गाली गलौजमात्र कति गर्नु र !

गाली गलौजमात्र कति गर्नु र !

यतिबेला सामाजिक सञ्जालमा यति धेरै गाली गलौजको वर्षा भइरहेको छ कि मानौं गाली गर्नकै लागि बनाइएको प्लेटफर्म हो । गाली–गलौज पनि सुन्नै नसकिने, हेर्नै नसकिने अत्यन्तै अश्लील, असभ्य, घृणित, क्लिष्ट खालको । जे मन लाग्यो, त्यही बोल्ने, लेख्ने । यति पनि ख्याल गरिन्न कि यसरी बोलेको, लेखेको कुरा आफन्त, मान्यजन, साथीभाइले पनि हेरेका र सुनेका हुन्छन् । मलाई के भन्ठान्लान्, मप्रतिको दृष्टिकोण कस्तो बन्ला भन्नेसमेत हेक्का राखिन्न । 

मेरा लेखाइले पनि नैतिकता र चरित्रमाथि औंला ठडिन सक्छ भन्ने सामान्य सोचाइ, बुझाइ रहेको देखिँदैन । बरु यसको ठीकविपरीत जति धेरै अश्लील, घृणित, असभ्य शब्द, भाषा प्रयोग गरियो उति ठूलो मान्छे बनिन्छ भन्ने सोच पालिन्छ । त्यसमाथि उस्तै प्रवृत्तिका र नगन्य संख्याका उच्छृंखलहरूले त्यस्तै खालको कमेन्ट गरेपछि त झन् ठीक गरेछु भनेर हौसिने बानी छ । आममान्छेले बेठीक भयो भनेर गरेका कमेन्टलाई वास्तै गरेको हुँदैन । यस्ता क्रियाकलापलाई समयमै नरोक्ने हो भने एकातिर अराजक मान्छेमा हौसला बढ्दै जान्छ भने गलत काम गरेर चर्चामा आउने चाहनाले पछिको पुस्तालाई समेत नकारात्मक असर पुर्‍याउँछ । यो दुर्घटना ननिम्त्याउनका लागि राज्यले छिटोभन्दा छिटो नीति, नियम, कानुन बनाउनु जरुरी छ । बनिसकेको छ भने कार्यान्वयनमा ल्याउनुपर्छ । एउटा राज्य सुन्दर बन्नका लागि चाहे नागरिक होस् वा शासक, राज्य सञ्चालक हुन्, सु–संस्कृत, अनुशासित वा जो कोही मर्यादित बन्नैपर्छ । 

कसैलाई गाली, बेइज्जती गरेर, होच्याएर, असभ्य भाषा बोलेर आफू ठूलो कदापि बनिँदैन । प्रजातान्त्रिक शासन पद्धतिमा चित्त नबुझेको कुरामा, सार्वजनिक सरोकारको विषयमा विरोध जनाउन पाइन्छ । तर असभ्य, उच्छृंखल शैलीमा होइन । विरोधका लागि विरोध गर्नुको पनि औचित्य रहँदैन । यतिबेला विरोधका लागि विरोध गर्ने कुसंस्कारको विकास भइरहेको पाइन्छ । वस्तुवादी भएर, उचित किसिमले, सही ढंगले विरोध गरियो भने मात्र त्यो विरोध उचित ठहरिन्छ । परिणाममुखी बन्छ । होइन भने काग कराइरहन्छ, पिना सुक्दै गर्छ । हात्ती लस्किँदै गर्छ, कुकुर भुकिरहन्छ भन्ने उखान चरितार्थ हुन जान्छ । तसर्थ कुकुर र काग कसैले नबन्दा राम्रो हुन्छ । संसारमा जति पनि ज्ञानी र असल मानिसको कोटीमा परेका चर्चित र चर्चामा नआएका व्यक्ति अरूलाई गालीगलौज गरेर असल, ज्ञानी र चर्चित बनेका होइनन् । अरूप्रतिको उनीहरूको सकारात्मक दृष्टिकोण, व्यवहार, बोलीबचनका कारण असल बन्न पुगेका हुन् । असल, सफल बन्ने काम छाडेर अरूलाई गाली गर्नमै समय व्यतित गरेका भए ती पक्कै पनि असल र प्रेरणाका स्रोत बन्ने थिएनन् होला ।

