एमाले केन्द्रीय कार्यालय भग्नावशेषमा परिणत  (भिडियोसहित)

एमाले केन्द्रीय कार्यालय भग्नावशेषमा परिणत  (भिडियोसहित)

नेता-कार्यकर्ताको बाक्लो भीडभाड र आउजाउ भैरहने नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय यतिबेला भग्नावशेषमा परिणत भएको छ । जेन-जी प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण ध्वस्त भएको कार्यालय निकै टिठलाग्दो देखिन्छ ।

सत्ताको नेतृत्व गरिरहेको एमाले मुख्यालयमा अघिल्लो सातासम्म निकै चहलपहल थियो । हरेक दिन नेता-कार्यकर्ताको बाक्लो भीड लाग्थ्यो । विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई पुन: पार्टी सत्तामा फर्काउन बाटो खोल्ने निर्णय गरेको खुशियालीको माहोल पनि छँदैथियो ।

तर,विधान महाधिवेशनका प्रतिनिधि गाउँ फर्किन नभ्याउँदै एकाएक खुशी लुटियो । भदौ २४ गते मंगलबार जेन-जी आन्दोलनकारीले कार्यालय कब्जा गरेर तोडफोड र आगजनी गरेपछि अहिले कार्यालयको अवस्था टिठलाग्दो छ ।  

जल्न बाँकी फलामका संरचनाहरू कवाडी बटुल्नेहरूले सबै लिएर गए । बहुमूल्य बस्तु पाइने आसमा आएका केही व्यक्तिले खरानीसमेत छोडेनन् ।

सोमबार १९ जना युवा विद्यार्थीको मृत्यु भएसँगै आन्दोलनकारीको निशानामा परेको एमाले मुख्यालयमा मंगलबार आगो लगाइएको थियो । त्यहाँ रहेका महत्वपूर्ण कागजपत्र,टेबल,कुर्सी  दराजलगायतका सामग्री भष्म भएको छ । कार्यालय छेउमा रहेका केही सवारीसाधन पनि खरानी भएको छ । 

देशको नेतृत्व गरिरहेको पार्टीको केन्द्रीय कार्यालय क्षणभरमा ध्वस्त भयो । आगजनीपछि बाँकी रहेका केही सामानसमेत लुटियो । जल्न बाँकी फलामका संरचनाहरू कवाडी बटुल्नेहरूले सबै लिएर गए । बहुमूल्य बस्तु पाइने आसमा आएका केही व्यक्तिले खरानीसमेत छोडेनन् । 

हिजो झण्डा हाल्न गएका केन्द्रीय सदस्य रमेश पौडेलहरू कार्यालयमा भएकै बेला एउटा समूह कवाडी खोज्ने नाममा त्यहाँ पुगेको थियो । उनीहरुलाई लखेट्न खोज्दा झण्डै झडपको अवस्था निम्तिएको बताइएको छ । 

अहिले भने नेपाली सेनाले भग्नावशेषको सुरक्षा गरेको छ । कसैलाई पनि भित्र जान दिइएको छैन ।

टिप्पणीहरू