प्रधानमन्त्री ओली हाइ–स्पिड रेल चढेर बेइजिङ
चीनको उत्तरी सहर थिएन्चिनमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि विदेशी नेताहरु चीनको हाइ–स्पिड रेलको यात्राबाट बेइजिङ पुगेका छन् । उनीहरु भोलि बिहान थिआनमेन स्क्वायरमा आयोजना गर्न लागिएको विजय दिवस परेडमा सहभागी हुन बेइजिङ पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो रेल चढेर बेइजिङ पुगेपछि रेल स्टेशनमा उहाँको स्वागत गरिएको छ । आज रेल चढेर बेइजिङ गएका अन्य विदेशी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुमा इरानका राष्ट्रपति मसउद पेझेस्कियन, आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यान, तुर्कमेनिस्तानका राष्ट्रपति गुरबाङगुली बेर्दीमोहामेदोभ, किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ र म्यानमारका कार्यवाहक राष्ट्रपति मिन आङ हलिङ हुन् ।

तर केही नेताहरु हिजो राति नै बेइजिङ पुगेको हङकङको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । बेलारुसका राष्ट्रपति अलेक्जान्द्र लुकासेन्को, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ, कजाकस्ताका राष्ट्रपति कासिम–जोमार्त टोकायेभ, उज्बेकिस्तानका राष्ट्रपति शव्कत मिर्जियोएभ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मंगोलियाका राष्ट्रपति खुरेलसुख उख्ना र ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमान रेलमार्गबाट हिजो राति त्यता गएका थिए ।
टिप्पणीहरू