एमाले केन्द्रीय सदस्य महर पक्राउ

एमाले केन्द्रीय सदस्य महर पक्राउ

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । बझाङकी महिला रश्मिला धामीले दिएको गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दामा जिल्ला आदालतको आदेशले उनी आज समातिएका हुन् । 

महरमाथि अनुसन्धानका लागि म्याद थप गर्न अहिले जिल्ला अदालत काठमाडौं पुर्याइएको छ । उनीविरुद्ध अस्ति सोमबार पक्राउ पुर्जी जारी भएको थियो ।

 

बझाङवासी पूर्वअखिल अध्यक्ष महर र त्यतैकी युवती रश्मिलाबीच लामो समयदेखि विवाद छ । आफूमाथि पटकपटक यौन शोषण भएको तर प्रतिवादीले कुनै जिम्मेवारी नलिई निरन्तर प्रताडित गर्दै आएको उनको आरोप छ । 

महरविरुद्ध रश्मिला उजुरी लिएर बालकोट, प्रहरी र सरकारी वकिल कार्यालयसम्म पुगिन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेपछि गत वर्ष माघमा उनी अदालत गईन् । र, उनको पक्षमा आदेश पनि आयो । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले बलात्कारसम्बन्धी मुद्धामा महरमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । तर, सत्तारुढ दलका प्रभावशाली नेता महर अनुसन्धानको दायरामा आएनन् ।  

उल्टै सत्ताको आडमा उनले प्रहरी लगाएर थुनाउने, मानसिक तनाव दिने क्रम झन् तीब्र पारेको रश्मिलाको आरोप रह्यो । उनले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् । 

पछिल्लो पटक उच्च अदालतको आदेशपछि रश्मिलाले प्रहरीको साइवर ब्युरो र काठमाडौँ परिसरमा जाहेरी लेखाएकी थिइन् ।

टिप्पणीहरू