दलहरु किन दलदलमा भास्सिन थाले देशैभरि
‘कमा’ र फुलस्टप’ मा समेत चर्को बहस गर्ने अनि त्यसैमा किचलो झिकेर पार्टी फुटाउने नेपाली कम्युनिष्ट आन्दोलनको महारोग नै हो । कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता मिल्दासम्म ‘चाटाचाट‘ गर्छन्, जब सानो कुरामा अन्तरविरोध शुरु हुन्छ अनि ‘काटाकाट’ थालिहाल्छन् । फरक मत राख्नेबित्तिकै कृत्रिम भाष्य सिर्जना गरेर आपसमा हिलो छ्यापाछ्याप गर्ने थोत्रो शैली अहिले पनि उस्तै छ । अनि दलहरु क्रमशः दलदलमा फस्दै र अलोकप्रिय हुँदै जाँदा जनअसन्तुष्टिको रापबाट व्यक्ति ‘नायक’को रुपमा फुत्त पैदा हुने खतरा पटक पटक देखा पर्दैछ ।
कम्युनिष्ट आन्दोलनको साढे सात दशक लामो इतिहासमा टुटफुट, विभाजन र एकताको लामो श्रृंखला पार गरेर आएको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र दुर्ई अलग धारको नेतृत्व गर्ने पार्टी हुन् । यी दुर्ई दलमा पछिल्लो समय अन्तरसंघर्ष पेचिलो बन्दै जाँदा नेता–कार्यकर्ता आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् । विचार, राजनीति र कार्यदिशामा बिमति नभए पनि दुवै पार्टीमा नेतृत्वको कार्यशैलीलाई लिएर चर्को बहस चलिरहेको छ ।
कुनै समय थियो, नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले बोलेको कुरा पार्टीको निर्णयजस्तै हुन्थ्यो । अध्यक्षले गरेका घोषणालाई ढुंगाको अक्षरझैँ मानेर तलैसम्म कार्यान्वयनमा लैजाने गरिन्थ्यो । पदाधिकारी तहका नेताले समेत ओलीसँग आँखामा–आँखा जुधाएर बहस गर्ने हिम्मत गर्दैनथे । सडकमा ‘आइ लभ यु केपी बा’ को नारा लाग्ने गथ्र्यो ।
दशौँ महाधिवेशनयता यसैगरी पार्टी चलाउँदै आएका ओलीको नेतृत्वमाथि पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चुनौती दिएकी छन् । राजनीतिक पुनरागमनको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खारेज गर्दै पार्टीमा प्रतिवन्ध लगाउने केन्द्रीय समितिको निर्णयपछि अन्तरसंघर्ष ‘सृजनात्मक’ हैन ‘ध्वंसात्मक’ दिशामा अघि बढेको देखिन्छ ।
तेहेरिएर अध्यक्ष हुने तयारीमा रहेका ओलीले सरकारी निवासमा निरन्तर गुटको बैठक बोलाइरहेका छन् । यस्ता छलफलहरूमा भण्डारीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा नजान र प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिने गरिएको छ । भण्डारीको समर्थनमा फेसबुकमा स्टाटस लेख्नेदेखि सार्वजनिक मञ्चमा बोल्ने तल्लो तहका कार्यकर्तामाथि धमाधम कारवाहीको डण्डा बर्साउने क्रम पनि जारी नै छ ।
यता, भण्डारीले भने आफ्नो सदस्यता खोस्ने निर्णयविरुद्ध तल्लो तहसम्म जाने घोषणा गरिसकेकी छन् । बालुवाटारमा हरेक दिन ओली पक्षको बैठक चलिरहँदा संस्थापन पक्षबाट हुनसक्ने अवरोधलाई चिर्दै कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न पूर्वराष्ट्रपति निकटहरू पनि भंगालमा भेला हुने गरेका छन् ।
नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच शक्ति संघर्ष चलिरहेको छ । कुनै समय प्रचण्डको आलोचना गर्नुलाई पनि अपराध ठान्ने जनार्दनले सार्वजनिक मञ्चबाटै नेतृत्वको विकल्प खोज्नुपर्ने मत राख्न थालेपछि माओवादीको कचिंगलो उत्कर्षमा पुगेको छ ।
पछिल्लो पटक नेकपाका संस्थापक पुष्पलालको स्मृति दिवस पारेर असार ६ गते जनार्दनले अप्रत्यक्षरूपमा आफ्नै पार्टी अध्यक्षलाई भ्रष्टाचारी करार गरिदिए । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्री बिचौलियाको प्रभावमा परेको उनको दावी थियो ।
भोलिपल्ट पुष्पलालकै कार्यक्रममा प्रचण्डले शर्मालाई जवाफ दिंदै ‘सिंगौरी खेल्न दिएको’ टिप्पणी गरे । अध्यक्ष र उपमहासचिव सार्वजनिक रूपमै आमने–सामने भएपछि कार्यकर्ता सामाजिक सञ्जालमा लडाइँ गरिरहेका छन् । फलतः माघमै थान्को लागेको विवाद पुनः बल्झिएपछि एजेण्डा नै बनाएर स्थायी कमिटीमा छलफल गर्नुपर्ने अवस्था आयो ।
दुई ठूला कम्युनिष्ट पार्टीमा चलिरहेको यो अन्तरसंघर्ष विचार, राजनीति र सिद्धान्तका लागि नभई नेतृत्वको टकराव मात्र हो भन्ने प्रष्टै छ । एमाले र माओवादीको मात्र होइन संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र पनि गुटगत लडाइँ उस्तै छ । फरक के मात्र हो भने कम्युनिष्टतिर जस्तो एक अर्कालाई खुइल्याउने तहमा झरेर कांग्रेस नेता गालिगलौजमा भने उत्रिएका छैनन् ।
त्यसो त फरक बिचार राखेकै कारण कम्युनिष्टमा जस्तो कारवाही नहुने भएकाले पनि कांग्रेसमा अन्तरसंघर्षलाई सामान्य नै ठानिन्छ । यो पार्टीमा घोषित रूपमै ६०–४० को भागबण्डा हुने गरेको छ । जब सत्तामा जान्छ तब भागबण्डाको राजनीतिले थालिने गरेको कांग्रेसमा पछिल्लो समय परम्परागत गुट संघर्ष थप चर्किएको छ । इतर खेमाका नेता शेखर कोइरालाले सार्वजनिक रूपमै सरकारको आलोचना गर्दै पार्टी नेतृत्व एमालेकरण भएको आरोप लगाएका छन् ।
कांग्रेसमा सरकारको अलावा महाधिवेशनको विषयले पनि अन्तरविरोध चर्काएको हो । सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन गर्नेमा आशंका गर्दै आएको शेखर समूह पार्टीमा शक्ति बढाएर संस्थापनलाई दबाबमा राख्ने रणनीतिमा देखिन्छ । देशव्यापी कार्यकर्ता भेटघाटदेखि विपक्षी दलका नेता हुँदै पूर्वराष्ट्रपतिसम्मलाई भेटेका शेखर पार्टीमा आफ्नो फरक अस्तित्व रहेको सन्देश दिइरहेका छन् ।
यी सबै घटनाक्रमले के संकेत गर्छ भने नेपालका राजनीतिक दल चरम संकटमा छन् । र, यस्तो विवाद साना पार्टीमा झन बढी देखिन्छ ।
निर्वाचन आयोगमा दर्ता भएको मितिका हिसाबले आगामी भदौमा चार वर्ष पुग्दै गरेको एकीकृत समाजवादी नीति, नेतृत्व र कार्यदिशाका हिसाबले पुरानै पार्टी हो । देशका दुर्ई जना पूर्वप्रधानमन्त्री भएको एक मात्र पार्टी पनि हो यो । तर, ‘जति भाँडो उति चुबुर्को’ भनेझैँ अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको व्यक्तिगत टकरावले यो पार्टी फुटको संघारमा पुगेको टिप्पणी हुन थालेको छ ।
