सबै विलासिता कर उपभोक्ताको थाप्लोमा

सबै विलासिता कर उपभोक्ताको थाप्लोमा

सुनचाँदी, हिरा तथा बहुमूल्य गरगहनामा सरकारले लगाएको विलासिता शुल्क अब उपभोक्ताले मात्रै तिनुपर्ने छ । आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत सुनचाँदीमा २ प्रतिशत र हिरा तथा बहुमूल्य गहनामा १३ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको थि यो । सरकारले हालै नेपाल राजपत्रमा प्रकाशित गरेको नयाँ व्यवस्थाअनुसार अब एक तहमा मात्र शुल्क लाग्ने छ ।

सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार अबदेखि व्यवसायीहरुले विलासिता शुल्क तिर्नुपर्दैन । उपभोक्ताले मात्र तिर्नुपर्ने उक्त शुल्क सुन फिर्ता गर्दा वा बैंक, होलसेलर वा व्यवसायीबाट सुन खरिद गर्दा लाग्ने छैन । साथै, मर्मतका लागि ल्याएको गरगहनामा पनि विलासिता शुल्क नलाग्ने तर, सुन थप गरिएमा शुल्क तिर्नुपर्नेछ ।

महासंघले जारी गरेको विज्ञप्तिमा विदेशी स्रोतबाट ल्याएको सुनको प्रमाण अनुसार मात्र खरिद गर्न सकिनेछ । विलासिता शुल्क प्रत्येक महिनाको अन्त्यपछि अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्नेछ। गरगहना बनाउन कालिगढमा पठाउँदा र ल्याउँदा चलान बिल बनाउने र आन्तरिक राजस्व विभागको कार्यालयबाट प्रमाणित गराउनुपर्नेछ।

प्रत्येक कालिगढले प्यान नम्बर अनिवार्य लिनुपर्नेछ । प्यान नम्बर लिएका कालिगढलाई मात्र चलान बिल दिन र तयार गहना ओसारपसार गर्न अनुमति हुनेछ। भ्याटको हकमा, सबै प्रकारका पत्थरको बिक्रीमा ५० लाख रुपैयाँको थ्रेसहोल्ड कटेपछि मात्र दर्ता हुनुपर्नेछ। बिलबिना सुनका गरगहना खरिद नगर्न पनि महासंघले व्यवसायीहरुलाई निर्देशन दिएको छ।

टिप्पणीहरू