तिमीसँग म किन यारी लाइरहुँ ?
कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँछ, जहाँ बाटो एउटै भए पनि गन्तव्य फरक पर्छन् । हामी सँगसँगै हिँड्यौं—कहिले हर्षका पाइलामा, कहिले आक्रोशका लहरमा, कहिले आदर्शका उचाइमा । कहिले सडकमा कुल्र्यौं, कहिले बमगोलासँग खेल्यौं । उर्लंदो कर्णालीको बाँकटे हानेर जंघार तर्यौं, भोकले अघाउँदै, स्याँठ ओढेर निदाउँदै—यी बयान त गरिसाध्य छैन । हो, हामी जूनकिरीका उज्यालो पछ्याउँदै, एकै लस्करमा अघि बढेका मुक्तिपथका यात्री थियौं । तर, आज—तिमी न त हिजोका मान्यता, विश्वास र अभियानमा उभियौ, न मैले फेरिएको तिम्रो सोचलाई लाल सलाम भन्न सकेँ । समय, परिवेश, अवस्था मात्रै होइन, शक्ति सन्तुलनले पनि पुराना सत्यलाई भत्काइदिँदो रहेछ । नफेरिने भनेको त डायनासोर संस्कृति मात्रै हो— समयमै नबदलिनु र अन्ततः विलुप्त हुनु । फेरिनेका नाममा हिजोका विश्वास र प्रतिबद्धता बिर्सेर फेरि गन्धे तलाउमा डुब्नु त परिवर्तन होइन नि ! परिवर्तन त राम्रोकै लागि हो, अग्रगमनका लागि हो, अझ उन्नत आदर्शका लागि हो ।
यथार्थ बदलिँदा त्यसलाई अँगाल्ने साहस सबैसँग हुँदैन । हामी दुवैले अवस्था बुझ्यौं— तिमी हिजोजस्तो रहन सक्यौ ? छैन । मैले आजको अवस्था अँगाल्न सकें ? सकिनँ । तिम्रो सोच सुविधाको घडीअनुसार घुम्यो, म भने आफ्नै कठोर ‘मूर्खता’ मा अडिएँ । मैले तिम्रो ‘उन्नत आदर्श’ चिन्ने नैतिक साहस पाइनँ, अनि हाम्रा बाटा छुट्टिए । नाम, झण्डा र इतिहासको बोझ बनेका सम्बन्धहरू कहिलेकाहीँ केवल साइनबोर्डमा बाँकी रहन्छन्— भावनाहीन, अर्थविहीन, निर्जीव । यस्ता साइनबोर्ड बोकिरहनु भनेको सतीदेवीको लाश बोक्ने शिव हुनु हो । यो कुरा तिमीले बुझ्यौ, मैले पनि । त्यसैले, जस्तै अरू सहयात्री दोबाटोमा आफ्नो बाटो रोज्छन्, हामीलाई पनि रोज्नै पर्छ । तिमी अझै घण्टी बजाउँदै, मुहुर्तको प्रतीक्षा गर्दै, शेयरको मन्त्र पढिरहु— म भने डार्बिनले खनेको बाटोमा लागेँ । एउटा बाटो विज्ञान र प्रश्नहरूको जंगलतिर जान्छ, अर्को बाटो विधि, अनुशासन र प्रतीक्षाको डाँडोतिर । त्यस दिनदेखि हाम्रो सम्बन्धको परिभाषा फेरियो—अब हामीसँग स्मृति त छन्, तर एउटै यात्रा छैन । बजारले खायो, उपभोक्तावादले पचायो । सिंहदरवारले बँुख्याचा बनाएर हिजोका आफन्तलाई दुश्मनमा फेरिदियो ।
तब तिमी आफन्तका हुर्मत काढ्ने खैंजडी बजाउने दरवारीको प्रशंसामा मस्त भयौ, म भने लु सुनको ‘बौलाहाको डायरी’ लाई गीत बनाएर गाउन थालेँ । अचेल तिमीलाई गीतले टोक्छ, भजनलाई कविता भन्दै तथास्तु भन्छौ; म भने सुरिलो भाकामा संकल्प, बेदना र आँसुका भाका रन्काउँदै छु । भाका फेरिए, दृश्य फेरिए, सुन्दरताका अर्थ फेरिए, अनि बाटो पनि फेरियो । हामी हिजो एउटै मोर्चामा थियौं— समान नारा, समान विश्वास, समान गन्तव्य ।
हाम्रो सपना एउटै थियो— न्यायको बिहान, समानताको घाम, स्वतन्त्रताको आकाश । तर समयले प्रश्न गर्यो— के सपनाले टोक्छ ? के विश्वासका मुनाले हरेक आँधी सहन्छन् ? समय, परिवेश, अवस्था—सबै परिवर्तनशील छन् । तर शक्ति सन्तुलनको खेलमा पुराना सत्यहरू उल्टाइदिँदा रहेछन् । न फेरिने भनेको धर्मशास्त्रका व्याख्यान हुन्—समयमै नबदलिनु र अन्ततः इतिहासको पानाभित्र थुनिनु, अन्धआस्थामा भीडलाई आवेगमा उतारेर मदमस्त हुनु ।
