डेरा खोज्दै हिँडेका नेतालाई भाडामा घर दिन आनाकानी

डेरा खोज्दै हिँडेका नेतालाई भाडामा घर दिन आनाकानी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निवासका लागि भाडाको घर खोज्न थालिएको छ । जेन–जीको नाममा भदौ २४ गते भएको ध्वंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले भण्डारीको हात्तिगौंडा, भंगालस्थित निजी निवासमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । 

घर पूर्णरुपले ध्वस्त भएपछि सहयोगीहरुले सहुलियत भाडामा नयाँ घर खोज्न थालेका हुन् । स्रोतका अनुसार नयाँ बानेश्वर र बालुवाटार क्षेत्रमा उपयुक्त घर खोजिँदैछ ।

पूर्व राष्ट्रपति भण्डारी अहिले छोरीको घरमा रहनुभएको बुझिएको छ । २४ गते अराजक जत्थाले नेताहरुलाई छानीछानी आक्रमण गर्न थालेपछि नेपाली सेनाले उहाँलाई उद्धार गरी ब्यारेकमा पुर्याएको थियो ।     

प्रदर्शनकारीले भण्डारीको घरमा आगो झोस्दै गर्दा सुरक्षाकर्मी निरीह बनेको स्रोतको विश्लेषण छ । ‘उहाँको घरमा भित्र र बाहिर गरेर २० जनाजति सुरक्षाकर्मी थिए, उनीहरुले एक दुई राउण्ड गोली चलाएको भए भीड रोकिनसक्थ्यो’, स्रोत थप्छ, ‘तर सुरक्षाकर्मीले माथिको आदेश छैन भन्दै प्रदर्शनकारीलाई भित्र छिर्न दिए ।’

अहिले भण्डारीको घर खण्डहरमा परिणत भएको छ । ‘इट्टाबाहेक केही बाँकी छैन, सबै खरानी भएको छ, अब कहाँ बस्ने भनेर सल्लाह गरिरहेका छौँ, नयाँ घर भेटिएपछि उहाँ आउनुहुन्छ’, निकट स्रोतले जनआस्थालाई सुनायो । 

घर खोज्दै गर्दा कतिपय व्यक्तिले भाडामा दिन हिच्किचाएको समेत बुझिएको छ । ‘दुई चार ठाउँ पुगेर कुरा गर्यौ, तर घर दिन आनाकानी गर्नुभयो’, एमाले केन्द्रीय सदस्यसमेत रहेको स्रोतले भन्यो, ‘अस्तिको घटनापछि नेता बसेकै घर जलाइदिँदा रहेछन् भन्ने बुझाई रहेछ, नेता हुनु पनि पाप जस्तो भयो !’

उता, एमाले अध्यक्ष केपी शर्मा ओलीको लागि पनि नयाँ घर खोजि भैरहेको बुझिएको छ । प्रदर्शनकारीले उहाँको झापा र बालकोटस्थित घरमा आगो लगाएका थिए ।

२४ गते दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएर सैनिक हेलिकोप्टरमा भागेपछि ओली सेनाको ब्यारेकमा रहनुभएको बताइएको छ । तर, सुरक्षाका कारण अहिलेसम्म स्थान भने खुलाइएको छैन ।

 

टिप्पणीहरू