नेता खनालले अघिल्लो साता एमाले विभाजनप्रति सार्वजनिक रूपमै आत्मालोचना गरेपछि विवाद शुरु भएको थियो । उनले एक टेलिभिजन अन्तर्वार्तामा नेतृत्वले पार्टी फुटको औचित्य स्थापित गर्न नसकेको जिकिर गर्दै ‘नेकपा एमालेबाट विद्रोह गर्नु गल्ती भएको’ बताएका थिए । उनको उक्त अभिव्यक्तिले नेकपा एसमा हलचल मच्चियो ।
अध्यक्ष माधव नेपालले सार्वजनिक मञ्चबाटै जवाफ फर्काउँदै चित्त नबुझे पार्टीमा नबस्न सल्लाह दिए । त्यसपछि शुरु भएको आरोप–प्रत्यारोपको श्रृंखला रोकिएको छैन । खनालले पुनः एक टेलिभिजन कार्यक्रमबाट ‘पार्टी छोडेर जानुस् भन्ने तपाईं कुन तानाशाह हो ?’ भन्दै अध्यक्षमाथि कठोर प्रश्न उठाएका छन् ।
त्यसो त, तत्कालीन नेकपाको अन्तरविरोधमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एक ठाउँमा उभिएका यी दुर्ई नेताबीच पार्टी गठन भएदेखि नै हार्दिकतापूर्ण सम्बन्ध रहेन । सचिवालयदेखि केन्द्रीय कमिटीका बैठकमा फरक मत राख्दै आएका खनालले यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने निश्कर्ष सुनाउने गरेका छन् ।
पछिल्लो सचिवालय बैठकमा उनले भ्रष्टाचार मुद्दा लागेका अध्यक्ष नेपालले पद छोड्नुपर्ने अडान राखेका थिए । जबकि पार्टीले भने राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाइएको निश्कर्ष निकाल्दै प्रतिवादमा जाने निर्णय गरेको छ । महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन र विधानमा छेडखानी गरिएको भन्दै खनालले केन्द्रीय समिति बैठकमै आपत्ति जनाएका थिए । जबजलाई हेर्ने दृष्टिकोणमा पनि नेपाल र उनीबीच बेमेल रहँदै आएको छ ।
अहिलेको व्यवस्थाकै प्रतिपक्षी शक्तिका रूपमा आफूलाई अघि बढाएको पूर्वपञ्चहरूको पार्टी राप्रपामा पनि किचलो छ । राप्रपामा अहिले नरम र कडा राजावादी धारका रूपमा दुर्ई समूह सक्रिय छ । महामन्त्री धवलसमशेर राणाले नेतृत्व गरिरहेको कट्टर समूहमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे हुँदै नवराज सुवेदीजस्ता पुराना नेता छन् ।
अध्यक्ष राजेन्द्र लिङदेनसहित रवीन्द्र मिश्र, ज्ञानबहादुर शाही, खुश्बु ओलीलगायत पछिल्लो समय पार्टीमा जोडिएकाहरूको अर्को खेमालाई नरम धार भन्ने गरिएको छ । विगतदेखि नै दरबारको नजिक हुन प्रतिष्पर्धा चल्ने गरेको राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रमोट गरेका नवराज सुवेदीदेखि मुकुन्दश्याम गिरीसम्म प्रहारको निशानामा परेपछि किचलो चर्किएको हो ।
रमाइलो कुराचाहिँ, यस्तो शक्ति संघर्ष आफूलाई वैकल्पिक शक्ति दावी गर्ने पार्टीहरू, मधेसवादी दल र साना वामपन्थी पार्टीमा झन चर्को छ । गत आम निर्वाचनपछि राष्ट्रिय राजनीतिमा एकाएक उदाएको जनमत पार्टीदेखि नागरिक उन्मुक्ति हुँदै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सम्म सग्लो छैन ।
रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बाबु लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि श्रीमान्–श्रीमतीको घर झगडाले लामो समयदेखि किचलोमा फसेको नाउपा विभाजन भएको छ । जनमतका अध्यक्ष सिके राउतले उपाध्यक्षमाथि कारवाहीको डण्डा बर्साएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर अशोक राईले जसपा नामक पार्टी बनाएको एक वर्ष नपुग्दै त्यहाँ पनि मन्त्री पदका लागि ‘कुरुक्षेत्र’ शुरु भैसकेको छ ।
