विवाहको निम्ति चाहियो वैज्ञानिक आधार

विवाहको निम्ति चाहियो वैज्ञानिक आधार

विवाहित सम्बन्धबाट कुनै महिला गर्भवती भई बच्चा जन्माइदियो भने गर्भाधान गराउनेले स्याहार्नै पर्ने कानुन बन्दा बहुविवाहका निम्ति छुट सम्बन्धी कानुन बनाएको भनेर चर्चा हुँदै गर्दा त्यस्तो सम्बन्धबाट जन्मने निर्दोष शिशुहरूका हकमा कुनै अधिकारवादीले विचार गरेको पाइन्न । प्रस्तावित मस्यौदामा यसअघिको ‘बहुविवाह गर्ने पुरुष’को सट्टा ‘व्यक्ति’ राखिएको छ । यसबाट पुरुषले मात्रै बहुविवाह गर्ने नभएर महिलाबाट पनि गर्न सक्नेतर्फ औंल्याइएको देखिन्छ । के प्रस्तावित मस्यौदामा बाहिर बाहिर भनिएजस्तै प्रावधान छ त ? प्रस्तावित ऐनले त्यस्तो किटानी गरेको पाइन्न । तीतो सत्य के हो भने अहिलेसम्म पुरुषहरूमात्रै बहुविवाहको फन्दामा थिए । वा पुरुषले मात्रै गर्छ भन्ने मान्यता स्थापित थियो । त्यस्तो मान्यतालाई प्रस्तावित मस्यौदाले नकार्ने संकेत देखिएको छ । छोरा वा पुरुषबाट सन्तान नहुने अवस्थामा महिलाले अर्कैसँग संसर्ग गरी बच्चा पाउन पाउने कि नपाउने ? त्यस्तो काममा साथ दिने पुरुषलाई घरमा ल्याउन पाउने कि नपाउने ? अहिले बजार यस्तै कुराले तातेको अवस्था छ । यस्तो कानुनको मस्यौदा तयार भए पनि त्यसले कसरी मूर्त रूप लिने हो, त्यो चाहिँ अहिले नै प्रष्ट छैन । 

नेपालमा वैवाहिक कानुन जस्तो भए पनि पुरुष सत्ता हावी छ । महाभारत र रामायणजस्ता पौराणिक ग्रन्थ हुन् वा घरघरै वर्षोंवर्षदेखि पढिने स्वस्थानी व्रत कथा, अथवा मुलुकी ऐन १९१० यि सबै महिलामैत्री भएनन् र छैनन् । यी सबैले पुरुष सत्ताकै वकालत गरे । यसअघिका संविधानले समानताको बुदा राखे पनि व्यवहारिक कानुन र त्यसमा उल्लेखित बन्देजहरूका कारण विभेदको अवस्था थियो । विरोध र समर्थन स्वाभाविक प्रक्रिया हो । जबसम्म महिलाले आफूलाई उपभोगको वस्तु र साधन बनाइराख्ने प्रथा र चलनहरूलाई जिउँदो राख्न सघाइरहन्छन् त्यतिखेरसम्म पुरुषसत्ताको तिकडमवाजी नै रहन्छ । हो, पुरुषसत्तालाई कायम राख्ने र महिलालाई यौन तथा सौन्दर्यको साधनका रूपमा कायम राख्न चाहनेहरूले अनेकन रुपमा यस्तो प्रचलनलाई जीवन्त बनाइरहेका छन् । हुन त यस्तो सोच आफैमा पुरुष मानसिकताकै उपज हो ।

बहुपत्नी प्रथालाई अस्वीकार गर्ने समाजले कसरी दशरथका चार वटी रानी स्वीकारेको होला ! पतिव्रता धर्म नष्ट गर्ने विष्णुलाई कसरी भगवानको दर्जा दिन सकेको होला सोह्र सय गोपिनी नचाउनेलाई कसरी अवतार ठानिएका होला ? जवसम्म यस्ता धार्मिक मान्यतालाई चिर्न सकिन्न जबसम्म सीताहरूलाई आत्महत्यातर्फ दुरुत्साहन गर्ने काममा राम अर्थात् हरामहरू क्रियाशील भइ नै रहनेछन् । नेपाली संविधान र ऐनको इतिहास पनि मनुस्मृतिबाटै प्रभावित देखिन्छ । त्यसैकारण आधुनिक युगमा पनि महिलालाई निजी सम्पत्तिका रूपमा लिने प्रयास जारी छ । समाज विकासको क्रमलाई बुझ्ने हो भने यो कदम दास युगलाई फर्काउने परिपञ्च जस्तै हो । तर आधुनिक महिलाले यसलाई वैज्ञानिक तवरबाट चुनौती दिन नसक्ने भने होइनन् ।

