उपसभामुखमाथि अर्को झ्याउलो

उपसभामुखमाथि अर्को झ्याउलो

मानव तस्करीको आरोप लगाइएकी उपसभामुख इन्दिरा राना मगर थप राजनीतिक संकटमा पर्ने देखिएको छ । २०७९ माघ ७ गते उपसभामुख निर्वाचित भएयता १७ पटक विदेश भ्रमण गरेकोमा सात वटा मात्र स्वीकृत गराएको तथ्य खुलेपछि राना अप्ठेरोमा पर्ने निश्चित रहेको बताइन्छ । उपसभामुखले सभामुखको स्वीकृतमा मात्र विदेश भ्रमण गर्ने संसदीय अभ्यास रहँदै आएको छ । 

एमाले सचिव योगेश भट्टराईले प्रतिनिधि सभाको हिजोको बैठकमा उपसभामुख रानाको वैदेशिक भ्रमणबारे आशंका गर्दै प्रश्न उठाएका थिए । पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले संसद सचिवालयले उपलब्ध गराएको भ्रमण विवरणमा सभामुखको स्वीकृतिबिना उपसभामुखले १० पटक विदेश भ्रमण गरेको खुलेको बताए ।

‘उहाँ अहिले अमेरिका भ्रमणमा हुनुहुन्छ, त्यसबारे हामीले सभामुखसँग चासो राखेका थियौँ, पछिल्लो भ्रमण स्वीकृत गराएर जानुभएको रहेछ’, उनले जनआस्थासँग भने, ‘तर उहाँले यसअघि थुप्रै भ्रमण स्वीकृत नगराएर, सभामुखलाई जानकारी नदिएर विदेश भ्रमणमा जानुभएको रहेछ, यो गम्भीर त्रुटी हो, उहाँका भ्रमणहरू शंकास्पद देखिएका छन् ।’

प्राप्त विवरणअनुसार उपसभामुख निर्वाचित भएपछि रानाले अमेरिकाको मात्र चार पटक भ्रमण गरिसकेकी छन् । त्यस्तै, समान तीन पटक चीन र भारत गएकी उनी दुई पटक बंगलादेश तथा सिंगापुर, रुस, साउथ अफ्रिका, स्पेन र हङकङको एक–एक पटक भ्रमण गरेको देखिन्छ । 

सन् २०२३ फेब्रुअरीमा रानाले संसद सचिवालयको लेटर प्याड दुरुपयोग गरेर गैरसंसदीय पाँच व्यक्तिलाई सिधै भिसा उपलब्ध गराइदिन अमेरिकी दूतावासलाई पत्राचार गरेको विषयलाई सत्ता गठबन्धनले पछिल्लो समय संवैधानकि परिषदमा बहुमत पुर्याउने बलियो ‘अस्त्र’को रुपमा लिएको देखिन्छ ।

सत्ता गठबन्धनले रानाको यस गतिविधिलाई शंकास्पद र गम्भीर त्रुटी भनेको छ । उनलाई उपसभामुख पदबाट हटाउने गृहकार्य स्वरुप सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका गठबन्धनका दलहरुले यस त्रुटीलाई पनि अर्को ‘अस्त्र’को रुपमा प्रयोग गर्नसक्ने कतिपयको विश्लेषण छ ।

यसैबीच प्रतिनिधि सभा बैठक भदौ १३ गतेसम्मको लागि स्थगित गरिएको छ । उपसभामुख राना पनि सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू