स्पष्टीकरणका लागि मुख्यमन्त्रीलाई तीन दिन
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीले दिएको निर्देशन पालना गर्न अटेर गरेपछि उनलाई तीन दिने स्पष्टीकरण सोधिएको हो ।
पार्टीका केन्द्रीय अनुशासन समितिका संयोजक इञ्जिनियर नरेन्द्रप्रसाद चौधरीले आज एउटा पत्र पठाउँदै प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्यबाट हटाउन नपर्ने कारणसहित स्पष्टीकरण पेश गर्न भनेका छन् । अन्य पार्टीको संलग्नतामा सिंहले आफ्नो पार्टीको छविमाथि आँच पुर्याउने काम गरेको चौधरीको ठहर छ ।
‘पार्टीको छविलाई आँच पुर्याएकोले जनमत पार्टीको विधानको धारा ३९(क) को उपधारा १,२,३,४,६,१०,११,१२,१५ साथै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को धारा १८ तथा सोही ऐनको धारा २८(३) र धारा ३२(२) बमोजिम तपाईँलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन कारबाही नहुनुपर्ने हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ’,पत्रमा उल्लेख छ ।
पार्टीले उनीसहित मधेश प्रदेश सरकारमा भएका आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएपछि मुख्यमन्त्री सिंहले फेसबुकमार्फत् पद छोडेको घोषणा गरेका थिए । तर, उनले आफ्नो स्ट्याट्सको अवहेलना गर्दै राजीनामा फिर्ता लिएका हुन् ।
टिप्पणीहरू