेहरूको पार्टी भएको दाबी गर्नुभएको छ । 

संविधान दिवसको अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँको यो भनाइ आएको हो । माओवादी केन्द्रले विगतमा थुप्रै कमी कमजोरी गरे पनि आत्मसमीक्षा गर्दै सुधारको बाटो लिएको पनि प्रचण्डले बताउनुभयो । 

‘कम्तीमा पनि इतिहास र वर्तमानको समीक्षा गरेर हेर्दा माओवादी केन्द्रले बिचमा कमजोरीहरू गरेको स्वीकार्छ तर हामी फरक छौँ, अरू जस्तै होइनौँ’, भन्नुभयो, ‘साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अरू जस्तै हो भन्ने भाष्य बनाउन खोजे पनि त्यो सत्य होइन ।’

अहिलेको जनभावना कसरी सम्बोधन गर्ने भन्नेबारे नेतृत्व सजग रहेको खुलाउँदै प्रचण्डले आवश्यक परे जस्तोसुकै क्रमभंग गर्न तयार रहने स्पष्ट पार्नुभयो । 

'के गरी जनभावना सम्बोधन गर्ने भन्नेकुरा नेतृत्व, तपाईं हामीलाई थाहा छ। निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ,’ प्रचण्डले भन्नुभयो ।

अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो कोर्न सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । 

‘हामी उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्नेछौँ । संविधानमार्फत स्थायित्व र विकासका लागि आवश्यक संशोधन गर्ने तयारीमा पनि छौँ । आगामी निर्वाचनको वातावरण बनाउन सबैले मेहनत गर्नुपर्छ', प्रचण्डको प्रतिवद्धता छ ।

टिप्पणीहरू