च्यासल त छँदै छ, थापागाउँ झन् चकाचक

च्यासल त छँदै छ, थापागाउँ झन् चकाचक

‘स्वस्थानी ब्रतमा समेत कथा नसकिँदासम्म श्रद्धालुहरु धैर्यतासाथ हात जोडी बसेका हुन्छन् तर यहाँ त भन्नेले भनिराख्या हुन्छ, मान्छेहरू बाहिर निस्किराख्या हुन्छन्, ए कमरेडहरू, एकछिन बसिदिनुस् हामी छोटो गर्छौं क्या भन्दा पनि मान्दै–मान्दैनन्’, गत सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनियुक्त पदाधिकारीलाई शपथ खुवाउँदै प्रधानमन्त्री केपी ओलीले जंगिएर भने, ‘भक्तजनहरू खाली खुट्टा कहाँदेखि कहाँसम्म हिँडेका हुन्छन्, उनीहरूलाई लामो हुँदैन तर यहाँ एकछिनको कार्यक्रम हो भन्दा पनि एउटा झुण्ड यता, अर्को झुण्ड उता बसेर हाहाहुहु गरिरहेका हुन्छन्, त्यस्तासँग के निष्ठा हुन्छ ?’

दुई तिहाइ बहुमतसहित सत्तारोहण गरेका र ‘वाक–कला’मा वाचाल मानिने एमाले अध्यक्ष ओली आफ्नै कार्यकर्ताले टेर्न छाडेपछि कतिसम्मको बेचैन छन्, च्यासलमा दिएको उक्त अभिव्यक्तिबाट प्रष्ट हुन्छ । कुनै बेला ‘आई लभ यु केपी बा’ भन्दै ध्यान दिएर भाषण सुन्ने कार्यकर्ताहरू पछिल्लो समय लुँडो र क्यान्डिक्रसमा व्यस्त देखिन थालेपछि ओलीलाई चिडचिडाहट भएको विश्लेषण गर्न थालिएको छ । पार्टीमा रोक लगाइए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘माझ किराँतकी छोरी’को बलियो प्रतिबिम्बसहित अघि बढ्ने अठोट लिइसकेको अवस्थामा ओलीलाई आफ्नै कार्यकर्ताले ‘ध्यान’ नदिएबाट उक्त टिप्पणीलाई बल पुर्‍याएको हो ।

‘उहाँ (मैनाली) त एकदम सकारात्मक हुनुहुन्छ, कार्यालय हेर्न आउनेहरूलाई ब्रिफिङ गरिरहनुभएकाे छ, मदन भण्डारीसँग उहाँकाे अनेक किस्सा रहेछन्, छिमेकीलाई सुनाउनेदेखि कार्यालयकाे प्रचारसम्म निकै खटिनुभएकाे छ ।’

असार १४ गते विद्याले मदन जयन्तीको अवसर पारेर औपचारिक रूपमा राजनीतिमा फर्किएको घोषणा गरेपछि ओलीलाई पहिलोपल्ट असहज भएको थियो । विद्यालाई रोक्न पार्टीपंक्तिलाई त्राहिमाम बनाउने रणनीतिमा ओली सफल भए पनि आक्रोश भने अझै घटिसकेको छैन । एक महिनायता ओलीको मनस्थिति सशंकित, विचलित र अनिर्णित देखिएको निकटस्थहरू बताउँछन् । सायद त्यसैले हुन सक्छ, विद्याको गतिविधिप्रति निगरानी राख्नेदेखि उनको पक्षमा वकालत गर्नेहरूलाई कारवाही गर्नेसम्मको श्रृंखला धारावाहिक रूपमा चलिरहेको छ ।

थापागाउँमा चहलपहल, च्यासलमा सन्नाटा

यतिबेला मदन भण्डारी फाउण्डेशन फ्याक्टरले ओलीलाई थप तनाव दिएको स्रोत बताउँछ । नयाँ बानेश्वरस्थित थापागाँउमा निर्माण भइरहेको विद्याको सम्पर्क कार्यालयमा कार्यकर्ताको चहलपहल बढ्दा च्यासलमा छाएको सन्नाटाले ओलीलाई खुशी बनाएको छैन । ‘मदन भण्डारी हिरक जयन्ती मूल समारोह समिति’को कार्यालयसमेत रहने भनिएको उक्त चार तले घर अवलोकनका लागि अहिले दिनहुँ सयभन्दा बढी शुभचिन्तक थापागाउँ पुगिरहेको बुझिएको छ । जबकि, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा कर्मचारीबाहेक अन्य कार्यकर्ताको उपस्थिति कमजोर देखिन थालेको कार्यालय सचिव डा.भीष्म अधिकारीको ठम्याइ छ । ‘थापागाउँमा अहिले दैनिक एक, डेढ सय मान्छे आएर घर हेरिरहेका छन्, अगाडिको सडक (मण्डला थियटरपट्टी) जाम हुने अवस्था छ’, स्रोत भन्छ, ‘च्यासलमा पनि मान्छे त देखिन्छन् तर परिभाषित जिम्मेवारीमा बसेकाहरू मात्रै । ठूलो पार्टी भएको कारण छिटपुट कार्यकर्ता देखिनु स्वाभाविक हो तर पहिलेजस्तो भीड छैन ।’

