आफ्नै माटोमा कानुनी अधिकार: भुम्लुली जनताको सपना साकार

आफ्नै माटोमा कानुनी अधिकार: भुम्लुली जनताको सपना साकार

करिब पाँच दशकअघि भोगचलन गरेर जोतेका खेतबारी कानुनी मान्यताबिना पिँढी बदलिँदै गएका थिए। न जग्गा धितो राखेर ऋण लिन सकिन्थ्यो, न छोराछोरीलाई पढाउन वा परदेश पठाउन सजिलो हुन्थ्यो, न आफ्नै पसिनाको जमिन बेचेर सपना पूरा गर्न सकिन्थ्यो । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–७ र ८ का जनताले आधा शताब्दी यही पीडा बोकेर बाँच्नुपर्यो ।

मंगलबार आयोजित विशेष कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यमा ३७३ निजी र ५० सरकारी गरी ४२३ वटा धनीपुर्जा वितरण भएपछि भुम्लु गाउँ उल्लासको रंगमा रंगिएको छ ।

८६ वर्षीय गिर्वराज उप्रेतीको आँखामा उमेरको रेखा मात्रै थिएन, जीवनभरको संघर्षको धुलो पनि झल्किएको थियो। पुर्जा हातमा लिएर उनले भावुक हुँदै भने, ‘जीवनभर जोतेको जमिन आफ्नो नाममा नभएकै कारण असंख्य सपना अधुरा भए। ऋण लिन सकिनँ, व्यवसाय विस्तार गर्न सकिनँ, छोराछोरीलाई सजिलै पढाउन सकिनँ । आज भने लाग्छ, जीवनभरको मेहनत सुरक्षित भएको छ । यो मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।’ 

यो खुसी सहजै आएको होइन । वि.सं. २०३२–३३ मा नापजाँच भए पनि तत्कालीन पिपलटार र फलाँटे गाउँ पञ्चायतबीचको सीमाङ्कन विवादले दशकौंसम्म गाउँलाई कानुनी अन्धकारमा धकेलेको थियो । केही स्वार्थी तत्वको कारण समस्या लम्बिँदा पुस्तौँ पुस्ताले यसको मूल्य चुकाएका हुन् । 

मन्त्री अधिकारीले धनीपुर्जा वितरण गर्दै भने, ‘केही व्यक्तिको स्वार्थका कारण सिङ्गो गाउँ ५० वर्षसम्म कानुनी अधिकारबाट वञ्चित भयो । अब बाँकी जनतालाई पनि पुस मसान्तभित्र धनीपुर्जा वितरण गर्ने हाम्रो लक्ष्य छ ।’

२०७६ मा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भुम्लुमा नापी फिल्ड कार्यालय स्थापना गरेसँगै आशा पलाएको थियो । २०८० मा समस्या समाधान समिति बनेपछि २०८१ मा प्रतिवेदन आयो र अन्ततः २०८२ मा सपना साकार भएको हो ।

प्रदेश सभा सदस्य रुकु चौलागाईंले भनिन्, ‘यो केवल कागजको टुक्रा होइन, यो त जीवनभरको संघर्षको सम्मान हो ।’ गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले यस क्षणलाई ऐतिहासिक घोषणा गर्दै भने, ‘लालपुर्जा नहुँदा गाउँको विकास रोकिएको थियो। अब यो कानुनी सुरक्षाले हाम्रो गाउँलाई समृद्धिको बाटोमा डोर्याउनेछ ।’

उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले भने, ‘लालपुर्जा राजनीतिक एजेन्डा होइन, यो राम्रो काम हो। अरुलाई दोष दिनुभन्दा पहिले आफैंले सकारात्मक सुरुवात गर्नुपर्छ ।’ लालपुर्जा हातमा परेपछि गाउँका बुढापाकाको अनुहारमा आँसु छचल्किएको छ भने नयाँ पुस्ताको आँखामा आशा चम्किएको छ। अब अभावमा हुर्केका छोराछोरी कानुनी सुरक्षासहितको जग्गामा भविष्य लेख्न पाउने भएका छन् । यो समस्या समाधानमा युवा नेता प्रेम लामाको पनि उल्लेखनीय पहल भएको स्थानीयले बताएका छन् ।

टिप्पणीहरू