देश दुखेको कुरा गर्ने, पारीको स्कोर्पियोमा सुइँकिने

देश दुखेको कुरा गर्ने, पारीको स्कोर्पियोमा सुइँकिने

निश्चित जातिका व्यक्तिहरुको हातमा मात्रै शासन सत्ता रहेको भन्दै 'वन नेशन' विरुद्ध राष्ट्रिय आन्दोलन थाल्ने घोषणा गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले भारतीय नम्बर प्लेटको जीप चढेका छन् ।   

मधेसी र हिमाल–पहाडका आदिवासी जनजातिलाई समेटेर हालै नयाँ दल गठन गरेका महतो 'सबैका लागि सबैको राष्ट्र' बनाउने भन्दै हिँडेका छन् । यसै क्रममा काठमाडौँ केन्द्रित निर्णायक आन्दोलन गर्ने तयारीबारे जानकारी गराउन भारतीय स्कोरपियो चढेर आएका उनी कार्यक्रम सकिएपछि सोही जीपमा फर्किए । 

पत्रकार महासंघ मोरङको सभाहलमा हिजो दिउँसो आयोजित पत्रकार सम्मेलनमा महतोले राष्ट्र र राष्ट्रियता जोगाउने कुरा गरेका थिए । महतोले नेपालको संविधान २०७२ लाई त्रुटिपूर्ण बताउँदै यसले मधेसी,थारु,मुस्लिम, आदिवासी जनजातिलगायत सिमान्तकृत समुदायलाई अधिकारविहीन बनाएको आरोप लगाए । 

अमेरिकाले २५० र भारतले १७० वर्षमा एउटा संविधान बनाए पनि दुवै देश शक्तिशाली बनेको तर नेपालमा सात वटा संविधान बन्दा पनि देश उँभो लाग्न नसकेको पनि उनले भन्न भ्याए । सिमान्तकृत समुदायले अधिकार नपाएकै कारण राष्ट्र र राष्ट्रियता बलियो हुन नसकेको महतोको दाबी रह्यो । 

यसैले सीमित शासक वर्गविरुद्ध 'वन नेशन, वन थेउरी' सिद्धान्तका आधारमा निर्णायक आन्दोलन अपरिहार्य रहेकोमा उनले जोड दिएका थिए । महतोले वर्तमान शासन प्रणालीकै कारण देश युवाविहीन हुँदै गएको, लाखौँ मधेसी युवाले मजदूरीमै पसिना बगाइरहेनुपरेको भन्दै शासन प्रणालीविरुद्ध जेहाद छेडन ढिलो भैसकेको पनि दाबी गरे । 

पत्रकारमाझ भने, 'मधेसी र आदिवासी जनजाति अहिले देशभर जनजागरण अभियान चलाउँदै आन्दोलनका लागि साझा एजेन्डा बनाउन छलफलमा छौँ, चाँडै काठमाडौँ केन्द्रित आन्दोलन थाल्छौ ।’  

कार्यक्रम सक्नासाथ महतो भारतको विहार राज्यको नम्बर प्लेट भएको गाडी चढेर फर्किएपछि राष्ट्रियताका कुरा केवल देखाउने दाँत रहेछ भन्ने प्रष्टिएको छ ।

 

टिप्पणीहरू