अन्तरिम प्रधानमन्त्रीसमक्ष महानिर्देशकविरुद्धको उजुरी, अख्तियार र मुख्यसचिवलाई बोधार्थ

अन्तरिम प्रधानमन्त्रीसमक्ष महानिर्देशकविरुद्धको उजुरी, अख्तियार र मुख्यसचिवलाई बोधार्थ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । उनलाई तत्काल निलम्बन गरेर पक्राउ गर्न अनुरोध गर्दै प्राधिकरणकै जेन–जी समूह कर्मचारीको नामबाट हालिएको उजुरीमा हालसम्म उनीबाट भए गरेका सबैजसो बदमासी उल्लेख गरिएको छ ।

उजुरीकर्ताले उनको आईसीएओ एसम्ब्ली र त्यसपछिको अमेरिका भ्रमण रद्द गर्न, उनको परिवारको नाममा भएको भनिएको अर्बौंकोे सम्पत्ति जफत गर्न, उनलाई सघाउने पदाधिकारीहरुलाई तत्काल राजनीतिक, कानुनी र कारबाही गर्न, भिसा, पासपोर्ट र विदेश भ्रमणसम्बन्धी कागजातहरुको छानबिन गर्न माग गरेका हुन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा उनीमाथि १८ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेको उल्लेख गर्दै उजुरीकर्ताले तत्कालीन सांसद राजेन्द्र लिङ्देन नेतृत्वको छानबिन समितिले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्दापनि कारबाही नभएको गुनासो अन्तरिम प्रधानमन्त्रीसमक्ष पोखेका छन् । 

दर्ता नम्बर १ रहेको उजुरीपत्रमा भनिएको छ,‘तत्कालीन सांसद् राजेन्द्र लिङ्देन नेतृत्वको छानबिन समितिले भ्रष्टाचार करार गर्दै तत्कालीन सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि निर्देशन दिएको थियो । तर, यति समय बितिसक्दा पनि केही कारबाही हुन सकेको छैन ।’

उनले विभिन्न ठाउँमा एकपछि अर्को विमानस्थल र हेलिपोर्ट निर्माण गर्नुको उद्देश्य भ्रष्टाचार मात्र भएको उजुरीकर्ताको ठहर छ । ४५ अर्ब खर्चेर बनाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १२ अर्ब रुपैयाँ भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

२० करोड खर्चेर बनाइएको मनाङ विमानस्थल र २८ करोड लागतको डोल्पाको मसिनेचौर विमानस्थलमा पनि भ्रष्टाचार भएको आरोप अधिकारीले खेप्दै आएका छन् । तर दुवै विमानस्थलमा जहाज अवतरण हुन सकेको छैन । उता, मानव बस्तीको बीचमा निर्माण गरिएको भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्टमा उडान ठप्प छ । व्यवसायिक उडानका लागि भनेर २५ करोड रुपैयाँ खर्च गरेर बनाइएको हेलिपोर्ट यतिखेर ‘सेतो हात्ती’ जस्तै बनेको उजुरीकर्ताको भनाइ छ । 

त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा कामै नगरी ४० करोड स्वाहा पारिएको, १८ अर्बमा ठेक्का दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा पाँच अर्बभन्दा बढी भ्रष्टाचार भएको दाबी गरिएको छ । भ्रष्टाचारका लागि जथाभावी विमानस्थल निर्माण गर्दा नाफामा रहेको प्राधिकरण ऋणको भारीले थिचिएको र टाट पल्टिने अवस्थामा पुगेको प्रधानमन्त्री कार्कीलाई उजुरीमा जानकारी गराइएको छ ।

२२ सेप्टेम्बरदेखि क्यानडामा हुन लागेको आईसीएओको ४२ औं अधिवेशनमा निवर्तमान पर्यटनमन्त्री बद्री पाण्डे र उनकी श्रीमती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोल दम्पती, अधिकारी सपत्नीसहित, उपमहानिर्देशक हंसराज पाण्डे र श्रीमती, देवचन्द्रलाल कर्ण, उपनिर्देशक चादमाला श्रेष्ठ र उनका श्रीमानलगायत जम्बो टोली जान लागेको सन्दर्भलाई पनि उजुरीकर्ताले उठाएका छन् ।

भनिन्छ, ‘जबकि, भ्रमणमा एक जना सेफ्टी म्यानेजरको मात्रै उपस्थिती हुनुपर्ने हो ।’ क्यानडापछि उनीहरुको अमेरिका घुमघाम गर्ने कार्यक्रम रहेको बताइन्छ । उनले अर्बौंको ठेक्का ‘ओभर स्टिमेट’ गरी आफ्नै लगानी रहेको कम्पनीलाई दिएको, हुण्डीमार्फत अमेरिका, हङकङ, जापान, कम्बोडियालगायतका मुलुकमा अवैध लगानी गरेको गम्भीर आरोप उजुरीकर्ताको छ । 

प्रधानमन्त्री कार्यालयमा दर्ता गरिएको उजुरीको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र मुख्यसचिव एकनारायण अर्याललाईसमेत दिइएको देखिन्छ ।

टिप्पणीहरू