स्वार्थको रोटी सेक्न ध्वंशहरुको भीडमा सहायक क्याम्पस प्रमुख

स्वार्थको रोटी सेक्न ध्वंशहरुको भीडमा सहायक क्याम्पस प्रमुख

जेन–जीको आवरणमा मुलुकभर आगो सल्काएर रमाएकाहरूले लमजुङ सदरमुकाम बेसीशहरलाई डढाउन खोजेपनि सफल हुन सकेनन् । तुलनात्मक रूपमा लमजुङमा न त घण्टी पार्टीको तागत छ, न माओवादीको बर्चश्व। । राजावादीहरूले ओली सरकार र यो प्रणालीकै विरुद्ध धावा बोलेपनि केही पञ्चायतकालीन बुढाबाहेक लमजुङमा प्रभाव शून्यप्राय छ। 

आन्दोलनमा घुसपैठ गरी भड्काउनेमा राप्रपा होस् वा उग्र अभिव्यक्ति दिएर चर्चामा आउने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका एमालेबाट बिच्किएका एकाध मान्छेबाहेक उनका समर्थकहरूको कुनै हैसियत देखिँदैन । तथापि, २४ गते बेसीशहरमा मोटरसाइकलको ठूला आवाज निकाल्दै केपी ओली र पृथ्वीसुब्बा गुरुङविरुद्ध नाराबाजी गरियो । बिहान पहिलो खेप बजार परिक्रमा गर्नेको भिड भने कम्ता थिएन। 

नाराजुलुसको नेतृत्वमा नेपाली कांग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिदेखि एमाले समर्थकहरुसम्म थिए । भोर्लेटारबाट प्रचण्ड माओवादी र राइनासबाट विप्लव माओवादीसहित घण्टी पार्टीका मान्छे पनि थपिए । बेसीशहर नगरपालिका गेटमा तैनाथ केही प्रहरीतर्फ भिडले आक्रमण गर्ने जसरी उफ्रिँदै नारा लगाए। नगरपालिका माथि आगो झोस्ने कुरा माओवादीतर्फबाट निस्केपनि कांग्रेसबाट निर्वाचित एक वडा अध्यक्ष र एमाले समर्थित युवाहरूले मालपोत कार्यालय, नापी कार्यालयसँगै रहेको नगरपालिकाको कार्यालयलाई आक्रमण हुन दिएनन्।

केपी ओली र पृथ्वीसुब्बा गुरुङविरुद्ध तुच्छ गाली–बेइज्जतीयुक्त प्लेकार्ड बोकेर नाराबाजी गर्दै बजार परिक्रमापछि एमाले पार्टी कार्यालय नजिकै भीमसेनस्थानमा कोणसभामा परिणत भएको थियो। त्यहाँ, विप्लवका एक जिल्ला नेताले एमाले कार्यालयमाथि आक्रमण गर्ने बल खोजिरहेका थिए, जसलाई प्रहरीका घुमुवाले उकासिरहेका थिए। अवाञ्छित गतिविधिमा पटकपटक मुछिँदै पनि हाकिमको आशीर्वाद पाएका ती घुमुवाले यसपटक अराजकता मच्चाउने योजना बनाए, तर सफल भएनन् । जिल्ला प्रशासन, नगरपालिका र विशेष गरी एमाले पार्टी कार्यालय लक्षित रहेको सूचना बाहिरिएपछि कांग्रेस–एमालेका कार्यकर्ता सजग बने । त्यसपछि लमजुङमा अप्रिय घटना हुन नपाएको हो ।

यही मौका छोपी सुनौलो भविष्य नामक सहकारी ठगीमा पक्राउ परेका मस्र्याङ्दी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा संस्थाका पूर्व अध्यक्ष नारायण सुयल र चीन भ्रमण सकेर फर्कंदा विमानस्थलमै पक्राउ परेका पूर्व कोषाध्यक्ष अरुणकान्त घिमिरेलाई हाजिर जमानीमा छाडिएको छ । सहकारीका ४६ जनाविरुद्ध रकम हिनामिनाको उजुरी परेपनि अन्य फरार छन्। कांग्रेसका नेता–कार्यकर्ता आबद्ध सो सहकारीको सञ्चालक समितिले नक्कली ऋणी बनाएर आफैंले कमसल धितो राखी कर्जा लिई नतिरेका कारण सहकारी डुबेको हो। 

सहकारी रजिस्ट्रारको कार्यालय पोखराले २०८१ असोज २९ गते छानबिन गरी ६ करोड ५४ लाख रुपैयाँ हिनामिना भएको ठहर गरेको थियो। सहकारी ठगी आरोपमा कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरि बराल, जिल्ला उपसभापति आनन्द घिमिरे, पूर्व अध्यक्ष हरिप्रसाद पौडेलसहित हालका अध्यक्ष फरार छन्। प्राप्त सूचनाअनुसार प्रहरीले हरि बराललाई पक्राउ गरेर पनि छाडिदिएको आरोप व्याप्त छ।

उता, जीर्ण जिल्ला कारागार लमजुङको गत असार २८ गते गेट नजिकैको पर्खाल भत्किँदा त्यहाँका १०९ कैदी–बन्दीलाई तनहुँ र पोखरा कारागार पठाइएको थियो। तनहुँ कारागार दमौलीमा ३१ जना कैदी–बन्दी र बाँकीलाई पोखरा पठाइएकोमा जेन–जी आन्दोलनका क्रममा यही भदौ २४ गते त्यहाँबाट कर्तव्य ज्यान, लागुऔषध, ज्यान मार्ने उद्योग, बलात्कार, चोरी–डकैती तथा बालविवाह जस्ता मुद्दाका फरार ३० जनालाई लमजुङ प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला कारागार तनहुँको जिम्मा लगाएको जनाएको छ। सहकारीका फरार अभियुक्तलाई पनि छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ।

— अञ्जनकुमार

टिप्पणीहरू