तर, यथार्थ बदलिँदा त्यसलाई अँगाल्नु भनेको साहस र जोखिमको कुरा हो । तिमीले अर्ध–मनले मात्र अँगाल्यौ, मैले भने आफ्ना अडानको मूल्य तिरेर पनि यथार्थको आँखामा आँखा मिलाएँ । तिमी सुविधाको घडीअनुसार पल्टियौ, म घडीभन्दा बाहिर हिँडेँ । यसरी—न तिमी म जस्तो, न म तिमी जस्तो । चल रे फकिरा, अपने राह पर । त्यसै दिनदेखि हाम्रो सम्बन्ध फेरियो—एउटै युगको स्मृति त छ, तर एउटै यात्रा छैन । हिजोको आदर्श आजको सम्झनामा मात्र बाँकी छ—घाममा झुल्किएको पुरानो क्यालेण्डरझैँ । तस्वीरमा अनुहार त देखिन्छ, तर आँखाभित्रको आगो हराइसकेको ।
तिमी हिजोजस्तो रहन सक्यौ ? छैन । मैले आजको अवस्था अँगाल्न सकें ? सकिनँ । के सपनाले टोक्छ ? के विश्वासका मुनाले हरेक आँधी सहन्छन् ?
इतिहासका पानाहरू भन्छन्—आदर्शहरू हरेक पुस्तामा नयाँ पोशाक लगाएर बाँच्न सक्छन्; तर पुरानो पोशाकमै अडिग रहँदा उनीहरू पनि टेथिस महासागरजस्तै विलुप्त हुन्छन् । ०४६ सालको जनआन्दोलनले बहुदलीय लोकतन्त्र ल्यायो । सडकमा नारा थियो— ‘जनताको शासन जनताकै हातमा ।’ तर केही वर्षमै त्यो आदर्श सत्ता–समीकरण र दलदलको राजनीतिमा हरायो । पुरानो अनुहार मात्र होइन, पुरानै सत्ता–संस्कृति नयाँ नाममा फर्केर आयो ।
२०६२/६३ साल—राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा । माओवादी, सात दल र सडकको जनसागरले ‘नयाँ नेपाल’ को सपना देख्यो । हरेक भाषणमा समानता, समावेशिता, पारदर्शिता र न्यायको वाचा थियो । तर गणतन्त्रको पहिलो दशकमै राजनीतिक सौदाबाजी, भ्रष्टाचार र पदलोलुपताको भास पटक–पटक देखापर्यो । हाल—संविधान बनेको छ, संघीयता आएको छ, तर आम जनताको अनुभूति अधुरो छ । आदर्शहरू चुनावी घोषणापत्रमा सीमित छन्, आन्दोलनको शब्दकोषमा मात्र बाँकी छन् । आन्दोलनका सहयात्रीहरू—जसले एउटै झण्डा बोकेका थिए—आज फरक–फरक शक्तिको भागीदार बनेका छन् । केही साइनबोर्डमा मात्र बाँकी छन्, केहीले आफ्नो बाटो जिज्ञासुको खोजझैँ स्वतन्त्र बनाए । यथार्थहरू फेरिन्छन्, तर विस्मृतिका चिहानभित्र कुर्लिरहेका आवाजहरूले शान्त निन्द्रा पनि खलबल्याउँछन्, है ! भ्रममा बाँच्नु, देख्दा रमाइलो लागे पनि—भ्रमलाई सत्य सावित गर्न खोज्नु भने कठिन हुँदो हो ।
त्यसैले होला, साइनबोर्डमा अंकित शब्दको छायाँमुनी बस्दै, नयाँ जीवन धान्नु, तान्नु र लतार्नु कति कठिन पर्छ, यार ! यसैले, आदर्शको टुटफुट व्यक्तिगत सम्बन्धको टुटन मात्र होइन, यो हाम्रो सामुहिक यात्राको तस्वीर हो । जहाँ नारा र सपना धुलोमा हराए, झण्डा र साइनबोर्ड आँधीले सपनाजस्तै उडायो । सोच फेरिए तब त मन पनि फाटे । सहयात्रीहरू दोबाटोमा हराए । तर इतिहासको धुलोभित्र अझै कतै टिमटिमाइरहेका छन्— हिजोका ज्वालाजस्ता आँखा—जो फेरि उज्यालो दिन खोज्दैछन्, यदि हामीले फेरि सत्यलाई अँगाल्ने साहस गर्न सक्यौँ भने ।
टिप्पणीहरू