‘स्टण्ट’ देखाएर समाज कब्जा

‘स्टण्ट’ देखाएर समाज कब्जा

‘स्टण्टबाजी’ गर्नेहरूलाई वर्तमान समाजले एकदमै रुचाउँछ । सामाजिक सञ्जालमा जथाभावी लेख्ने, सरकारलाई गाली गर्ने, अरुको चरित्रहत्या गर्नेहरूले सबैतिरबाट वाहवाही बटुलिरहेका छन् । नागरिकदेखि जनप्रतिनिधिसम्मलाई कामभन्दा  ‘स्टण्टबाजी’ गर्ने हावाले छोएको छ । त्यसै सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह पनि पर्छन् । अहिलेका सबैभन्दा लोकप्रिय जनप्रतिनिधिमा गनिने उनी  ‘स्टण्टबाजी’ गर्नमा माहिर छन् । उनी कामले भन्दा फेसबुकमा गरेको टिप्पणीले बढी चर्चामा रहन्छन् । आफूलाई देशभक्त देखाउन कुनै कसर बाँकी राख्दैनन् । लिपुलेकमा भारत र चीनले गरेको व्यापारिक सम्झौताबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई घच्घचाउँदै उनले फेसबुकमा लेखेको स्ट्याटस बनेको छ । 

पोखरा घुमघाममा व्यस्त उनले प्रधानमन्त्री जहाज चढ्नै लाग्दा देशभक्ति देखाउँदै हत्तपत्त स्ट्याट्स पोस्ट गरेका हुन् । सांघाई सहयोग संगठन (एससीओ) को कार्यक्रममा सहभागी हुन भदौ १४ गते प्रधानमन्त्री ओली थ्यान्चिन जान लागेको विषय धेरै अगाडि नै सार्वजनिक भइसकेको थियो । त्यतिबेला उनलाई देशको याद आएन । फेवातालमा डुंगा चलाएरै फुर्सद भएन र उनले प्रधानमन्त्री चीन प्रस्थान गरेपछि मात्र सार्वभौमिकता सम्झँदै लेखे,  ‘चीन भ्रमणको शुभकामना । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला । अल द बेस्ट, हामीलाई तपाईँमाथि पूर्ण विश्वास छ ।’

हुन त बालेनले  ‘स्टण्ट’ देखाएको यो नै पहिलोपटक होइन । दुई वर्षअघि बुच्चे नक्सा सार्वजनिक गरेको निहुँमा चीनको पाँच दिने भ्रमण रद्द गरेका थिए । नेपालको सार्वभौमिकतामाथि आँच पुर्‍याएकाले भ्रमण रद्द गरेको भनी सामाजिक सञ्जालमा लेखेको भए पनि भित्री रहस्य भने अर्कै छ । श्रीमती सुत्केरी भएकाले भ्रमण स्थगित गरेका उनले सार्वभौमिकतालाई जोडेर ख्याति कमाए । अर्कोतिर, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर आफूले गृह मन्त्रालयको जिम्मा पाएमा ६ महिनाभित्रै कालापानी फर्काउने दावा पनि गरेका थिए । पत्रकारहरूसँगको भेटघाटमा श्रेष्ठले नै सो कुरा खुलाएका हुन् । कुर्सीपछाडि ग्रेटर नेपालको नक्सा राखेर पनि चर्चामा आए । यता, भारतीय चलचित्र  ‘आदिपुरुष’ को एउटा विवादित लाइनलाई लिएर काठमाडौंमा प्रदर्शन गर्न रोक लगाए । 

गरिबलाई लखेट्नु हलिउड फिल्म हो ? 

गत भदौ १४ गते काठमाडौं महानगर प्रहरी बलले आफ्नो ३३ औं स्थापना दिवस मनायो । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बालेनले महानगर प्रहरीको निकै तारिफ गरेर भने,  ‘नगरप्रहरीको काम हलिउड फिल्म हेरेजस्तो ।’ प्रश्न उठ्छ–कबाडी संकलकलाई लखेट्ने, सुकुम्बासी बस्ती, मकै पोल्ने, गरिबहरूको उठीबास लगाउने कार्य हलिउड फिल्म हेरेकोजस्तो हुन्छ ? गरिबको पीडा उनका लागि फिल्म हो ?
 

टिप्पणीहरू