आगामी निर्वाचनमा कम्युनिष्ट भनाउँदाहरुले कसरी मुख देखाउलान् ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहा छ अरुझैँ आफू पनि बिग्रिएको छु । त्यसैले उनले पार्टीका हरेक केन्द्रीय समितिका बैठकको सुरुवातमै भन्ने गरेका थिए, ‘हामी बिग्रिएका छौं, म बिग्रिएको छु, म गल्ती स्वीकार्छु,’ र आत्मालोचन गर्छन् ।
सुप्रिमोले बैठकको सुरुमै यति भनिसकेपछि आगोको ज्वालासमान आक्रोश लिएर प्रवेश गरेका कार्यकर्ताको आक्रोश स्वतः निभ्ने भइहाल्यो । उनीहरू जति आक्रोश पोख्नुपर्ने हो, त्यति नपोखी सभाहलबाट बाहिरिन्थे । प्रचण्डले सुरुमै माफी मागेपछि आफूमाथि आक्रमणको सम्भावना कम हुन्छ भन्ने उनलाई पहिल्यैदेखि थाहा थियो ।
तर सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भदौ २३ देखि देशव्यापी रूपमा सुरु भएको प्रदर्शन र झडपहरूमा भने प्रचण्ड जोगिए । भदौ २४ गते विपक्षी दलको बैठक डाक्दै सिंहदरबार पुगेका कारण उनी भौतिक आक्रमणबाट बच्न सफल भए । अन्यथा उनको अवस्था पनि कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती तत्कालीन परराष्ट्रमन्त्री आरजू राणाजस्तै हुने अनुमान गर्न सकिन्छ ।
सत्ता पक्ष तथा सरकारका प्रतिनिधिहरूद्वारा गरिएका शृंखलाबद्ध भ्रष्टाचारको विरोध र सरकारको नयाँ नियमअनुसार दर्ता नभएका प्रमुख सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि यो आन्दोलनरुपी विध्वंश देशव्यापी रूपमा फैलियो । विध्वंशको पहिलो दिन १९ जना युवाको मृत्यु भयो । भोलिपल्टदेखि नेताहरु सेनाको व्यारेकमै लुकेर ज्यान जोगाउन बाध्य भएका हुन् ।
विध्वंशमा देशका अधिकांश सरकारी संरचना, नेताका निजी निवास जलाइए, लुटपाट मच्चाइयो । तत्कालीन मन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरू अझै पनि ब्यारेकमै लुकेर बसेका छन् । केही भने आजदेखि बिस्तारै र डराउँदै समाजमा देखिन थालेका छन् ।
पछिल्लो देशव्यापी विध्वंशले प्रचण्ड र उनको परिवार, पार्टीभित्रको अवस्थालाई पनि सतहमा ल्याइदिएको छ । दशक लामो संघर्ष, बलिदान र युद्ध लडेका प्रचण्ड चर्को भाषणमा जति लोकतान्त्रिक गणतन्त्रको कुरा गर्छन्, पार्टीभित्र लोकतान्त्रिक पद्धति, विधि र सुशासन लगभग शून्य देखिन्छ ।
परिवारका सदस्यलाई पदका लागि नियुक्त गर्नु र राजकीय सुविधाको लागि काम गर्नु नै माओवादी पार्टीको संगठन कमजोर भएको हो भन्न सकिन्छ । त्यस्तै कार्यले जनताको आकर्षण घटेको मौकामा प्रचण्ड निवास खुमलटार र चितवनको घर खरानी बनाइएको छ । उनकी छोरी गंगा दाहालको ललितपुर, सुनाकोठीस्थित घर पनि गत साता ध्वस्त भएको छ ।
गंगाको घर जलाइनुको प्रमुख कारण उनी पिता प्रचण्डकी स्वकीय सचिव हुनु सजिलै अनुमान लगाउन सकिन्छ । उनीमाथि बुबा प्रचण्डले गर्ने विभिन्न कारोबारको संरक्षक रहेको धेरै माओवादी नेताको बुझाइ छ । यो घटनाले स्पष्ट पार्छ—नेता, मन्त्री वा सांसदले स्वकीय सचिवमा परिवारका सदस्य राखेको कारण पारदर्शिता र जिम्मेवारीमा समस्या आउएको हो । आन्दोलनको नाममा मच्चाइएको ध्वंशमा गंगाको घर ध्वस्त हुनु त्यसैको प्रतिफल रहेको मेरो निश्कर्ष हो ।
अर्कोतर्फ प्रचण्ड र उनका अनुयायीहरूले बाहिर क्रान्तिकारी भाषण गरे पनि व्यवहारमा सामन्ती शैली अपनाइएका धेरै उदाहरण छन् । कम्युुनिष्ट नेताको घरमा महंगा रक्सीका बोतल, पैसाको बिटो भेटिएको समाचारले धेरैको मथिंगल हल्लाइएदिएको छ । यस्तो अवस्थामा आगामी निर्वाचनमा कम्युनिष्ट भनाउँदाहरुले कसरी मुख देखाउलान् त्यो भने रोचक हुने छ ।
टिप्पणीहरू