विष्णु माझीले जोगाइदिएको तिज
तिज आउन दुई महिना बाँकी नहुँदै बजारमा गीतको बाढी आउँछ । संस्कृति परम्परा र नारीका मर्म पोख्नेभन्दा पनि छाडा र भाका नमिल्ने, छेउ न टुप्पाका गीत सामाजिक सञ्जालमा भाइरल भइदिन्छन् । त्यस्ता गीत जति नै संख्यामा आए पनि जब विष्णु माझीको गीत युट्युबमा अपलोड हुन्छ तब डढेलोले सारा वनमारा झारपात सखाप पारेजस्तो सबै तिज गीतलाई खाइदिन्छ । यो श्रृंखला एक दशकदेखि अविरल छ । लाग्छ, विष्णु माझी छन् र पो तिज जोगिएको छ । यो कीर्तिमान कहिलेसम्म कायम हुने हो अहिले नै भन्न सकिन्न ।
विगतमा झैँ यो वर्ष पनि उनको ‘म त नराउरी’ गीतले धेरैको हृदय पगालेको छ । कोकिल स्वरको झंकारले धेरैका मन मस्तिष्कमा स्पर्श गर्दै आँखाबाट तप्प तप्प मोतीदाना झारिदिएका छन् ।
म त नराउरी आमै २
म त नराउरी
तिम्रै छोरा राम्रा
म त नराउरी
दाइ र भाइले पिपलगेडी खाको २
मैले छाम्दा गोजी रित्तै भाको २
म त नराउरी २
छोरा र छोरीबीच भेदभावको मर्म बोकेको पितृसत्तात्मक सोचलाई उजागर गर्ने सुन्दरमणि अधिकारीको शब्द र संगीतवाला यो गीतले धेरैलाई रुवाउँछ । छोरीबाट बुहारी, जन्मघरबाट कर्मघर, सामाजिक सोच र धेरै नारीका जीवनसँग मेल खाने यो गीतले तहल्का मात्रै पिटेको छैन, म्युजिक भिडियोमा ललिता पौडेलको जीवन्त अभिनय छ तर गीतको तालमा नाच मिलेजस्तो देखिन्न । मैले तीन वर्षअघि जनआस्थामार्फत् विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने धारणा लेखेपछि धेरै मिडियाले उनको निजी जीवनबारे सोधीखोजी गरेका थिए । माझीको खोजी घटना अन्ततः प्रहरीसम्म पुगेको थियो ।
जब–जब उनका गीतले कीर्तिमान कायम गर्छ तब उनलाई टकशो, मेला महोत्सव वा म्युजिक भिडियोमा हेर्न र देख्न पाइयोस् भन्ने आवाज उठ्छ तर कारण हो उनलाई अहिलेसम्म सार्वजनिक नगरिनु । आजसम्म एउटा फोटोबाहेक न कुनै अन्तरवार्ता छ न भिडियो छ । न त उनले सामाजिक सञ्जालको प्रयोग नै गरेकी छन् । रहस्यमय त यही छ । हुन त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगरले यो पंक्तिकारसँग विष्णु माझीबारे भनेकी छन्– सुन्दरमणि अधिकारीले लैनु भैंसी बेचेर विष्णु माझीको ‘माकुरीको जाल’ पहिलो एल्बम निकाले, विष्णुलाई बिहे गरे, दुई सन्तान जन्माए, वर्षैपिच्छे आफ्नै शब्द, संगीतमा गाउन लगाउँछन् । स्टुडियोमा विष्णुले शब्दको मर्म बिगारेमा– सानु, यहाँनेर खिट्का लिनु भन्छन् । यदि सुन्दरमणि अधिकारीले घरमै थुनेर, कुटेर, अन्याय, अत्याचार गरेका भए हरेक वर्ष यस्ता मार्मिक गीत कसरी सम्भव हुन्थे र चर्चित बन्थे ? हाम्रो प्रतिष्ठानले कुनै पनि कलाकारलाई अन्याय, अत्याचार हुन दिँदैन । हामी ढुक्क छौँ– सुन्दरमणि अधिकारीबाट विष्णु माझीलाई कुनै बाधा व्यवधान छैन । उनको बिहेअघि पशुपति शर्मा, शिव हमाल, सुन्दर र विष्णु मिलेर बाग्लुङ, पोखरा नारायणगढका महोत्सवमा गीत गाउन गएका थियौं । हामी तँ तँ र म म का साथी हौं । त्यसबेला अहिलेजस्तो युट्युबको जमाना थिएन । नत्र विष्णु माझीबारेको कौतुहलता यति ज्यादा हुँदैन थियो । उनको स्वभाव नै कम बोल्ने र एकान्तप्रिय छ ।
०४२ साल असार १२ गते स्याङ्जाको चापाकोटमा जन्मिएकी विष्णु १४ वर्षकै उमेरमा लोक दोहोरी गाएर चर्चामा आएकी थिइन् । सुन्दरमणि अधिकारीसँग वैवाहिक जीवनमा प्रवेश गरेपछि मेला महोत्सव त के आफ्ना चर्चित गीतहरूमा पनि देखिएकी छैनन् । सालको पात टपरी, भिटामिन युको कमीले, नबढाऊ है मायामा दुरी, लालुमाई, चरी जेलैमा जस्ता गीत गाएर अहिलेसम्म एक नम्बर लोकगायिका बन्न सफल भएकी छन् । एउटा गीत गाएबापत ६ लाख पारिश्रमिक लिने महँगी गायिका पनि हुन् । हरेक वर्ष तिज गीतमा एकछत्र साम्राज्य गर्ने विष्णु माझीका गीतले नाच्न, हाँस्न मात्रै लगाउने होइन कहिले त असाध्यै रुवाउँछन् पनि ।
छाडा गीतको बाढी
राँगाले भैँसी गोरूले गाईलाई
गरेझैँ माया गर न मलाई
चिलाउने खुट्टा
गाउँघरमा तिज आयो
झरीले भिजायो
ऐया नि ऐया !
