सरकारको आलोचना गर्दा अमेरिकाका दर्जनौं कर्मचारी निलम्बित

सरकारको आलोचना गर्दा अमेरिकाका दर्जनौं कर्मचारी निलम्बित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले फेडरल इमर्जेन्सी म्यानेज्मेन्ट एजेन्सीका एक दर्जनभन्दा बढी कर्मचारीलाई निलम्बन गरेको छ । उनीहरूले एजेन्सीको नेतृत्वविरुद्ध सांसदहरुलाई लेखेको खुला पत्रमा चर्को असन्तुष्टि जनाएपछि सरकारले उक्त निर्णय गरेको बताइन्छ । 

वासिङ्टन पोष्टका अनुसार उक्त एजेन्सीमा कार्यरतमध्ये हालका १८० र केही पूर्व कर्मचारीले अस्ति कङ्ग्रेस सदस्यहरूलाई पत्रमार्फत नेतृत्वको अनुभवहीनता र नीतिहरूले राज्यको उद्देश्य र लक्ष्यलाई कमजोर बनाएको भन्दै भविष्यमा ठूलो विपत्तिको पुनरावृत्ति हुनसक्ने चेतावनी दिएका थिए ।

पत्रमा योग्य आपतकालीन व्यवस्थापकको अभाव,विपद् न्यूनीकरण तथा पुनस्र्थापना कार्यक्रम कटौती, तालिम र समुदायस्तरका पहल घटाइएको र नयाँ कडा नीतिले अधिकारीहरूको स्वायत्तता सीमित गरेको जस्ता गम्भीर आरोप लगाइएको छ । कर्मचारीहरूले कङ्ग्रेसलाई आपतकालीन व्यवस्थापन एजेन्सीलाई गृह मन्त्रालयको हस्तक्षेपबाट जोगाउन, राजनीतिक आधारमा हुने बर्खास्तबाट कर्मचारीहरूलाई संरक्षण गर्न र एजेन्सीलाई स्वतन्त्र क्याबिनेटस्तरको निकायका रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।

यता सरकारका प्रवक्ताले असन्तुष्टि जनाएका कर्मचारीहरूलाई ‘वर्षौंदेखिको आफ्नो अक्षमता ढाकछोप गर्न खोजेको प्रयास’ भन्दै आलोचना गरेका छन् । गत महिनामात्रै यस्तै पत्र पठाएका झण्डै डेढ सय कर्मचारीलाई पनि ट्रम्प  प्रशासनले निलम्बन गरेको थियो ।

टिप्पणीहरू