भण्डारीले भाडामा लिएको उक्त घर एमालेका पुराना नेता विदुर मैनालीको हो । काठमाडौँ महानगरपालिकाको पूर्व उपमेयरसमेत रहेका मैनालीले खुशी–खुशी उक्त घर दिएका हुन् । ‘१४ वर्षदेखि घर भाडामा रहेछ, अहिले पूर्व राष्ट्रपतिज्यूले इच्छा प्रकट गरेपछि उहाँ (मैनाली)ले खुशीका साथ दिनुभयो’, स्रोत थप्छ, ‘घरको रेनोभेसन (मर्मत सम्भार) खर्च पनि उहाँले नै व्यहोर्नुभएको छ, झ्याल, ढोका, शौचालय, पानीलगायत कुरामा आफैँ कस्सिनुभएको छ ।’ उक्त घरको लागि पर्दा, कार्पेट, सोफा र कुर्सीमा भने फाउण्डेशनले नै खर्च गरेको बताइएको छ । ‘घरमा एसी पहिल्यै रहेछ, अहिले पार्किङ र गार्डेनको काम भइरहेको छ’, सोही स्रोतले थप्यो, ‘माथिको तलादेखि कोठाहरू तयार पार्दै तल झरिरहेका छौँ, सामान्य कार्पेट राखेका छौँ, कुर्सी र सोफा पनि सामान्य छन् ।’

ओलीलाई लाने तयारी

त्यसो त माधवकुमार नेपाल, झलनाथ खनालहरू एमालेको नेतृत्वमा रहँदा मदन भण्डारी फाउण्डेशन नै त्यो प्ल्याटफर्म थियो, जसबाट ओलीले आफ्नो शक्ति विस्तार गर्ने मौका पाए । उक्त फाउण्डेशन नभएको भए परिस्थिति फरक हुन सक्थ्यो । तर ओलीले फाउण्डेशनमाथि खुलेआम धावा बोलेका छन्, जबकि सैद्धान्तिक रूपमा अहिले पनि उनी त्यसको संरक्षक हुन् । ‘पार्टीले बनाएको संस्था होइन त्यो (फाउण्डेशन), अहिले पाखण्डी व्यवहार देखाउनेहरूको हातमा पुगेको देखेको छु, त्यो कसरी जाने हो हेर्नुपर्ने अवस्था छ’, सोमबार ओलीले च्यासलको सोही कार्यक्रममा भने, ‘त्यसका पदाधिकारीहरूले दिएका अभिव्यक्ति र प्रस्तुति हेर्दा सोच्नुपर्ने भएको छ, त्यसलाई ठगीखाने भाँडोजस्तो बनाएका छन् ।’

उता, पूर्वराष्ट्रपति विद्या पनि ओलीको उक्त अभिव्यक्तिप्रति जानकार नभएकी होइनन् । तर पनि थापागाउँको कार्यालय उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई नै निम्ता गर्ने तयारी छ । विद्या निकट एक नेता भन्छन्, ‘प्रधानमन्त्रीज्यूले च्यासलमा दिएको अभिव्यक्तिलाई उहाँले निम्नस्तरको चेतना र बुझाई भन्नुभएको छ, प्रतिवादमा उहाँलाई कुनै चासो छैन, बरु प्रधानमन्त्रीज्यूको हातबाटै कार्यालय उद्घाटन गराउने योजना हो, निम्तो जाँदैछ, आउने–नआउने उहाँको कुरा भयो ।’ भदौ ५ गते हुने कार्यालय उद्घाटन कार्यक्रमको लागि पुराना–नयाँ नेतादेखि शुभचिन्तकहरूलाई समेत मध्यनजर गरेर पाँच सय वटा निमन्त्रणा कार्ड छापिइसकेको पनि ती नेताले जानकारी दिए । रोचक के छ भने, कार्ड वितरणमा घरधनी मैनाली नै कस्सिएका छन् । कतिसम्म भने मैनाली छिमेकीलाई समेत मदन भण्डारीसँगको आफ्नो किस्सा सुनाउँदै विद्याको समर्थनमा उभिएका हुन् । ‘उहाँ (मैनाली) त एकदम सकारात्मक हुनुहुन्छ, कार्यालय हेर्न आउनेहरूलाई बिफ्रिङ गरिरहनुभएको छ’, ती नेता थप्छन्, ‘मदन भण्डारीसँग उहाँका अनेक किस्सा रहेछन्, छिमेकीलाई सुनाउनेदेखि कार्यालयको प्रचारसम्म निकै खटिनुभएको छ ।’

विद्याले पार्टी अध्यक्ष फाउण्डेशनको संरक्षक रहने मान्यताबमोजिम कार्यालयमा ओलीको लागि एउटा छुट्टै कार्यकक्ष बनाउने हो कि भन्नेसम्मको परामर्शसमेत निकटस्थहरूसँग गरेकी थिइन् । तर पछिल्लो समय विकसित घटनाक्रम र शुभचिन्तकहरूको सल्लाहपछि उक्त सोचबाट पछाडि हटेको बुझिएको छ । ‘उहाँ (मैनाली) त एकदम सकारात्मक हुनुहुन्छ, कार्यालय हेर्न आउनेहरूलाई उहाँले नै बिफ्रिङ गरिरहनुभएको छ’, ती नेता थप्छन्, ‘मदन भण्डारीसँग उहाँका अनेक किस्सा रहेछन्, छिमेकीलाई सुनाउनेदेखि कार्यालयको प्रचारसम्म निकै खटिनुभएको छ ।’

(जनआस्था साप्ताहिकको भदाै ४ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू