चोरिएका सुनचाँदी बजारमा छ्याप्छ्याप्ती

चोरिएका सुनचाँदी बजारमा छ्याप्छ्याप्ती

काठमाडौं प्रहरीले बिना बिल बीजकको सुनचाँदी नकिन्न आग्रह गरेको छ । जेन–जी आन्दोलनको मौका छोपेर लुटिएका गरगहना बिक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउनसक्ने जनाउँदै प्रहरीले यस्तो अनुरोध गरेको हो । 

जिल्ला प्रहरी परिसरले एक सूचना जारी गर्दै बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न व्यवसायीहरुलाई भनेको छ । त्यस्तो कुनै सूचना प्राप्त भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ । 

‘प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न स्थानमा रहेका सरकारी कार्यालय, बैंक वित्तिय संस्था, व्यापारिक प्रतिष्ठानलगायत व्यक्तिगत घर, भवनमा समेत आगजनी, तोडफोड गर्ने समूहले बहुमुल्य गरगहना, सरसामान (सुन, चाँदी, हिराजवारत) चोरी लुटपाट गरी लगेको विवरण प्राप्त भइरहेकोले उक्त अपराधिक समूहले लुटिएका गरगहना बिक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउनसक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरिद नगर्नहुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्नहुन जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

सूचनाको अवज्ञा गरेर त्यस्ता सुनचाँदी किनेको पाइएमा प्रचलित कानूनबमोजिम भइजाने प्रहरीको चेतावनी छ । साथै, त्यस्ता सामान प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १०० वा परिसरको मोबाइल नम्बर ९८५१२८३०१२ मा सम्पर्क गर्न भनिएको छ ।

टिप्पणीहरू