अरू पार्टीप्रति बाबुरामलाई आशंका

अरू पार्टीप्रति बाबुरामलाई आशंका

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिनुभएको छ ।

बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने भनाइ उहाँले राख्नुभयो । लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्ननहुने बाबुरामको भनाइ छ । 

‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन । निश्चित मितिमै चुनाव गर्नुपर्छ । त्यसको निम्ति दलहरु चाहिन्छन्’, उहाँले भन्नुभयो ।

फागुन २१ गतेको मध्यावधि चुनाव तोकिएकै मितिमा सम्पन्न गराउन सबै राजनीतिक दलहरुले भूमिका खेल्नुपर्नेमा पनि बाबुरामले जोड दिनुभएको छ । पुराना दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा भने उहाँले आशंका जनाउनुभयो ।

पुराना पार्टीहरुमा अझै पनि पुराना नेताहरुकै उकुसमुकुस रहेको टिप्पणी उहाँले गर्नुभएको छ । यद्यपि डाक्टर बाबुराम पनि एउटा पार्टीको नेतृत्व गरिरहेका पुरानै पुस्ताका नेता हुनुहुन्छ । जेन-जी आन्दोलनका नाममा मच्याईएको विध्वंसमा अन्य नेताको जस्तै उहाँको पनि घर जलेको थियो । 

आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनः संरचना हुनुपर्ने जरुरी देखिएको डाक्टर बाबुरामले उल्लेख गर्नुभयो । २८ वर्ष भन्दा मुनिका युवाहरुले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको जिकिर उहाँको छ ।

 

टिप्पणीहरू