बालेन टोलीद्वारा हाकिम हट्न दबाब
काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हटाउने खेल फेरि शुरु भएको छ ।
स्रोतका अनुसार मेयर बालेन्द्र साहका सल्लाहकार सुनिल लम्सालको टोलीले हिजो प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भेटेर राजीनामा दिन घुमाउरो दबाब दिएको हो । गुरागाईं विगत लामो समयदेखि मेयर बालेन्द्र साहको दपेटाईमा पर्दै आएका छन् ।
बताइएअनुसार हिजो अपराह्न साढे ३ बजेतिर सुनिल प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा छिरेका थिए । उनले केहीबेर गोप्य कुरा गरेपछि महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको प्रहरी पनि पुगेको थियो । त्यसक्रममा उनीहरुले गुरागाईंलाई पद छोड्न चेतावनीयुक्त आग्रह गरेका हुन् ।
मेयर बालेन्द्र र प्रशासकीय अधिकृत गुरागाईंबीच भ्यू टावर प्रकरणपछि टसल शुरु भएको हो । पुरानो बसपार्कमा बन्दै गरेको अत्याधुनिक तथा सुविधासम्पन्न भ्यू टावर निर्माणमा ठेकेदारसँग मिलेर बदमासी गरेको आरोप थोपरेर बालेन्द्रले गुरागाईंलाई निलम्बन गरेपछि विवाद थप चर्कियो । महानगरले यसबारे छानविन समिति समेत बनाएको थियो ।
तर, संघीय सरकारले नयाँ प्रशासकीय अधिकृत पठाएन । जसका कारण लामो समय महानगर हाकिमविहीन हुन पुग्यो । यसैबीच विवाद किनारा नलाग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै त्यहाँ पठाउने निर्णय गर्यो । तनावपूर्ण र असहज परिस्थितिका बीच उनी कार्यालय फर्किएका थिए त्यतिबेला ।
यता, आफू अनुकूल हाकिम ल्याउने प्रयासमा संघीय सरकार बाधक बनेपछि मेयर बालेन्द्र आक्रोशित हुनु स्वभाविकै थियो । तर, अर्को विकल्प नहुँदा पछि हट्न बाध्य भएका उनी अहिले देशको राजनीति आफ्नो हातमा आएपछि प्रशासकीय अधिकृत हटाएर बदला लिने मुडमा रहेको जानकारी स्रोतले दिएको छ ।
महानगरमा विज्ञ सल्लाहकारको नियुक्ति लिएका सुनिल लम्सालमाथि विभिन्न ठेक्कापट्टामा शंकाश्पद संलग्नता रहेको आरोप् लाग्दै आएको छ । दरबारमार्गको फुटपाथमा छापिएको मार्बल उप्काउने मेयरको विवादास्पद निर्णयमा पनि उनले भूमिकामाथि प्रश्न उठेको थियो ।
टिप्पणीहरू