बाबुरामलाई छोडेर निस्किएका नेपाल समाजवादीका महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठ चार महिना पनि सँगै रहन सकेनन् । संसदीय राजनीतिभन्दा पर रहेका मोहन वैद्यदेखि विप्लव हुँदै धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको समूह खिइएर तिलजत्रो भैसक्दा पनि गुटको विवाद उस्तै छ ।
२०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भई मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन भएको थियो । प्रचण्ड–बाबुरामले क्रान्तिलाई धोका दिएको भन्दै करिब बराबरको शक्ति लिएर अलग्गिएका वैद्यलाई रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, नेत्रविक्रम चन्द विप्लवजस्ता नेताले साथ दिएका थिए ।
तर, दुर्ई वर्ष नपुग्दै त्यो समूह छिन्न भिन्न हुन पुग्यो । वैद्यसँग संघर्ष चर्काएर विप्लवले छुट्टै पसल खोले भने बादल र देव गुरुङहरू प्रचण्डतिरै फर्किए । एकीकृत क्रान्ति गर्ने भन्दै नयाँ पार्टी गठन गरेका विप्लव केही वर्ष भूमिगत पनि भए । तर, राजनीतिक प्रतिवन्ध झेल्न नसकेर शान्तिपूर्ण राजनीतिमा फर्किने उनको निर्णयमा असहमत हुँदै धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीले छुट्टै पार्टी बनाए ।
यी दुई भाइ पनि अहिले एक ठाउँमा छैनन् । वली वैद्यतिर अड्किएका छन् भने बाँस्तोला आफ्नै नेतृत्वमा नेकपा बहुमत नामक समूह चलाइरहेका छन् । त्यहाँ पनि ‘लाल गद्दार’ को आरोप लगाएर एकले अर्कालाई कारवाहीको घोषणा गर्ने सिलसिला चलिरहेकै छ ।
केपी ओली र प्रचण्डले त पार्टीमा अवसरहरूको समान वितरण गरेनन् र असन्तुष्टि बढ्यो भन्न सकिएला । तर, संसदमै नभएका साना वामपन्थी पार्टी के कारणले पटक–पटक फुट्छन् ? विप्लव र धर्मेन्द्र बाँस्तोलाहरू किन सँगै बस्न सक्दैनन् ? विश्लेषकहरू भन्छन्– हाम्रो समाजको प्रतिविम्व दलहरूमा देखिएको हो ।
स–साना कुरामा उद्वेलित भैहाल्ने र तत्काल परिवर्तन खोज्ने नेपाली समाजको मनोविज्ञान नै हो । समाजको यो मनोविज्ञानले स्वभाविकरूपमा राजनीतिक दलका नेताहरूलाई पनि प्रभाव पार्छ नै । पार्टीहरूमा अहिले देखिएको समस्यालाई यसैगरी बुझ्नुपर्ने विश्लेषकहरू बताउँछन् ।
‘अरु देशमा असहमतिका बीचमा पनि सहमति गरेर गएको देखिन्छ । भारतमै हेर्ने हो भने बिजेपी र कांग्रेस (आइ) मा समस्या छ । तर, त्यहाँ असहमति हुँदैमा उनीहरू विभाजनको तहमा पुग्दैनन्’, वामपन्थी राजनीतिका जानकार भन्छन्, ‘हाम्राचाहिँ समाजदेखि राजनीतिक दलसम्म संस्कृति नै फुटमुखी भयो । एउटा फरक विचारलाई पेलेर तह लगाउने र अर्को भित्रै बसेर संघर्ष चलाउने भन्दा पनि चित्त नबुझ्नेबित्तिकै पार्टी छोडेर बाहिरिने जुन स्थिति देखिँदै आएको छ, राजनीतिक स्थायित्वका लागि यो ठूलो समस्या हो ।’
टिप्पणीहरू