एमएफएन च्याम्पियन रवीन्द्रलाई सरकारले पाँच लाख दिने
काठमाडौँ । म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपियाँ प्रदान गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजबिहान गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । यस्तै च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय भएको जानकारी पनि दिएका छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी च्याम्पियन ढाँटलाई सम्मान गरेका थिए ।उक्त कार्यक्रममा एउटा मालामा झारा टारेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
लामो समयदेखि रविन्द्रलाई सहयोग गर्दै आएका भ्लगर सिसान बानियाँलेपनि उक्त कार्यक्रमको आलोचना गरेका थिए । उनले इन्स्टाग्राममा लेखेका थिए, "इमानदारीसँग भन्नुपर्दा, च्याम्पियनलाई कुनै सम्मान महसुस भएन । एउटा माला लगायर पाँच मिनेटको भाषण दिएर फोटो/ भिडियो खिचेर (राष्ट्रपति)जानुभयो। हामीले चिया बिस्कुट खायौँ, ढाँटले एक कप चिया खाए, २० मिनेट सबैसँग एकल फोटो खिचे ।"
यस्तै उनले देशको च्याम्पियनलाई सम्मान गर्ने तरिका ठिक नभएको भन्दै सस्तो लोकप्रियता कमाउन खोजेको जिकिर गरेका थिए ।
टिप्पणीहरू