सल्ला दमारमा काले नि भ्यागुतो उफ्रेको
च्याट च्याट च्याट........
साउन लाग्नासाथ आएको यो छाडा गीतमा महिलाहरू नाभी देखाउँदै टिकटकमा उफ्रन थाले । यो एक नम्बरमा गाली खाने गीत बन्यो ।
यसपालिको तिजमा झुमेर नाचिन्छ
नागिन जस्तै फनफन घुमेर नाचिन्छ
माइलादाइले घनघन घनघन
घन्काइदेऊ मादलु
के थाहा
अर्को सालको तिजमा मरिन्छ बाँचिन्छ
के थाहा
अर्को सालको तिजमा मरिन्छ बाँचिन्छ
हो कि होइन लेडी
हो ! हो ! हो ! चियर्स......
भन्दै हातमा मदिराका बोतल लिएर उफ्रिएका नारी देख्दा तिजको हुर्मत लिएजस्तो लाग्छ । यस्ता गीत कति छन् छन् । जति छाडा छन् ती गीतको बजार त्यति नै सानो छ । केहीले यस्ता गीतबाट मनोरञ्जन लेलान् तर छाडा गीत कहिल्यै अजम्बरी बन्न सक्दैनन् ।हिजो चर्चामा आएका प्रकाश सपुतको तिज गीत पनि उनको फिल्म वसन्तजस्तै फ्लप भएको छ । प्रधानमन्त्री केपी ओलीलाई प्रशंसा गरेपछि जीवनमा हुण्डरी आयो । विगतमा गीत सार्वजनिक भएको केही घण्टामै १० लाख भ्युज पुग्ने प्रकाशका लागि ओली बालाई खुलेर समर्थन गर्नु अभिषाप ठहरियो । आफूले निर्माण गरेको चलचित्र ‘वसन्त’ डुबेपछि काठमाडौंको घर बिक्री गर्न दलाल लगाएका छन् भन्ने कुरा मिडियामा आयो ।
अहिले निराश अवस्थाबाट गुज्रिएका प्रकाशको ‘कमब्याक’ को आशा थियो तिज गीत । पहिलाको चर्चित गीत ‘बदला बरिलै’को भाग दुईका रूपमा प्रकाशले यस वर्षको तिज गीत ‘नाइँ भनेसी नाइँ’ बनाएका थिए । चर्चित गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीलाई लिएर के गर्नु ? ओली बालाई समर्थन गर्दैमा प्रकाश सपुतको सत्यानाश भएझैं भयो । तिज गीतमा रेखा थापालाई अभिनय गराएर के गर्नु ? गीत सोचेजस्तो चलेन । अहिले प्रकाशसँगै एलिना, समीक्षा र रेखाले पनि ठूलो क्षति व्यहोर्नुपरेको चर्चा छ । उनको गीतले १५ दिनमा बल्ल १० लाख भ्युज कटाएको छ ।
यो साल पार्वती जिसी, शर्मिला गुरुङ, कमला पोखरेलले मार्मिक तिज गीत ल्याए भनेजस्तो आफू उस्तै गीत ल्याउनेमा ज्योति मगर, कोमल ओली र रेशम चौधरी भए । तिज पहिलाजस्तो छैन । पहिला पहिला गीत सुन्न र महिला नाचेको हेर्न तिजका दिनमा मात्रै पशुपतिनाथ मन्दिर वा देशभरका शिवालयमा पुग्नुपथ्र्यो । अहिले त बेरोजगार महिलाहरू फेसबुक, टिकटक र इन्स्टाग्राममा नाभी देखाउँदै, अर्धनग्न शरीरमा आफूलाई एक से एक कलाकार ठान्दै अनेक भावभङ्गीमामा नाच्छन् । भाइरल बन्ने धुनमा केही त अत्यन्तै अश्लील भएका छन् । जसले – नारी वेदना र मर्म बोकेका गीतको जमाना गयो भन्दै एक महिनादेखि दर खाने नाममा मदिरा र अनेक थोक खाँदै उफ्रिँदै, तिजलाई भड्किलो र विसंगति बनाएका छन् । यस्तो क्रियाकलाप रोक्ने कसले ?
– लण्डन, बेलायत
टिप्पणीहरू