परम्परागत भए पनि मातृसत्तात्मक सत्ता र बहुपति प्रथालाई जीवन्त राखेर पुरुष सत्तालाई चुनौती दिन पनि सकिएला ? द्रौपदी र अहिल्या, कुन्ति र तारा अनि सरस्वतीका कथा पढ्नेले पुरुष सत्तामाथि धावा बोलेर पुजनीय पनि हुन नसक्लान् भन्ने छैन । करेन जातिको जस्तै विवाहलाई मान्यता दिनुपूर्व जीवनसाथी छान्ने प्रक्रियालाई सहज रूपमा लिने हो भने पनि यस्तो समस्याको समाधान नहोला भन्न सकिन्न । रह्यो कुरा बहुविवाहको, यो गर्नै नहुने भन्ने होइन । महिला पुरुष दुवैले बहुविवाह गर्न सक्छन् । तर त्यसका लागि धार्मिक तथा साँस्कृतिक मान्यताभन्दा अघि वैज्ञानिक कारणलाई अघि सार्नु आवश्यक हुन्छ । पुरुष वा महिला जोबाट जायजन्म हुन सक्दैन त्यस्तो बेला दम्पतीमध्ये कोही एक जना उदार भई बहुविवाह गर्न सक्ने वातावरण बनाए राम्रै हुन्छ । यस्तो भएका उदाहरण पनि छन् । तर पुरुषहरूको सन्दर्भमा मात्रै । महिलाले त पारपाचुके नगरी यस्तो हुनै सक्दैन भन्ने मान्यता राखिन्छ । आजकल बोनसमा सन्तान नभएका होइनन् ।

सरोगेसीबाट जन्मेका करण जोहर जस्ता सन्तान पनि छन् । विवाहको परिभाषालाई नै परिवर्तन नगरुञ्जेलसम्म यस्तो चलिरहन्छ । पुरुषले विवाह गर्छ भन्ने मान्यतालाई हटाएर महिलाले विवाह गर्छन् भन्ने मान्यता स्थापित गर्ने हो भने, सम्पत्तिका कारण पुरुष सत्ताले जमाउँदै आएको हैकमलाई तोड्न सम्पत्ति कमाउने र जमाउने अवसरमा महिलाको पनि समान प्रभुत्व रहने हो भने यही विषयलाई लिएर विवाद गरिरहनै पर्दैन । विवाह नै नगरी लिभिङ टुगेदरलाई कानुनी मान्यता दिने हाम्रै समाज हो । अर्कोतर्फ पुरुष वेश्याहरूका बारेमा व्यापक चर्चा हुने र त्यस्तालाई छिछिदुरदुर गर्ने हो भने पनि बहुविवाहको परिभाषा र मानकमा फरक पर्न सक्छ । जे होस् मनासिव र वैज्ञानिक कारण विना बहुविवाह गर्ने छुट पुरुष होस् कि महिला कसैलाई दिइनु हुँदैन । किनभने विवाह पुरुष वा महिला एक्लैले गर्ने विषय होइन ।

बहुविवाहलाई गलत ठहर गर्ने हो भने दुवै सजायको भागीदार हुनै पर्छ । अर्कोतर्फ बहुविवाह रोक्ने नाममा महिलालाई सुङ्गुरले जस्तै बच्चा जन्माउने मेसिन बनाउनु पनि राम्रो होइन । महिलाले पनि पुरुषहरूलाई पेल्दै परपुरुषसँग रमाइरहने वातावरण त झन् राम्रो हुँदै होइन । बहुविवाह पुरुष वा महिला जसले गरे पनि कारण वैज्ञानिक हुनुपर्छ । ऐन कानुन पनि धर्मशास्त्रका आधारमा नभई वैज्ञानिक आधारमा बन्नुपर्छ । विवाद गरिरहनै पर्दैन ।

(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू