सुनचाँदी किनबेचमा सतर्कता अपनाउन आग्रह
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ग्राहकको पहिचान गरेर मात्र सुनचाँदी कारोबार गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ । जेन–जीले गरेको ध्वंशमा भएको लुटपाटलाई मध्यनजर गर्दै महासंघले यस्तो अनुरोध गरेको हो ।
आज सूचना जारी गर्दै महासंघले सुनचाँदी किनबेच गर्दा ग्राहकको प्रमाणिक परिचयपत्र र आवश्यक कागजात जाँच गरेर मात्र कारोबार गर्न भनिएको छ । कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकैको प्रहरी वा सुरक्षाकर्मीलाई जानकारी गराउन समेत महासंघले आग्रह गरेको छ ।
‘हालको परिस्थितिमा चोरी वा लुटपाट भएका सामग्रीहरू बजारमा आउनसक्ने सम्भावना उच्च भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ,’ सूचनामा उल्लेख छ ।
त्यस्तै, पसलको सुरक्षा सुनिश्चित भएपछि मात्र व्यवसाय सञ्चालन गर्न, बहुमूल्य गरगहनाको सुरक्षाका लागि सीसीटीभी, अर्लाम वा अन्य सुरक्षा उपकरण जडान गर्न, अपरिचित व्यक्तिलाई सजिलै पसल वा घरमा प्रवेश अनुमति नदिन, पसलमा अत्यधिक भीडभाड हुन नदिन पनि महासंघले व्यवसायीहरूलाई आग्रह गरेको छ ।
टिप्पणीहरू