अनुपस्थिति र उपस्थितिका संकेत
राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ लिएपछि आगजनीबाट ध्वस्त सिंहदरबार पुगेर मन्त्रालयमा पद बहालीसमेत गरेका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशकुमार राउतको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल सहभागी भएपनि सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको अनुपस्थिति थियो ।
प्रतिनिधिसभा विघटन र पदको संवैधानिक हैसियत
प्रतिनिधिसभा विघटन भएपनि सभामुख र उपसभामुखको पद संवैधानिकरूपमै यथावत रहन्छ । संविधानले सभामुखलाई आगामी आमनिर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दिन मात्र पद रिक्त भएको मान्ने व्यवस्था छ। संविधानबमोजिम उपसभामुखको हैसियत पनि सभामुखकै बराबर हुन्छ ।
तर प्रतिनिधिसभा विघटनपछि सभामुख र उपसभामुखको भूमिकालाई औपचारिक समारोह वा राजनीतिक प्रक्रियामा कसरी व्याख्या गर्ने भन्ने प्रश्न फेरि उठेको छ ।
अनुपस्थितिको राजनीतिक संकेत
प्रधानमन्त्री र मन्त्रीहरूको शपथ जस्तो उच्चतहको कार्यक्रममा सभामुख र उपसभामुख लगातार अनुपस्थित रहनुलाई सामान्य मान्न नसकिने बताइन्छ । यसलाई राजनीतिक संकेतको रूपमा हेर्नुपर्ने विश्लेषकहरुको मत छ । सम्भवतः उनीहरूको उपस्थिति भइदिएको अवस्थामा प्रतिनिधिसभाको पद संरचना अझै औपचारिक रूपमा कायम रहेको सन्देश जाने अर्काथरीको बुझाई छ ।
त्यसो त अनुपस्थितिले प्रतिनिधिसभा विघटनलाई स्वीकार्य बनाएको वा राजनीतिक असहजतालाई प्रकट गरेको भन्नेहरु पनि छन् ।
राष्ट्रिय सभाको भूमिका
प्रतिनिधिसभा विघटनपछि पनि राष्ट्रिय सभा यथावत छ। त्यसैले अध्यक्ष नारायण दाहालको उपस्थितिलाई स्वाभाविक मानिएको हो । यसले राज्य संरचनाको एउटा संवैधानिक अंगको निरन्तरतालाई देखाएको छ ।
टिप्पणीहरू