हजुर, तपाईं, सर, म्याम भनेर सम्मानपूर्वक संबोधन गरें भने उनीहरूले पनि सोहीअनुसार संबोधन गर्नेछन् । त्यसैगरी मैले मुस्कुराएर, नरम भएर बोलेँ भने उनीहरू पनि त्यसैगरी प्रस्तुत हुनेछन् । 

चर्चित अमेरिकी लेखक डेल कार्नेगीले भन्नुभएको छ ‘कसैको कुरा काटेर समय खेर फाल्ने हैन, कसैको प्रशंसक बन्न सिक । कसैको दुश्मन हैन, साथी बन्न सिक । तब मात्र असल मान्छे बन्नेछौ । सफल व्यक्ति बन्नेछौ ।’ प्रशंसक बन्दा यति धेरै फाइदा हुनेरहेछ भने गाली गरेर किन समय खेर फाल्नु ! बरु गाली गर्ने समयलाई रचनात्मक काममा लगाइयो भने त्यसले जीवनमा धेरै फाइदा पुर्‍याउँछ । त्यो उपलब्धिमूलक बन्छ । विभिन्न धार्मिक शास्त्रअनुसार पनि हामी जति अरूलाई सराप्ने गर्छौं, उति उनीहरूको भलो हुने गर्छ । उन्नति, प्रगति हुने गर्छ । बरु उल्टै कुभलो त गाली गर्नेको, सराप्नेको हुन्छ । भनिन्छ– हामीले अरूलाई जे दिन्छौं, त्यही फिर्ता पाउनेछौं । उदाहरणका लागि मैले कसैलाई हजुर, तपाईं, सर, म्याम भनेर सम्मानपूर्वक संबोधन गरें भने उनीहरूले पनि सोहीअनुसार संबोधन गर्नेछन् । त्यसैगरी मैले मुस्कुराएर, नरम भएर बोलेँ भने उनीहरू पनि त्यसैगरी प्रस्तुत हुनेछन् । यदि मैले रिसाएर, कर्कश स्वरमा आक्रोशित भएर बोलें भने के उनीहरू खुशी होलान् ?

चीनमा एक जना उत्कृष्ट उत्पादन गर्ने कृषक थिए । हरेक वर्ष राम्ररी मकै खेती गर्ने कृषकलाई राज्यले सम्मान गर्ने प्रचलन थियो । जहिले पनि उनै कृषक उत्कृष्ट बन्ने गर्थे । उनी छिमेकी सबै कृषकलाई आफूले लगाउने स्तरीय मकैको बिउ बाली लगाउने समयमा बाँड्ने गर्थे र पनि सधैँ प्रथम हुन्थे । यो थाहा पाएर एकजना पत्रकार उनको घरमा पुग्यो र सोध्यो– ‘तपाईं किन आफ्नो बिउ अरूलाई बाँड्नुहुन्छ ? भोलि तपाईंले भन्दा राम्रो मकै उत्पादन गरेर उनीहरू प्रथम उत्कृष्ट कृषक बने भने तपाईंको सम्मान उनीहरूले खोस्दैनन् ?’ कृषकको जवाफ थियो– मैले मेरै बिउ बाँडेको छु र त उत्कृष्ट कृषक बन्न सफल भएको छु । यदि मैले नदिने हो भने उनीहरूले अन्तबाट नराम्रो बिउ ल्याएर रोप्नेछन् र परागसेचन हुने बेला नराम्रो बिउ माहुरी, बारुलाजस्ता मित्र किराहरू र हावाले उडाएर मेरो बिरुवामा पारिदिनेछन् जसकारण मेरो मकै पनि स्तरहीन बन्न पुग्छ ।

हामी जे सोच्छौं, त्यही बोल्छौं । हामीले सोचेको, बोलेको कुरा हाम्रो विचार बन्दछ । त्यही विचार ब्यवहारमा परिणत हुने हो । ब्यवहार संस्कार बन्ने हो । तसर्थ असल सोच्यौं, राम्रो सोच्यौं भने मुखबाट असल वाणी प्रस्फुटन हुनेछ । तसर्थ सोच, विचार, चिन्तन, व्यवहार, कर्म असल गरौँ, सभ्य बनाैँ, असल बनाैँ । अरूलाई असल बन्न प्रेरित गरौँ र सुन्दर समाज निर्माण गरौं । यसैमा सबैको भलो हुनेछ ।
 

टिप्पणीहरू