संविधान दिवस : संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसर

संविधान दिवस : संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसर

प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जनताको आवाज सुन्ने प्रणाली नै लोकतन्त्रको आत्मा भएको उल्लेख गर्नुभयो । 

उहाँले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै सुधारसहित अघि बढ्ने सङ्कल्पसमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई कार्यान्वयनमा आएको नेपालको संविधान नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनको प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको स्पष्ट पार्नुभयो ।

हालैको आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको परिणामका रूपमा व्याख्या गर्दै उहाँले लोकतन्त्र भनेको संवाद र समाधान खोज्ने प्रणाली भएकाले सरकार जनताको आवाज सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले आफू अन्तरिम व्यवस्थापनका लागि प्रधानमन्त्री बनेको उल्लेख गर्दै छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभ र क्षतिको पुनर्निर्माणमा हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो । साथै, सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी र विकासलाई राष्ट्रिय एजेन्डा मानी काम गर्ने संकल्प पनि व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू