प्रचण्डले मात्रै थामेको छ र याे देश !

प्रचण्डले मात्रै थामेको छ र याे देश !

नेकपा (माओवादी केन्द्र) भित्र गुट–उपगुट झा¨िएपश्चात् सो पार्टीका अध्यक्ष अत्यन्तै तनावग्रस्त देखिन्छन्् । जनार्दन शर्मा प्रभाकर तातेपछि प्रचण्डको पारो अझै बढेको देखिन्छ । प्रचण्ड कहिलेकाहीँ जग हँसाउँदै भन्छन्, ‘देशको खाँबो मेरै जिम्मामा छ भन्ने लाग्छ, कुनै कारणले छोडें भने देश नै ढल्छ कि भन्ने लाग्छ ।’ उनको यो भनाइलाई विरोधीले त उडाउने नै भए पार्टीमा फरक मत राख्ने जनार्दन शर्माले पनि खिसिट्युरीको रूपमा छेडखान गरेका छन् ।

हुन त यो गणतन्त्र बाघको छालामा स्यालको रजाइँ भएको छ । प्रचण्डको बुद्धिका कारण यस्तो भए जस्तो मलाई लाग्छ । प्रचण्डलाई म २०४७ देखि नै चिन्दछु । शान्तिकालमा आएपछि २०६३ असार ८ गते धनगढी पुगेर लेखराज भट्टको घरमा प्रचण्ड र बाबुरामको अन्तरवार्ता नरेन्द्रजङ्ग पिटरको सहजीकरणमार्फत लिने अवसर मिलेको थियो । त्यो कुराकानीमा भनिएअनुसारका काम भएको मैले देखेको छैन । म जस्तो केटोलाई त्यतिबेलै लागेको थियो– माओवादीको दश वर्षे जनयुद्ध उसको लागि मात्रै रहेछ ।

आफ्नो मातृपार्टीप्रतिको विकर्षण त्यही बेलादेखि लागेको हो । जिल्ला र गाउँमा अझै नेतालाई पत्याउँदैनन् । युद्ध लडेका भनिएकालाई ठोक्न र गोद्नबाहेक केही आउँदैन । साढे तीन दशकदेखि प्रचण्डलाई निरन्तर पढ्दै आएको छु । प्रचण्डले बोल्नै नहुने कुरा बोल्दा र जग हाँसेको देख्दा मन अझै कटक्क हुन्छ । पढ्दापढ्दै हाँस्छु, हाँस्दाहाँस्दै फेरि कन्सिरी तातेर आउँदा मनमनै उनलाई यही लेखबाटै आक्रमण गर्दै भन्छु – यो सबै तिम्रै बुद्धिका कारणले भएको हो । देशले दुःख पायो, हामी परदेशी हुन बाध्य भयौं । सेनापति चलाउनु, पशुपतिमा हात हाल्नु, बादललाई आफ्नो भरोसा ठान्नु र केपी ओलीसँग मिल्नु नै गम्भीर भूल हुन् । 

प्रचण्ड जति बोल्छन् उति बिग्रन्छ । जति नबोली काम गर्छन् उति सप्रन्छ । अब बुढेशकालमा नेताहरूलाई युज एण्ड थ्रोको सिद्धान्त काम लाग्ने छैन । प्रचण्ड एकीकृत पार्टी, साथमा जनसेना र हतियार हुँदा मात्रै चम्किएका हुन् । त्यो बेला अब छैन । तातो फलाम पिटेर हतियार नबनाएको जोखिम नै अहिले आएको हो र आइरहन्छ । अब त आफूलाई होइन देशलाई केन्द्रबिन्दुमा राखेर सोच्नुपर्छ । अझै राजनीति प्रचण्डको वरिपरि घुमिरहेको छ तर सल्लाहकार गतिला छैनन् । परिवारवाद हावी छ । प्रचण्ड आफैँं फनफनीमा छन् । रिंगटा चलेको बेला मान्छेले सही निर्णय लिन सक्दैन ।

प्रचण्डले बोल्नै नहुने कुरा बोल्दा र जग हाँसेको देख्दा मन अझै कटक्क हुन्छ ।  

समयले एक पटक जसलाई पनि साथ दिन्छ । पटकपटक समयले प्रचण्डलाई साथ दिँदा पनि समयलाई चिन्न नसक्नु नै प्रचण्डको गम्भीर कमजोरी भयो । अब नाक जोगाउन राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो सिद्धान्तहीन, न छेउ न टुप्पोका रवि लामिछानेलाई बारम्बार महत्व दिनु जरुरी हो त ?

भएभरका पार्टीहरूमा कहाँ किचलो छैन ? हामीले नेपाली कांग्रेस र नेकपा एमालेभित्र भएका गुट उपगुटबारे हेर्दै, सुन्दै आएका हौं । सदनभित्र रहेका ठूला पार्टीमा मात्र होइन, सदनबाहिर र भित्र रहेका साना पार्टीमा पनि झगडा छताछुल्ल छन् । भर्खरै उदाएका नागरिक उन्मुक्ति होस् वा जनमतभित्रका कुरा पढ्दा, सुन्दा र गम्दा अत्यन्तै निराशा लाग्छ । सदन बाहिर रहेका मोहन बैध्यको नेकपा क्रान्तिकारी, विप्लवको नेकपा र धर्मेन्द्र बाँस्तोलाको नेकपा बहुमतभित्र पनि झगडा छ । यस्तो बेला प्रचण्डले अन्टसन्ट नबोली, सत्तातिर आँखा नलगाई पार्टीभित्रको अन्तरविरोध हल गरे हुन्न ? विचार मिल्नेहरूमा घनघोर बहस चलाए हुन्न ? व्यक्तिवादी प्रवृत्ति त्यागेर प्रचण्डले कहिले विशाल छाती बनाउने ?

कम्युनिष्ट पार्टीभित्र लेनिनवादी संगठनात्मक पद्धति लागु गर्ने हो । दुई लाइनको संघर्ष र बहुमतका आधारमा निर्णय गर्ने, अल्पमतको सम्मान गर्ने, जनवादी केन्द्रीयता लागू गर्ने भनिन्छ । त्यो नेपालका कम्युनिष्टमा कहिल्यै लागु भएन । नेपालमा कम्युनिष्ट पार्टी एउटा पार्टी भएर मिल्न नसकेको हाम्रो इतिहास छ । २०१८ सालदेखि विभाजित कम्युनिष्ट पार्टी २०८२ सम्म आइपुग्दा धेरै पल्ट फुट्यो । आवश्यकता र बाध्यताले मात्रै जुट्यो । कहिलेकाहीँ परिस्थितिले बाध्यताबस एकता भएको देखिन्छ तर एकतालाई जोगाउन कहिल्यै सकिएन । भर्खरै नेकपा एकीकृत समाजवादी पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच तिक्तता उत्पन्न भएको देखियो । सुन्ने र देख्ने धेरैलाई नरमाइलो लाग्यो । खनालले पत्रकार सम्मेलन गरेर नेपालले पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने कुरा उठाउनु पनि पार्टी नीतिविपरीत हो । दोस्रो ठूलो कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको अधिनायकवाद भयो भनेर जनार्दन शर्मा कुर्लिने काम कसको उक्साहटमा भएको छ ? के कारणले यो परिस्थिति आयो ? बसेर छलफल गरे त भइगयो । हात्ती पार्टी एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई निषेध गरिनु जायज छ त ? कि नेपालको संविधानले रोकेको छ ? कि एमालेको विधानले ? 

नेमकिपाबाहेक धेरै कम्युनिष्ट पार्टी पटकपटक फुटेका छन् । गैरकम्युनिष्ट पार्टीमा पनि यो रोग छ । किन पार्टीहरू मिल्न सक्दैनन् ? हो, यही बेकारको बहसले नै नेपालको विकासले गति नलिएको हो । उठेका विवादलाई सही तरिकाले हल गर्न नसक्नु नै नेता र नेतृत्वको अक्षमता हो । त्यसैले त नेपाली युवा राजनीतिप्रति आकर्षित छैनन् । युवा पुस्ता साँच्चिकै निराश छन् । सबै नीतिको मूल नीति राजनीतिमा युवाको चासो र चिन्ता नभएपछि भोलि सही नेतृत्व कसरी स्थापित हुन्छ ?

 – बेलायत
 

टिप्पणीहरू