संसद भंग भएकोमा सभामुख असन्तुष्ट
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।
आज संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गरेपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो । प्रतिनिधि सभा विघटन नगरी मौजुदा संसदबाटै समाधान खोजिनुपर्नेमा त्यस्तो हुन नसकेको घिमिरेको भनाइ रह्यो ।
जेन–जी पुस्ताको आन्दोलनको उद्देश्य राम्रोसँग अध्ययन गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । यसक्रममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै सभामुखले एकआपसमा मिलेर मुलुकलाई ठिक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
‘यो आन्दोलन के हो ? गर्न खोजेको के हो ? सबैकुराहरु राम्रैगरी अध्ययन गर्नुपर्छ । हामीले जे व्यहोरिरहेका छौं त्यो ज्यादै दुःखद् कुरा हो । यसबाट उठेर ठिक ढंगले अगाडि जानुपर्ने हामी सबैको दायित्व छ । यो बेलामा सबै लागौं’, उहाँले भन्नुभयो, ‘यी सबै दुर्घटनाहरु नहुनुपर्थ्यो । मुलुकमा व्याप्त समस्याहरुलाई अलिक राम्रो ढंगले समाधान गर्न बाटाहरु खोज्न सकिन्थ्यो होला । त्यो हुन सकेन । प्रतिनिधि सभा विघटन नगरीकन यसैबाट समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।’
सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना पनि व्यक्त गर्नुभयो ।
टिप्पणीहरू