प्रिमियर लिगमा युनाइटेडको रोमाञ्चक जित

प्रिमियर लिगमा युनाइटेडको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३-२ गोलले हराउँदै युनाइटेडले लिगमा पहिलो जित दर्ता गरेको हो । युनाइटेडले तीन महिनापछि पहिलो जित हासिल गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र एमबेउमोले समान एक/एक गोल गरे । युनाइटेडले एक गोल उपहार पाएको हो । बर्नलीको लागि लिल फोस्टर र जाइडोन एन्थोनीले समान एक/एक गोल गरे । २७ औँ मिनेटमा जोश कुलेनले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा शुरूवाती अग्रता लिएको थियो ।

५५ औँ मिनेटमा फोस्टरले गोल गर्दै बर्नलीलाई खेलमा १-१ गोलको बराबरीमा ल्याए । दुई मिनेटपछि डालोटको पासमा एमबेउमोले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको अग्रता दिलाए । ६६ औँ मिनेटमा एन्थोनीले गोल गर्दै बर्नलीलाई फेरी २-२ गोलको बराबरीमा ल्याए । 

यस्तै बराबरीतर्फ लम्किएको खेलको दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३-२ गोलको जित दिलाएका हुन् । जितसँगै युनाइटेड तीन खेलबाट ४ अंक जोड्दै तालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंक जोडेको बर्नली १२ औँ स्थानमा रहेको छ । 

यस्तै गएरातिनै भएको अर्को खेलमा फुल्हामलाई २-० गोलले हराउँदै चेल्सीले लिगमा दोस्रो जित निकालेको हो । स्ट्रामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन जोए पेड्रो र इन्जो फर्नान्डेजले समान एक/एक गोल गरे । 

जितसँगै चेल्सी ३ खेलबाट ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको फुल्हाम १६ औँ स्थानमा रहेको छ । 

अन्य खेलको नतिजा

सन्डरल्याण्ड २-१ ब्रेन्टफोर्ड 

टोटेन्हाम ०-१ एएफसी बर्नामाउथ

वोल्भ्स २-३ एभर्टन 

लिड्स ०-० न्युक्यासल युनाइटेड 

 

टिप्पणीहरू